लडाइँ नेताहरूको प्रतिष्ठाको

उपचुनाव तीन क्षेत्रको

४ मंसिरमा भएको निर्वाचनमा यस क्षेत्रमा समानुपतिकतर्फ पनि रास्वपा भारी मतान्तरले अगाडि देखिएको थियो । सो पार्टीले ३५ हजार ९ सय ४५ मत प्राप्त गर्दा एमालेले १६ हजार ७ सय ८४ मत ल्याएको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसले ११ हजार ९ सय १४ र माओवादी केन्द्रले ८ हजार ४ सय ७ मत एकीकृत समाजवादीले ६ सय १६ मत ल्याएको थियो ।

काठमाडौं । आगामी१० वैशाखमा तीन निर्वाचन क्षेत्रमा उपचुनाव हुने उपचुनावले फेरि राजनीतिक बजार तात्न थालेको छ । तनहुँ १, बारा २ र चितवन २ मा हुन लागेको यो चुनावमा यसअघि जितेका दलहरूलाई आफ्नो विरासत जोगाउन चुनौती थपिएको छ । त्यसैगरी ४ मंसिरको निर्वाचनमा पराजय भएका अन्यदलहरूले समेत त्यसबेला जितेकाहरूबाट आफ्नो पक्षमा नतिजा ल्याउन अर्को चुनौती थपिएको छ ।

तनहुँ १ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव जितेका थिए । उनी राष्ट्रपति भएपछि सो क्षेत्र खाली भएको हो । त्यसैगरी चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा संसद पद नै खारेज गरिदिएपछि सो क्षेत्रमा चुनाव हुन लागेको हो । त्यसैगरी बाराको २ मा जनता समाजवादीको तर्फबाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र पनि रिक्त हुन लागेको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २० गते ती क्षेत्रमा उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ । ती क्षेत्रमा उम्मेद्वारी दर्ताका लागि एमाले बाहेक अधिकांश दलहरूले उम्मेद्वार बारे छलफल चलाएका छन् ।

यसभन्दा अघिल्लो चुनावमा भएको भन्दा यसपटक भिन्न राजनीतिक समीकरण देखा पर्न थालेपछि बारा क्षेत्र नं २ मा हुने उपचुनावको विशेष चर्चा बटुलेको छ । अहिले उपराष्ट्रपतिले जितेको क्षेत्र भएकोले पनि बारा २ यसै चर्चामा छ । तर त्यो भन्दा पनि फरक विषय हो नेपालको राजनीतिमा तराईबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको उम्मेद्वारीका कारण भएको छ । यादव गएको मंसिर ४ को निर्वाचनमा सप्तरीको २ बाट जनमत पार्र्टीका अध्यक्ष सिके राउतबाट ठुलो मतान्तरले पराजय भोगेका नेता हुन् । अहिले यादवविरुद्ध तराई केन्द्रित केही दलले समेत मोर्चा कस्ने तयारी गरेका कारण उनलाई बारा २ को उपचुनाव निकै चुनातीपूर्ण बन्दै गएको बताइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सो उपनिर्वाचनमा बारा २ बाट वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेद्वार बनाउने भएको छ । मंसिर ४ मा भएको निर्वाचनमा सर्लाही २ बाट पराजित भएका महतोलाई लोसपाले उम्मेद्वार बनाउने तयारी गरेको हो । लोसपा एक नेताले भने, ‘हामीले महतोजीलाई उम्मेद्वार बन्नुप¥यो भनेका छौँ । उहाँ उपनिर्वाचन लड्न तयार हुनुहुन्छ ।’

बारा २ मा रोचक चुनावी प्रतिस्पर्धा हुने देखिएको ती नेताले बताए । उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन महतो त्यहाँ चुनाव लड्न लागेको बताए । जसपा अध्यक्ष यादव सत्ता गठबन्धनको साथ लिने प्रयासमा छन् । उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीको साथ पाउने सम्भावना छ ।

तर, सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पूर्वमन्त्री तथा माओवादी नेता शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । कुशवाह पनि गत निर्वाचनमा जसपाका रामसहाय यादवसँग करिब तीन सय मतले मात्रै पराजित भएका थिए ।

एमाले नेता बलवीर चौधरी र पुरुषोत्तम पौडेल सो क्षेत्रका सम्भावित उम्मेद्वार हुन् । बलवीर गत चुनावमा प्रदेशसभामा सोही क्षेत्रमा स्वतन्त्र उम्मेद्वारसँग पराजित भएका थिए ।

पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पौडेल पनि मुख्य दाबेदार मानिएका छन् । उनलाई उम्मेद्वार बनाउन स्थानीय नेताहरूले शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

पौडेलले साबिक क्षेत्र नम्बर ३ बाट जितेका थिए । पछिल्लोपटक उनी क्षेत्र नम्बर १ मा दाबेदार रहे पनि अच्युत मैनालीले टिकट पाएका कारण चुनाव लड्न पाएनन् । दक्षिण क्षेत्रमा परिचित र मधेसी समुदायले मन पराउने नेता भएका कारण पौडेललाई उम्मेद्वार बनाएर परिणाम निकाल्न सकिने स्थानीय नेताहरूको भनाइ छ ।

मंसिर ४ को निर्वाचनमा यस क्षेत्रमा धेरै मतदाताहरू व्यक्तिगत हिसाबमा केन्द्रित भएको देखिन्छ । यो चुनावमा समेत कति उम्मेद्वार हुन्छन् र तालमेल कस्तो हुन्छ भन्ने तस्बिर नआएसम्म परिणाम आँकलन गर्न कठिन हुन्छ ।

गएको निर्वाचनमा राजनीतिक दलहरूले पाएको मतको विश्लेषण गर्ने हो भने यस क्षेत्रमा जनता समाजवादी पार्टीले नै पहिलो स्थान लिएको देखिन्छ । सो पार्टीले यस क्षेत्रमा १३ हजार २ सय ४२ मत प्राप्त गरेको देखिन्छ । त्यसैगरी समानुपातिक तर्फमा कांग्रेस दोस्रो, एमाले तेस्रो र जनमत चौथो स्थानमा देखिएका छन् ।

उनीहरूले क्रमशः ११ हजार १ सय ७९, ९ हजार १ सय ९३ र ८ हजार ८ सय ४३ मत प्राप्त गरेका थिए । त्यसैगरी लोसपाले ४ हजार २ सय ३५ र नागरिक उन्मुक्ति पार्टीले ३ हजार ७ सय ९४ मत प्राप्त गरेको देखिन्छ । अहिलेको सत्ता गठबन्धनको नेतृत्व गरिरहेको माओवादी केन्द्रको ३ हजार २ सय ६५ र गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीको १ हजार ९ सय ९६ मत रहेको छ ।

त्यसैगरी वैशाख १ मा उपचुनाव हुन लागेको तनहँु २ मा पनि चुनाव रोचक बन्ने देखिएको छ । कांग्रेस एमालेबीच सधैँ प्रतिस्पर्धा हुने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवेशले थप रोचक बन्ने देखएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेले भने यस विषयमा कुनै निर्णय गरेको छैन ।

गत मंसिरमा भएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित पौडेलले २५ हजार ३ सय १८ मत ल्याएका थिए । यहाँ नेकपा एमालेका उम्मेद्वार एकबहादुर राना मगर पराजित भए । उनले १९ हजार ९ सय ४३ मत ल्याएका थिए ।

यहाँ स्वतन्त्र उम्मेद्वार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेद्वार विनोद घर्तीले २ हजार ४ सय ८३ मत ल्याएका थिए । पौडेल २०७४ को चुनावमा यही क्षेत्रबाट पराजित भएका थिए ।

गत मंसिरको चुनावमा यस क्षेत्रमा पार्टीहरूले पाएको मतमा पनि कांग्रेस एमाले नै हाराहारीमा देखिएका छन् । नेपाली कांग्रेसले २० हजार १ सय ५८ मत ल्याउँदा एमालेले १६ हजार ६ सय ८३ मत पाएको थियो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७ सय ७३ र माओवादी केन्द्रले ७ हजार ३ सय २६ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले भने ९ सय ५० मत पाएको थियो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको प्रतिष्ठासँग जोडिएको चुनाव फेरि पनि उनकै पक्षमा हुने धेरैले आँकलन गरेका छन् । यद्यपि उनले सरकारमा रहँदा निर्वाह गरेको भूमिका र अहिलेसम्म भएका कामले उनको मत बढ्ने हो कि घट्ने हो यसै भन्न सकिने अवस्था छैन ।

गएको निर्वाचनमा लामिछानेले ४९ हजार २ सय ६४ भोट प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाएका थिए ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार २ सय ८१ भोट बढी पाएका थिए । चितवन–२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो । यहाँबाट ०७० र ०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए । यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो ।

०७६ साउनमा रविकै सहकर्मी पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो । उनी त्यो बेला नै टिभी कार्यक्रममार्फत् लोकप्रिय थिए । उनको समर्थनमा चितवनमा हरेक दिनजस्तो प्रदर्शन भएको थियो । रविलाई अन्याय भयो, उनलाई फसाइँदै छ भनेर त्यो बेला नै धेरै चितवनवासी प्रदर्शनमा ओर्लिएका थिए ।

उनी हिरासतबाट छुट्दा नारायणी नदी किनारमा ठूलो संख्यामा समर्थक भेला भएका थिए । त्यही बेलादेखि रविसँग चितवनवासीको र चितवनसँग रविको साइनो प्रगाढ भएको हो । तर यसबेला त्यो आकर्षण बाँकी छ कि छैन भन्नेमा उनको परीक्षणका रूपमा हेर्न लागिएको छ ।

मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रमा समानुपतिकतर्फ पनि रास्वपा भारी मतान्तरले अगाडि देखिएको थियो । सो पार्टीले ३५ हजार ९ सय ४५ मत प्राप्त गर्दा एमालेले १६ हजार ७ सय ८४ मत ल्याएको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसले ११ हजार ९ सय १४ र माओवादी केन्द्रले ८ हजार ४ सय ७ मत एकीकृत समाजवादीले ६ सय १६ मत ल्याएको थियो ।

प्रतिक्रिया