अनलाइनमार्फत ठगी आरोपमा ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ९ चिनियाँसहित १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट करोडौँ ठगी गरेको आरोपमा १९ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीको अभियोगमा ९ चिनियाँ र १० जना नेपाली पक्राउ परेका हुन् ।

अनलाइनबाट ठगी गर्न उनीहरुले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएको खुलेको प्रहरीले जनाएको छ । उक्त अवैध कारोबारमा मुख्य रुपमा चिनियाँ नागरिकहरु संलग्न रहेको खुलेको छ ।

उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ ।

ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा संचालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ । पक्राउ परेका सबै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया