कराँते महासंघको अध्यक्षमा युवराज लामा

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव युवराज लामा नेपाल कराँते महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल कराँते सहासंघको महाधिवेशनले अध्यक्षमा लामालाई आइतबार निर्विरोध निर्वाचित गरेको हो । महाधिवेशनले कुशल खेल प्रशासकको परिचय स्थापित गरेका लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

राखेपले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारणसभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराँते महासंघ, तदर्थ समिति गठन गरेको थियो । लामाअघिको तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते तीन महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरेको थियो । तर, जिम्मेवारी दिएको चार वर्षसम्म पनि उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेन । त्यसपछि राखेपले कराँतेका पूर्वखेलाडी लामाको अध्यक्षमा तदर्थ समिति गठन गरेको थियो ।

लामाले अध्यक्षको पत्र ग्रहण गर्दै राखेपले दिएको समय सीमाभित्रै विधान संशोधन गरी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी, उपाध्यक्षहरूमा प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् । दावा गुरुङ महासचिव, ध्वजमान मोक्तान र बलराम मित्र सचिव र किशोरप्रसाद भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल र शशिकुमार तितुङ सदस्यमा चयन भए । महासंघको आइतबारै बसेको बैठकले दुई सदस्य र पाँच सल्लाहकार मनोनयन गरेको छ । कमला राना र सन्जयकुमार राई सदस्यमा मनोनीत भए । दिपेश शाक्य, विष्णु कार्की, निवासगोपाल वैद्य, हरि विष्ट र गणेश कार्कीलाई सल्लाहकारमा चयन गरेको राखेपअन्तर्गत कानुन शाखाका प्रमुख एवं निर्वाचन अधिकृत नारायणराज अर्यालले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । साधारणसभामा केन्द्रीय कार्यसमिति, सात प्रदेश तथा सितोरियो, वादोरियो, सोतोकान र गोजुरियाका गरी ६७ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन प्रमुख अर्यालले जानकारी दिए ।

प्रतिक्रिया