एनआरएनएका प्रतिनिधिले भेटे उपराष्ट्रपति

काठमाडौं । गैरआवासीय नेपाली संघका प्रतिनिधि र सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवबीच भेटघाट भएको छ । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधि मण्डलले उपराष्ट्रपति यादवसमक्ष गैरआवासीय नेपाली संघले लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माण लगायत नेपाललाई समृद्ध बनाउन गर्ने सहकार्य लगायतका विषयमा छलफल गरेको थियो ।

भेटमा संघका कार्यकारी अध्यक्ष रबिना थापाले संघले लामो समयदेखि नागरिकताको निरन्तरताको लागि आवाज उठाउँदै आएपनि सो विषय टुंगो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराएकी थिईन् ।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले सम्पत्तिको सुरक्षासम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान ल्झाउन सकारात्मक पहल गरिदिन आग्रह गरेका छन् ।

अध्यक्ष आचार्यले पटक पटकको प्रयासबाट पनि नागरिकताको विषय नटुङ्गिनु दुखद् भएको भन्दै उक्त विषय सम्बोधनका लागि सबै निकायबाट पहल गर्नुपर्नेमा जोड दिए ।

संघका उपाध्यक्ष आर. के. शर्माले श्रमिकहरुको योगदानलाई मुलुकले यथेचित सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै राज्यका सर्वोच्च निकायबाट पनि त्यसका लागि सकारात्मक रुपमा पहल हुनुपर्नेमा जोड दिए।

संघका युवा संयोजक अब्दुल बासिदले गैरआवासीय नेपाली ऐन लगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्युनत्तम मापदण्ड हटाउन सहयोग गर्न उपराष्ट्रपति समक्ष आग्रह गरे ।

संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपालीहरु नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सर्वो निकायको समर्थन आवश्यक रहेको बताए ।

भेटको क्रममा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लागानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यवसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्न समेत आह्नवान गरे ।

उक्त अवसरमा आइसीसी उपाध्यक्ष दुर्गा उपाध्यक्ष, सचिव गोविन्द प्रसाद गौतम, पूर्व आइसीसी सदस्य राम बेलबासे, क्षेत्रिय संयोजक (मध्यपूर्व) मनोज कुमार श्रेष्ठ, भगिरथ योगी लगायतका विभिन्न मुलुकका प्रतिनिधहरु र संघका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया