मन्त्रिपरिषद् विस्तार आज, गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति

काठमाडौं । १० दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको छ । बुधबार साँझ बसेको बैठकमा यस्तो सहमति जुटेको हो । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरे । उनले भने, ‘गठबन्धनमा सहमति भइसक्यो । अब दलहरूको आन्तरिक तयारी बाँकी छ । सबै पार्टीले आआफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्रीलाई दिनुहुन्छ । भोलि बिहीबार शपथग्रहण हुन्छ ।’

मन्त्रालयको संख्याबारे शीर्ष नेताहरूसँग अझै एकपटक छलफल हुने बताए । उनले कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको बताए । उनले भने, ‘गठबन्धनमा रहेका नौ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट भइसक्यो । रास्वपालाई भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।’


बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने नौ दलबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेस आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, नेकपा एस दुई, जसपालाई दुई, जनमतलाई एक राज्यमन्त्रीसहित दुई, लोसपा एक, उन्मुक्तिलाई एक, आमजनता पार्टीलाई एक र नेसपालाई एक मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

१० दलीय गठबन्धनमा दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल अघि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्ने लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।
ती नेताले भने, ‘दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।’


प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्ने प्रयास गरिरहेका छन् । त्यसैले बुधबार सानो मन्त्रिमण्डल बनाएर थप गृहकार्य गरेर केही दिनमै सरकारलाई पूर्णता दिने सहमति बनेको थियो । तर सबै कुरा नमिल्दा बिहीबार मात्र नयाँ मन्त्रिपरिषद् बिस्तार हुने भएको हो ।


नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने अडान लिएको छ । यद्यपि बैठमा सो पार्टीले दुई मन्त्रालयमा नै सहमति जनाएको स्रोतले बतायो । बुधबार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुंगो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’, बैठकपछि खतिवडाले भने, ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौं ।’


उनले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताए । यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।


नेपाली कांग्रेस भने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उनी उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीले पहिलो चरणमा मन्त्रिपरिषद् विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदै छ । कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । बुधबार साँझको बैठकमा पनि यस बिषयमा मोटामोटी सहमति भएको बताइएको छ । यद्यपि यस विषयमा केही कुरा मिलाउन बाँकी रहेको नेताहरूले बताएका छन् । तर, जे भए पनि बिहीबार र बढीमा शुक्रबार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् । सत्तारूढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दावी गरेकी हुन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै एक÷दुई दिनभित्रै यसले पूर्णता पाउने बताइन् ।

मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकीरसमेत गरिन् । उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ । र, सरकार विस्तारको चरणमा हामी छौँ । सरकार विस्तारको गृह कार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ–आजभोलि एक÷दुई दिनमै सरकारले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो ने सबैभन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’

मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरूको चाहनाअनुसार काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् । उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसद्मा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।
तीन मन्त्रालय नपाए सरकारमा पठाउन मन्त्रीहरूको नाम नदिने अडान लिएको नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।

पार्टी शीर्ष नेताहरूको बैठकले उपाध्यक्ष भुसाल र उपमहासचिव ज्वालालई पठाउने निर्णय गरेको एक नेताले बताए । नेकपा एसले भौतिक मन्त्रालय पाउने पक्का भए पनि अर्को एक मन्त्रालयको टुंगो नलागेको ती नेताले बताए । अहिले भौतिक मन्त्रालयको जिम्मेवारी भने मन्त्री नारायणकाजी श्रेष्ठले लिएका छन् ।
स्रोतका अनुसार ज्वाला भौतिक मन्त्री बन्दैछन् । नेकपा एसबाट मन्त्री बन्न लागेका भुसाल र ज्वाला पहिलोपटक सरकारमा जाँदैछन् ।

ज्वाला यसअघि कर्णाली प्रदेशकोे अर्थमन्त्री भइसकेका छन् । ०६७ सालमा प्रधानमन्त्री बनेका झलनाथ खनाल प्रधानमन्त्री भएको बेला ज्वाला खनालको प्रमुख राजनीतिक सल्लाहकार बनेका थिए । सल्यानबाट तेस्रोपटक निर्वाचित भएका ज्वाला ०७० सालमा संसद्मा अर्थ समितिको सभापति बनेका थिए ।
उपाध्यक्ष भुसाल राष्ट्रिय सभामा नेकपा एस संसदीय दलका नेता हुन् ।
उनी दोस्रो कार्यकालका लागि राष्ट्रिय सभाका सांसद बनेका हुन् । नेकपा एस विभाजन हुँदा महासचिव बनेका वेदुराम भुसाल चैत ५ गते उपाध्यक्ष बनेका हुन् ।

मन्त्रिपरिषद्को बिस्तारसँगै सरकारको साझा नीति र कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिइने बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययनका लागि सत्ता गठबन्धन दलका नेताहरूलाई दिइएको र आवश्यक परिमार्जनसहित बिहीबारसम्म अन्तिम रूप दिइने बताए । ‘सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा अध्ययनका लागि दिइएको छ । त्यसमा केही परिमार्जन गर्नुपर्ने भए परिमार्जन गर्न सकिन्छ’, उनले भने, ‘भोलिसम्म यसलाई अन्तिम रूप दिइन्छ ।’

गठबन्धनमा रहेका नौ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट भइसक्यो । रास्वपालाई भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।’
बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने नौ दलबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेस आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, नेकपा एस दुई, जसपालाई दुई, जनमतलाई एक राज्यमन्त्रीसहित दुई, लोसपा एक, उन्मुक्तिलाई एक, आमजनता पार्टीलाई एक र नेसपालाई एक मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

प्रतिक्रिया