रित्तिँदै गाउँ भरिँदै सहर

दैलेख । एक दशक अगाडिसम्म दैलेखमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुंगा र काठले बनेका घर बढी थिए ।
स्थानीय तह बनेसँगै गाउँगाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । दैलख सदरमुकाम, चुप्रा बजार तल्लो डुंगेश्वरलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय यस्ता बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराई तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ ।

जिल्लाका नौमुले, वेस्तडा, डुंगेश्वर, दैलेख सदरमुकाम, दुल्लु, रामककर्णाली गुराँसेलगायत ठाउँ बजारमा परिणत हुँदै गएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन । गाउँ रित्तिदै छ भने बजार भरिँदै गएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले बताए । अध्यक्षले भने, ‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ ।’, भगवतीमाई गाउँपालिकाका अधिकाँश वडाबाट सुर्खेत बसाइँ सर्नेको संख्या अधिक छ, कोही स्थानीय वेस्तडा बजारमा झरेका छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा थापाको भनाइ छ ।

‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्’, अध्यक्ष थापाले भने । दैलेखका सबैभन्दा बढी बसाइँसराइको गन्तब्य लुम्बिनी प्रदेशको बाँके, बर्दिया र सुर्खेतको वीरेन्द्रनगर भएको गाउँपालिकाका प्रवक्ता गणेश शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘गाउँमा विकास भइरहेकै छ, तैपनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको संख्या घट्दै गएको भगवतीमाई–४ पोखराका नरेन्द्र वलीले बताए । बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् ।

भगवतीमाई गाउँपालिका दैलेखबाट मात्रै १ हजार १ सय ७४ जनाले बसाइँसराइ गरेका छन् भने जिल्लाबाट बसाइँसराइ गर्नेको संख्या कति होला सोझै अनुमान गर्न सकिन्छ । भगवतीमाई पञ्जीकरण शाखा बेस्तडाको रेकर्ड अनुसार आर्थिक वर्ष ०७६÷७७ मा भगवतीमाई गाउँपालिकाबाट बाहिर जानेको संख्या १ सय ३९ जना रहेको छ, पालिकाभित्र आउने दुई जना छन् । आर्थिक वर्ष ०७७÷७८ मा ३ सय ४१ जना बाहिरिएका छन्, सात जना आएका छन्, बाहिरिनेको संख्यामा आर्थिक वर्ष ०७८÷७९ मा पनि कमि आएको छैन । यस वर्ष २ सय ३५ जना पालिबाबाट बाहिर बसाइँ सरेका छन् भने ३७ जना भित्रिएको तथ्यांक रहेको छ । आर्थिक वर्षको ०७९÷८० को माघ महिनासम्म गाउँपालिकाबाट ४ सय २ जना बसाइँसराइ लिएको पञ्जीकरण शाखा वेस्तडाले जनाएको छ । यस वर्ष भगवतीमाई गाउँपालिकाभित्र बसाइँ सरेर पाँच जना आएका छन् ।

प्रतिक्रिया