केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण यही चैत १० गते शुक्रबार सार्वजनिक गरेको छ । विभागले ६ महिना लगाएर २०७८ बैसाख देखि मंसीरसम्म जनगणना गरेको थियो । जनगणना सम्पन्न भएको करिव १५ महिना पछि पूर्ण विवरण सार्वजनिक गरिएको हो । जनगणनाको प्रतिवेदन भनेको मुलुकको वास्तविकता बुझ्ने ऐना हो । नेपालमा हरेक दश–दश वर्षमा जनगणना गर्ने चलन रहिआएको छ । अहिले गरिएको जनगणना १२ औं हो । जनगणनाका कतिपय तथ्यांक हेर्दा आशा लाग्दा लक्षणहरु देखिएका छन् ।
खासगरी जनचेतनामा व्यापक वृद्धि भएको तथा विकासका पूर्वाधारहरु निर्माण भइरहेको तथ्यांकले देखाएको छ । उदाहरणका लागि समग्र साक्षरताको वृद्धि १० प्रतिशत रहँदै गर्दा महिला साक्षरतामा १२ प्रतिशत वृद्धि भएको देखिएको छ । कक्षा १२ सम्मको शिक्षामा छात्र र छात्राको संख्या करिव करिव बराबर रहेको देखिएको छ । औषत आयु निकै सन्तोषजनक रुपमा बढेको छ । बिबाह गर्ने औषत उमेर बढेको छ । जन्मदर घटेको छ । अपवाद बाहेक दुई भन्दा बढी सन्तान जन्माउन छाडेको देखिएको छ । बहुविवाह करिव करिव नियन्त्रणमा आएको देखिएको छ । करिव ९४ प्रशित जनता विजुलीको पहुँचमा छन् । करिव ८० प्रतिशत जनता सडक यातायातको पहुँचमा छन् । करिव ९० प्रतिशत छात्र छात्रा कक्षा १२ सम्मको शिक्षा लिनसक्ने हैसियतमा पुगेका छन् । करिव ३७ प्रतिशत घरहरु ढलान गरिएका छन् ।
करिव ८० प्रतिशत जनसंख्या साक्षर हुनु , करिव २० प्रतिशत जनसंख्याले उच्च शिक्षा हासिल गर्नु , योग्य नागरिक बनाउन सक्ने गरी ठिक्क मात्रै सन्तान जन्माउन थालिनु , छात्र र छात्राको संख्या बराबर जस्तै हुनु , काम गर्नसक्ने उमेर समुहको जनसंख्या अत्याधिक हुनु भनेको आर्थिक क्रान्तिको यात्राका लागि देशको जनसंख्या तम्तयार भएको प्रमाण हो । तर यात्रु मात्रै तम्तयार भएर गन्तव्यमा पुग्न सकिन्न । आर्थिक संवृद्धिको गन्तव्यमा पुग्ने साधन भनेको भौतिक पूर्वाधार हो । भौतिक पूर्वाधारवृद्धि पनि यो दश वर्षको अवधीमा सन्तोषजनक रुपमै रहेको देखिन्छ । स्वास्थ्य , शिक्षा , विजुली , सडक र खानेपानीको पहुँच ८० प्रतिशत भन्दा बढी नागरिकमा पुग्नुलाई सन्तोष जनक रुपमा लिनु पर्ने हुन्छ । यात्रु पनि तम्तयार देखिए , साधन पनि तम्तयार भयो , तर साधन संचालन गर्ने सिपालु चालकको अभाव भने खड्किएको देखिएको छ । किनकी मुलुकको ठूलो श्रमशक्ति रोजगारी नपाएर विदेश पलायन भएको देखिएको छ । यो भनेको मुलुकको शासन सत्ता संचालन गर्नेहरुको ठूलो कमजोरी हो ।
यस्तो अवस्थामा पनि नेपालले आर्थिक संवृद्धिको उडान भर्न सकेन भने देशको भविष्य अन्धाकार हुनबाट कसैले रोक्न सक्दैन । किनकी कुशल नेतृत्व बाहेक यतिबेला नेपालसँग सबैथोक छ भन्ने कुरा जनगणनाको तथ्यांकले पुष्टि गरिसकेको छ । यो अनुकुलता अब केही दशक मात्रै बाँकी रहन्छ । पहिलो कुरा त स्वदेशमा रोजगारी नपाए पछि जनशक्ति विदेसिन्छ । एक जना व्याक्तिलाई १२ कक्षासम्मको शिक्षा दिन राज्यकोषबाट १४ लाख रुपैंया लगानी हुने गरेको तथ्यांक छ । त्यो जनशक्ति कमाई गर्नसक्ने उमेरसम्म विदेशीने र वृद्ध उमेरमा स्वदेश फर्कने सिलसिलालाई रोक्न सकिएन भने मुलुक बरबादै हुन्छ । किनकी अबको ३० वर्ष पछि मुलुकको कुल जनसंख्यामा वृद्ध नागरिकको हिस्सा ५० प्रतिशत नाघ्ने देखिएको छ । तर कमाई गर्न सक्ने युवाको संख्या २० प्रशितमा झर्ने देखिएको छ । २० प्रतिशतले गर्ने कमाईले ६० प्रतिशतलाई वृद्धभत्ता दिएर पाल्न पुग्दैन ।
मुलुकको नीति निर्माण तथा कार्यान्वयन तहमा बस्नेहरुले इमान्दारिता पूर्वक इच्छा शक्ति देखाउन निकै ढिलो भइसकेको छ । अब राजनीतिक मुद्धाको विवादमा अल्झेर समय खेर फाल्नु हुँदै हुँदैन । आर्थिक क्रान्तिका लागि सबै दल तथा शक्ति एकजुट हुनु पर्छ । आर्थिक क्रान्तिको पहिलो आधार भनेकै उत्पादन मुलक रोजगारी हो । उत्पादन मुलक रोजगारीका लागि राज्यले हदैसम्मको सहुलियत दिनुपर्छ । जनताको आम्दानी उत्पादन मुलक क्षेत्रमा मात्रै खर्च गर्ने वातावरण तयार गर्नुपर्छ । जनताको आम्दानी विदेशबाट आयतित वस्तु उपभोग गदै र राज्यलाई कर तिर्दैमा सकिने र त्यो कर अनावश्यक कर्मचारी तथा नेता पाल्न मात्रै खर्च भइरहने दुश्चक्रलाई यथासक्य छिटो तोड्नुपर्छ ।
पहिलो कुरा जनताले स्वदेशी उत्पादन उपभोग गर्न पाउनु प¥यो , दोस्रो कुरा जनताले आफ्नो आम्दानीको कम्तिमा पनि आधा हिस्सा पूँजी निर्माणका लागि वचत गर्न सक्नु प¥यो, तेस्रो कुरा मुलुकको कुल राजश्वको आधा रकमले साधारण खर्च पु¥याउनु प¥यो । यति गर्न सकियो भने आर्थिक संवृद्धिको गन्तव्य टाढा छैन ।
प्रतिक्रिया