पत्रकारको सदस्यता शुद्धीकरण गरिने

काठमाडौं । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गर्न लागेकोे राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेन्डाको रूपमा अगाडि सारिएको छ । यही चैत १७ गते लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेन्डाको रूपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।

‘महासंघमा सदस्यता शुद्धीकरणको मुद्दा सधैँ उठ्ने गरेकाले सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ’, उनले भने, ‘शाखाले नै निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ पत्रकारको समस्या र मिडियामा आर्थिक संकटका सम्बन्धमा पनि कुरा उठाइने अध्यक्ष पोखरेलले बताए ।

पछिल्लो समयमा मुलुकमा आर्थिक संकट सिर्जना भएको र त्यसकारण वा अन्य कारणबाट पत्रकारमा परेको समस्या पहिचान गरिने र समाधानका लागि पहल गरिनाका साथै मिडिमा उत्पन्न आर्थिक संकट समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे समेत खोजी गर्न लागिएको उनको भनाइ थियो ।

यसैगरी अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट पत्रकार र मिडियासँग सम्बन्धित विधेयक तयार गर्न लागिएको र कतिपय विधेयक तयार भइसकेकाले तयार भइसकेका विधेयकका पत्रकारको हित विपरीतका विषय केलाउने र तयार हुने क्रममा रहेका विधेयकलाई कसरी पत्रकार र मिडियामैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले उल्लेख गरे ।
उक्त सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समितिका पदाधिकारी तथा सल्लाहकार, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलकरूपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता रहने भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा प्रमुख आतिथि हुने उक्त सम्मेलनमा संघीय सरकारका अन्य मन्त्रीहरू तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुनुहुने महासचिव रोशन पुरीले जानकारी गराए ।

नेपाल पत्रकार महासंघको बिहीबार ६८औँ स्थापना दिवस मनाइँदै छ । महासंघले यसपटक उपत्यका बाहिर स्थापना दिवस मनाउने तयारी गरेको हो ।
स्थापना दिवसका अवसरमा बिहीबार बिहानै परासीमा प्रभातफेरी कार्यक्रम दिउँसो पूर्ण बैठक र साँझ गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने गरिने उनले जानकारी दिए । स्थापना दिवसकै अवसर पारेर लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा महासंघका जिल्लाशाखा अध्यक्ष रामराज पोख्रेलले सदस्यता शुद्धीकरणको अभियानमा जिल्ला शाखा महासंघ सँगै रहेको बताए ।

प्रतिक्रिया