कोशी प्रदेश आन्दोलनमा मृत्यु भएका लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिइने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिए ।

बैठकले कलबल्गुडी झापाको निर्देशकमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ ।

साथै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ ।

बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय, प्रदेशसभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया