दैलेख बजार अस्तव्यस्त, नगर सरकार रमिते

दैलेख । दैलेखको सदरमुकाम नारायण नगरपालिकाको मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त छ । पुरानो बजारदेखि गणेश चौकसम्मको मुख्य सडक क्षेत्रको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापरवाही देखिएको छ । त्यसप्रति नगरपालिकाले आँखा चिम्लिँदा जनजीवन झन् अस्तव्यस्त बनेको छ ।
एक महिनाअघि कामको मूल्यांकनका आधारमा भुक्तानी दिने गरी १ करोड १२ लाख लागतमा स्तरोन्नतिको जिम्मा पाएको व्यवसायी सुरेन्द्र शाहीको एसआरपी ग्रुप कन्स्ट्रक्सनले मुख्य बजार क्षेत्र पुरानो बजार, देवकोटा चोक हुँदै गणेश चोक जाने सडक भत्काएर अलपत्र पारेको छ । अधिकांश सरकारी कार्यालय यसै सडकसँग जोडिएकाले मानिसको बढी भिडभाड हुने गर्छ ।

सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने आवतजावतमा समस्या देखा परेको छ । यति मात्रै होइन, नाला भत्काइँदा दुर्गन्ध, धुलोधुवाँले विभिन्न सरुवा रोगको जोखिमसमेत बढेको छ ।

भौगोलिक अवस्थाका कारण साँघुरो रहेको उक्त सडकको दुवैतर्फ नाला निर्माणका लागि खनिएका खाल्डा छन्, त्यसले सवारी दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ । सडक भत्काउन तदारुकता देखाएको कम्पनीले निर्माणमा भने चासो दिएको छैन ।

सडक निर्माणमा नगरपालिकाले पनि चासो दिएको छैन । वैकल्पिक मार्गसमेत नभएकाले तीव्र गतिमा काम अगाडि बढाउन नगरपालिकाले सक्रियाता देखाउनुपर्नेमा नगरपालिका चुकेको स्थानीयको आरोप छ ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश रहेको भन्दै सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गर्न खोजेको नगरप्रमुख लोमन शर्मा बताउँछन् । ‘सडक भत्काएको एक महिना बढी भइसकेको छ, जसले जनजीवन अस्तव्यत बनेको छ । हामीले यथाशीघ्र काम अगाडि बढाउन ताकेता गरिरहेका छौँ । असार मसान्तभन्दा पनि यहाँको अवस्था हेरेर काम अगाडि बढाउनुस् नत्र सम्झौता तोड्छौँ भनेपछि उहाँहरूले पुनः काम अगाडि बढाउनुभएको छ । सडक निर्माणमा हामी गम्भीर छौँ’, नगरप्रमुख शर्माले भने ।

दुई खण्डमा स्तरोन्नतिको काम भइरहेको उक्त सडकमा पूर्वाधार कार्यालयको बजेटसमेत छ । हाल सडकको अवस्था हेरेर बिस्तार गर्न मिल्ने ठाउँमा सडक बिस्तार गरेर चार सय मिटरमा पिसिसी गरिने बताइएको छ । मुख्य बजार क्षेत्रको सडक ४ देखि ८ मिटरसम्म चौडा छ । सडक साँघुरो भएकै कारण निर्माण कार्यलाई तीव्रता दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया