राहुलको मुद्दामा भारतीय विपक्षी एकगठ, ममताको पनि साथ

नयाँ दिल्ली । राहुल गान्धीको संसदीय सदस्यता खारेजको विषयमा काँग्रेसको विरोध जारी छ । सोमबार संसद्मा काँग्रेसको विरोधपछि दुवै सदनको बैठक एक मिनेटमै स्थगित भएको थियो ।

लोकसभाको कार्यवाही सुरु हुने बित्तिकै कांग्रेस सांसदहरू नाराबाजी गर्दै सभामुखको कुर्सी नजिक पुगेका थिए । कतिपय नेताहरूले सभामुखतर्फ कागजका टुक्रा फालेका पनि देखिएका छन् ।

सोमबार कांग्रेस नेता तथा सांसदहरूले कालो लुगा लगाएर विरोध प्रदर्शन गरिरहेका छन् । काँग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो कपडामा देखिएकी थिइन् ।

देशका विभिन्न स्थानमा कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । काँग्रेसले संसदबाट दिल्लीको विजय चोकसम्म र्या्ली गर्दैछ ।

अहिलेसम्म ममता बनर्जीको टीएमसी विपक्षी एकताको मामिलामा काँग्रेसबाट टाढै देखिएको छ । तर राहुल गान्धीको अयोग्यताको मामिलामा काँग्रेसले टीएमसीको समर्थन पाइरहेको छ ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले भने, ‘प्रजातन्त्रको रक्षाका लागि अगाडि आउने जो कोहीलाई पनि स्वागत छ ।’

राहुल गान्धीको मुद्दामा डिएमके, सपा, जेडियू, बिआरएस, सिपिआई (एम), आरजेडी, एनसीपी, सीपीआई, आइयूएमएल, एमडीएमके, केरल कांग्रेस, शिवसेना र टिएमसीजस्ता दलका नेता समावेश भए ।

काँग्रेसको आधिकारिक ट्विटर ह्यान्डलले ट्विट गरेको छ, ‘हामी तानाशाही सरकार विरुद्ध आवाज उठाउन जारी राख्नेछौँ । अदानी महाघोटालामाथि प्रश्न सोधिरहनेछौँ ।’

खडगेले भने, ‘यस्तो घटना पहिले कहिल्यै भएको थिएन । राहुल गान्धीले अडानीको मुद्दामा बोल्न नसकुन् भन्दै स्पिकरलाई भनेर केही मिनेटमै राहुल गान्धीको सदस्यता खारेज गरिएको थियो ।’

केन्द्रीय मन्त्री अनुराग ठाकुरले राहुल गान्धीले सावरकरमाथि गरेको आक्रमणमा आफ्नो प्रतिक्रिया दिएका छन् ।

अनुराग ठाकुरले भने, ‘राहुल गान्धी कहिल्यै सावरकर हुन सक्दैनन् । सावरकर विदेश घुम्न जाँदैनथे । उनी देशप्रति समर्पित थिए । राहुल गान्धीले कम्तीमा इन्दिरा गान्धी र नेहरुको सम्मान बचाउन सक्थे । इन्दिरा गान्धीले सावरकरको योगदान उल्लेख गर्दै एउटा पत्र लेखेकी थिइन् ।’

प्रतिक्रिया