नेपाली वास्तुकलामाथि छलफल

काठमाडौं । नेपाल प्रचलित वास्तुकलाका विविध शैली र त्यसको कलागत सौन्दर्यका बारेमा बहस भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा मंगलबार नक्सासस्थित प्रतिष्ठान परिसरमा ‘वास्तुकला अन्तरक्रियात्मक’ कार्यक्रम भएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले वास्तुकलाको कलागत सौन्दर्यलाई स्थापित गर्ने मान्यता प्रतिष्ठानले लिएको बताए । उनले नेपाली वास्तुकलाको खोज अनुसन्धान गरी त्यसको महत्वलाई उजागर गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो पहिचान केबाट छ होला, सौन्दर्य कस्तो छ ? यसको लागि कसको भूमिका हुन्छ ?’ समस्या खोज्ने र त्यसको समाधान पनि औंल्याउने कुरालाई जोड दिँदै उनले नेपाली वास्तुकलालाई पाठ्यक्रममा राख्न निकै जरुरी भएको विचार व्यक्त गरे ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीले प्रतिष्ठानले नेपाली वास्तुकलाका विविध आयामको पहिचान गरी त्यसको विकासका लागि खोज अनुसन्धानमा काम गर्नुपर्नेमा जोड दिइन् । उनले राष्ट्रिय ललितकला प्रदर्शनीमा वास्तुकलालाई कुन–कुन रुपमा कसरी समेट्न सकिन्छ भनेर सल्लाह र सुझाव माग्दै त्यहाँबाट आएका विषयलाई आगामी दिनमा परिमार्जित गर्दै अघि बढ्ने धारणा व्यक्त गरिन् । उनले उपत्यकाका केही स्थानमा वास्तुकलाका उदाहरणका रुपमा रहेका घरहरु बन्नेभन्दा पनि नासिने क्रम बढेको र त्यसको संरक्षणका लागि कतैबाट पहल नभएकोमा चिन्तासमेत व्यक्त गरिन् ।

तारागाउँ म्युजियमका निर्देशक तथा कलाकार रोशन मिश्रले वास्तुकलाभित्र पनि धेरै गहन विषय भएकाले त्यसलाई पहिचान गर्न जरुरी भएको बताए । उनले यस किसिमका अन्तक्र्रियात्मक कार्यक्रमले तल्लो तहबाट वास्तुकलासँग जोडिन सहज हुने धारणा राखे । मिश्रले भने, ‘हामी वास्तुकलासँग जोडिएका व्यक्तिसँग जोडिन सक्यौं भने पनि ठुलो कुरा हुन्छ ।’ परम्परागत, समसामयिक र व्यवसायिक कला सबैको फरक–फरक महत्व भएको धारणा राख्दै उनले अभिलेखीकरण पनि यस कार्यको लागि ठुलो पाटो भएको औंल्याए ।
वास्तुकार सविना तण्डुकारले पढाइमा वास्तुकला भन्नेबित्तिकै काठमाडौं उपत्यकामा विकसित वास्तुकलामा मात्रै केन्द्रित हुने गरेको जिकिर गरिन् । उनले भनिन्, ‘सहर राम्रो बनाउँछु भन्दा पनि बाटो चौडा बनाउँछु भन्ने सोच भयो । नगरपालिका, गाउँपालिकासँग अर्बान डिजाइन गाइडलाइन्स र आर्किटेक्ट डिजाइन गाइडलाइन्स छैन । बाइ लज मात्र छ ।’ उनले प्रतिष्ठानले प्लेटफर्म दियो भने विद्यार्थीलाई थप चिनिने अवसर बताइन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले वास्तुकलालाई आध्यात्मिक, भौतिक र सांस्कृतिक पाटोबाट व्याख्या गर्दै अन्तक्र्रियात्मक कार्यक्रमबाट आएका विषयलाई नीतिगत तहमा लैजाने बताए । उनले वास्तुकलाका गतिविधिलाई जागरुक बनाउने उद्देश्यले प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका अन्य शैक्षिक संस्थासँग समन्वय गरेर त्यहाँका विद्यार्थीबीच प्रतिस्पर्धा गराउने तयारी पनि गरिरहेको जनाए । उनले भने, ‘पुराना पार्क, चोक, द्वारहरु लगायतको सौन्दर्य हराइसक्यो । त्यहाँका स्थानीय तहसँग छलफल गरेर त्यसलाई कसरी जोगाएर लान सकिन्छ भनेर छलफल गर्न जरुरी छ ।’ सो कार्यक्रममा परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया