रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्ड बन्नु हुदैन

नन्दलाल खरेल

विदेशमा पसिना बगाएर देश चलाउन रेमिट्यान्स पठाउने श्रमिक बैदेशिक रोजगारीमा जाँदामात्रै ठगिँदैनन्, रोजगारीका क्रममा ज्यान गुमाएकाको शवमाथि पनि दलालहरुले गिद्धेदृष्टि राख्छन्, मृतकको परिवारले पाउने सहायता रकममा दलालले कमिसन खाने र बिमा बापतको रकममा बिमा कम्पनीले ठगी गर्छन । श्रमिकको शवमा पनि ठगी गर्नेहरु माथि सरकारले कडा कारवाही गर्नु पर्छ ।

समृद्ध नेपाल सुखी नेपालीको नारा बेजोड रुपमा अघि सारिए पनि नेपाली अर्थतन्त्रको तस्विर खुसीहुन सकिने खालको छैन । अर्थतन्त्रमा घट्दो कृषि र बढ्दो रेमिट्यान्सको स्थिति छ । रोजागारीको खोजिका लागि युवाहरु विदेश पलायन हुँदा खेतीयोग्य जमिन बाँझै छन् । किसान विस्थापित छन् । स्थानीय बीउबिजन मासिएका छन् । विदेशी खाद्यान्न र कृषिबजारले स्थानीय किसानलाई विस्थापित गरेको छ ।

मनव जीवनको आधारभूत आवश्यकता पूरा गर्ने आम्दानी पनि स्वदेशमै बसेर गर्न नसकेपछि नै अधिकांश युवाले वैदेशिक रोजगारी रोजेका हुन् । नेपालमा रेमिट्यान्स आप्रवाहको औपचारिक प्रणाली सुरुवात भएको धेरै लामो समय भएको छैन । तर भारत तथा अन्य केही मुलुकहरुबाट परापूर्वक कालदेखि नै घर तथा परिवारका नाममा केही न केही रकम मुलुक भित्रआउने गरेको पाइन्छ । राणाकालको सुरुवातदेखि बसाइँ सराईको माध्यमबाट रेमिट्यान्सको आप्रवाह भएको पाइन्छ । वैदेशिक रोजगार नेपालको सामाजिक तथा आर्थिक परिदृश्यको एउटा महत्वपूर्ण विशेषताको रुपमा रहिआएको छ ।

वैदेशिक रोजगारको आकार यस प्रतिको आकर्षक र विकर्षक पक्षले निर्धारण गर्ने गर्दछ । यसका प्रमुख विकर्षणपक्षहरु मध्ये उमेरगत हिसाबले सक्रिय जनसंख्याको स्वदेशमा कमी, देखासिकीको कारणले वैदेशिक रोजगारका लागि उत्पे्ररित गर्ने सामाजिक दवाव आदि पर्दछन् । त्यसैगरी वैदेशिक रोजगारमा आकर्षणका लागि उत्प्रेरित गर्ने प्रमुखपक्षहरुमा समान कामको लागि नेपालमा भन्दा विदेशमा बढी तलव तथा सुविधा पाइनु, विदेशमा कार्यरत आफन्त तथा साथीभाई सँगको संजाल र सम्पर्क, श्रमिकको सामाजिक तथा वृत्ति विकासमा वृद्धिआदि पर्दछन् ।

विश्वमा उदारीकरणको लहरसँगै नेपालमा पनि सन् १९८० को दशकपछिका विभिन्न समयमा अवलम्बन गरिएको उदारीकरण तथा सहज आप्रवास नीति, यातायात तथा प्रविधिमा भएको विकास लगायतका कारणले श्रम तथा पूँजीको आदान–प्रदान उल्लेख्य रुपमा वृद्धि भएको छ । तथा श्रम बजारको विश्वव्यापीकरणको फलस्वरुप वैदेशिक रोजागरमिा जाने कामदारहरुले पठाउने रेमिट्यान्स रकम उल्लेख्य बढेको देखिन्छ ।

वैदेशिक रोजगारीबाट प्राप्तहुने रेमिट्यान्स महत्वपूर्ण अर्थतन्त्रको अस्थाई टेकोको रुपमा रहीआएको छ । नेपाली श्रमिकहरु नेपाल सरकारले वैदेशिक रोजगारका लागि प्रतिवन्ध लगाएका बाहेक अन्य जुनसुकै राष्ट्रहरुमा रोजागरीका लागि जान सक्छन् । यद्यपि सरकारले संस्थागत रुपमा विभिन्न १ सय १० मुलुकहरुमा वैदेशिक रोजागर खुला गरेको छ । कोभिढका कारण आर्थिक वर्ष २०७७÷७८ मा जम्मा १ लाख ६७ हजार कामदार रोजगारीका लागि बिदेसिएका थिए । कोभिढको जोखिम घटेपछि आर्थिक वर्ष २०७८÷७९ मा यो संख्या ६ लाख ३० हजार पुगेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को चार महिनामा २ लाख ६४ हजार कामदार कामका लागि बिदेसिइसकेका छन् । यहीक्रम जारी रहे यो वर्षकामका लागि बिदेसिने कामदारको संख्या ८ लाख नाघ्ने अनुमानछ । आर्थिक वर्ष २०७८÷७९ को फागुन सम्ममा कामका लागि बिदेसिने नेपाली कामदारको कुल संख्या ५६ लाख ६५ हजार पुगेको वैदेशिक रोजगार विभागलाई उद्धृत गर्दै आर्थिक सर्वेक्षण २०७८÷७९ मा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीबाट नेपालले उल्लेख्य रेमिट्यान्स प्राप्त गरिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्रै रु. १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स प्राप्त गरेको थियो, जुन कुल ग्रार्हस्थ उत्पादनको २४.५ प्रतिशत हो । संसारभर १८ डिसेम्बर अर्थात पुस ३ लाई आप्रवास दिवसका रुपमा मनाइने गरिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिलसम्म अर्थात चालु आर्थिक वर्ष २०७९/८० को पुस सम्म ८४.६६ खर्व रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डेढ दशकमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिलिएर २ लाख ८३ हजार २ सय ४२ महिला सहित ५० लाख ८ सय ३३ जना नेपाली विदेश गएका छन् ।

रोजगारीको सिलसिलामा विदेश गएका युवाहरु मध्ये करिब ११ हजारको उतै मृत्यु भएको छ । अर्थतन्त्रमा अर्थात जीडीपीमा महत्वपूर्ण हिस्सा हुँदाहुँदै पनि वैदेशिक रोजगारीलाई सरकारले व्यवस्थित बनाउन कहिल्यै सकेन । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांक अनुसार सचिवालयको स्थापनादेखि गत आवसम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९ सय ३२ जनाको मृत्यु भएको छ । यस्तै गरेर २ हजार १ सय २५ जना गम्भिर बिरामी तथा अंगभंगभएर फर्किएका छन् । नेपाली समाजले महँगो सामाजिक मूल्य पनि चुकाउनु परेको तथ्य यसले उजागर गरेको छ । वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै जाँदा स्वदेशमा श्रम शक्तिको अभाव भएको छ । सामाजिक रुपमा पारिवारिक बिखण्डन लगायतका नकारात्मक प्रभाव पनि बढेको छ ।

पछिल्लो दशकमा खाडीमुलुक र मलेसिया नेपाली कामदारका लागि प्रमुख गन्तब्य देखिएका हुन् । रोजगारीका लागि विदेश जानेमध्ये यी देशमा ९० प्रतिशत पुग्छन् । आर्थिक वर्ष २०७६/०७७मा ९१.६ प्रतिशत श्रमिकहरु यी मुलुकमा गएका थिए भने आव २०७७/०७८ र २०७८/७९ मा यो संख्या क्रमशः ८५.९ प्रतिशत र ९०.७ प्रतिशत रहेको थियो । पछिल्ला वर्षहरुमा मध्य र पूर्वी युरोपेली क्षेत्रका देशहरु रोमानिया, क्रोएसिया, अल्वेनिया र पश्चिम एसियामा साइप्रस र टर्की लगायतमा पनि जाने देखिएका छन् । यी देशहरुमा महिला कामदारको संख्या पनि वृद्धिहुँदै गएको छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ४ लाख ७० हजार ९ सय ७८ नेपाली श्रमिक वैदेशिक रोजगारीबाट फर्किएका छन् । यसअघि वैदेशिक रोजगारीबाट फर्केका युवाको तथ्यांक राख्ने गरिएको थिएन । यसरी फर्किनेमध्ये ९० प्रतिशत प्रमुख श्रम गन्तब्य कतार, यूएई, साउदी अरेविया, मलेसिया र कुवेतबाट आएको देखिन्छ ।

रेमिट्यान्सले अर्थतन्त्रमा उल्लेख्य योगदान गरे पनि ‘रेमिट्यान्स’प्राप्तिको दिगोपन, गरिबी न्यूनिकरणको स्थायित्व र वैदेशिक रोजगारबाट नेपाली सामाजिक जीवनमा परेको दुष्प्रभाव सम्बन्धमा विभिन्न चिन्ता व्यक्त गर्ने गरिन्छ । अघिल्लो आर्थिक वर्षमा आयातको तुलनामा निर्यातको फराकिलो अन्तर हुँदा विदेशी मुद्रा सञ्चितिमा तीव्र क्षयीकरण आएको थियो । तर गत आर्थिक वर्षको फागुन यता क्रमिक रुपमा रेमिट्यान्स आप्रवाहमा भइरहेको वृद्धिले देशको अर्थतन्त्रलाई टाट पल्टनबाट जोगाएको छ । नेपाल राष्ट्र बैंको बार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्षमा ८ अर्ब ३३ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । वर्तमान विनिमय दर अनुसार यो १० खर्ब रुपैंया भन्दा बढी हुन आउँछ । यो अहिले सम्मकै उच्च हो । तर विडम्बना यो रेमिट्यान्स उत्पादन क्षेत्रमा नलगाई उपभोगमै सिद्धिने गर्दछ । रेमिट्यान्स सम्बन्धी अध्ययन अनुसार नेपालमा प्राप्त विपे्रषणको ७८.९ प्रतिशत उपभोगमा, ७.१ प्रतिशत ऋण तिर्नमा, ४.५ प्रतिशत शिक्षामा, ४.५ प्रतिशत घरजग्गा लगायत सम्पत्ति खरिदमा, २.५ प्रतिशत पुँजी निर्माणमा, २.६ प्रतिशत स्वास्थ्य लगायतका क्षेत्रमा खर्च भएको देखिएको छ । यस तथ्याङ्कको अवस्थाले के देखाउँछ भने विपे्रषणको उपयोग मूलत हातमुख जोड्न मात्र देखिन्छ । रेमिट्यान्सको उत्पादनशील उपयोग गरी यसलाई दिगो आम्दानीको स्रोत बनाएमा मात्र व्यक्ति तथा राष्ट्रको आर्थिक विकासमा योगदान पुग्न सक्छ भन्ने कुरा सम्बन्धित सबैमा प्रवाह गर्नु जरुरी छ ।

चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अनुसार यस अवधिमा आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई ५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विपे्रषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकीडलरमा विपे्रषण आप्रवाह १३.९ प्रतिशतले वृद्धिभई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । त्यस्तै, यस अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम (नयाँ) श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ६४.३ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यस्तैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा ९.५ प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार ५४८ पुगेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाँदा सरकारी दस्तुर बाहेक कसैलाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने व्यवस्था गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा युएई लगायत खाडी मुलुक र त्यसबाट युरोपका देशहरु सहित अमेरिका, क्यानाडा लगायतमा आकर्षक तलव सहितको वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी भएका घटना सार्वजनिक भइरहेका छन् । त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाँदा सरकारी दस्तुर बाहेक कसैलाई कुनै पनि प्रकारको शुल्क बुझाउनु नपर्ने र कसैले भ्रम र दवावमा पारेर गैह्र कानूनी रुपमा रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउँन आग्रह गरेको छ । सो आग्रहलाई वेवास्ता अर्थात वर्खिलाप तथा ठगी गर्नेहरुलाई मन्त्रालयले कडा कारवाही गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्ति समेत यसप्रति सचेत भएमा कसैले ठगी गर्न सक्दैन ।

विदेशमा पसिना बगाएर देश चलाउन रेमिट्यान्स पठाउने श्रमिक बैदेशिक रोजगारीमा जाँदामात्रै ठगिँदैनन्, रोजगारीका क्रममा ज्यान गुमाएकाको शवमाथि पनि दलालहरुले गिद्धेदृष्टि राख्छन्, मृतकको परिवारले पाउने सहायता रकममा दलालले कमिसन खाने र बिमा बापतको रकममा बिमा कम्पनीले ठगी गर्छन । श्रमिकको शवमा पनि ठगी गर्नेहरु माथि सरकारले कडा कारवाही गर्नु पर्छ । नेपाल बिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेल भन्छन्, ‘खासगरी पश्चिमी जिल्लामा बिमा कम्पनीहरुले मृतकका परिवारलाई पुरै रकम दिन आनाकानी गरेको गुनासा धेरै आउने गरेका छन् । हामीले भुक्तानी गर्न निर्देशन पनि दिएका थियौं । अझै यस्ता घटना भएका छन् भने पीडितले निर्देशन दिए कारवाही गर्छौ ।’

युवा उमेर मानव जीवनको सबैभन्दा उर्वरशील, गतिशील जवानीले भरिपूर्ण अवस्था हो । नेपाल जनसंख्याको झण्डै ४० प्रतिशत युवाले ओगटेको छ । हाम्रो देशका युवा अर्थतन्त्रका प्राणवायु हुन् । त्यतिमात्र होइन युवा देशका मणि हुन् । यो मणिलाई विदेसिनु नपर्ने वातावरणसिर्जना गर्नुपर्छ । श्रम बेचेर आएको रेमिट्यान्सले जीवन निर्वाह गर्ने प्रवृत्तिले मुलुकको आमूल परिवर्तन हुँदैन ।
मुलुकको समृद्धिको सुत्र रेमिट्यान्स होइन । रेमिट्यान्सले परनिर्भरता बढाउँछ । जुनदेशले युवाको उपयोग गर्न सक्दैन । तबसम्म मुलुक समृद्ध हुन सक्दैन । वैदेशिक रोजगारी स्वदेशमा राष्ट्रिय विकास नहुँदासम्मको अल्पकालीन विकल्प मात्र हो । देशको भविष्य कस्तो हुन्छ भन्ने कुरा देशकायुवाको सोच र क्रियाकलापबाट हुन्छ ।

युवामुक्तिका लागि गाउँदेखि सहरसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म, सडकदेखि सदनसम्म, नेपाली श्रमबजार देखि विश्वश्रम बजारसम्म लडिरहेका छन् । देश चलाउने मुख्य मेरुदण्ड युवाशक्तिलाई देशमै रोजगारी सिर्जना गर्नुको सट्टा रेमिट्यान्सबाट देश चलाउन घृणित नीतिले देश संसारकै सबैभन्दा कंगाल राष्ट्रको रुपमा दर्ज हुन सक्छ । तसर्थ मुलुकलाई स्वाधीन र सम्पन्न बनाउने हो भने युवा निर्यात होइन नेपालीवस्तु तथा सेवानिर्यात गरी विश्वबजारमा पु¥याउन अपरिहार्य देखिन्छ ।

(खरेल अर्थ राजनीतिक विश्लेषक हुन् )

प्रतिक्रिया