घट्दै बालविवाहको दर

कालिकोट । पछिल्लो समय कालिकोटमा बालविवाह घट्ने क्रममा छ । रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा दुई वर्ष यता १५ बालविवाह रोकिएका छन् । कालिकोटका नौ वटा स्थानीय तहमा विभिन्न संघसंस्थाले परम्परागत हानिकारक अभ्यास न्यूनीकरणका लागि काम गरिरहेका छन् । विशेषगरी त समाजमा जरा गाडेर रहेको बालविवाह न्यूनीकरणमै अधिकांश संघसंस्थाहरूले काम गरिरहेका छन् । रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा समाजमा रहेका हानिकारक अभ्यास न्यूनीकरणका लागि प्लान इन्टरनेसनल नेपालले काम गरिरहेको छ । मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले सहजीकरण गरिरहेको तीन वटा स्थानीय तहमा दुई वर्ष यता १५ बालविवाह न्यूनीकरण भएको नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बर बोहोराले जानकारी दिए । बोहोराका अनुसार जिल्लाभर २०२० मा बालविवाह दर ६७ प्रतिशत, २०२१ मा ६६ प्रतिशत र २०२२ मा ५० प्रतिशतले बालविवाह दर घट्दो क्रममा छ ।

बालविवाह न्यूनीकरणका लागि जिल्लास्थित सञ्चार माध्यम तथा पत्रपत्रिकामा कार्यरत पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा बालविवाहको तथ्यांक सार्वजनिक गरिएको हो । समाजमा हुने बालविवाह, छिटो तथा जवरजस्ती विवाह न्यूनीकरणमा पत्रकारहरूको भूमिकाका विषयमा बृहत् छलफल गरिएको थियो ।

विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकाहरूसँगको छलफलमा बालविवाहको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशासम्बन्धी जानकारी गरिएको छ । बालविवाहसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान र प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह तथा नागरिक समाजको भूमिकाका बारे बुझाइमा एकरुपता ल्याउने र कालिकोट जिल्लालाई बालविवाह निषेधित जिल्ला बनाउनका लागि आगामी रणनीति तय गर्दै अगाडि बढ्नुपर्ने पत्रकारहरूको धारणा रहेको छ ।

साथै पत्रकारहरूले बालबालिकाहरूमा लगानी तथा बालविवाह न्यूनीकरणका विषयमा प्रतिबद्धतासहित संघ, संस्था र स्थानीय तह, नागरिक समाज लाग्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । कार्यक्रममा सामाजिक सुपरभाइजर दीपेन्द्रबहादुर शाही, गिरेन्द्रबहादुर शाहीलगायत जिल्लास्थित सञ्चार माध्यम तथा पत्रपत्रिकामा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया