बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या

गलकोट । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले सिकारको दोस्रो मौसम चलिरहेको छ । फागुनदेखि वैशाखसम्म चल्ने उक्त मौसमका लागि १२ नाउर र आठ झारलको सिकार खेल्नका लागि विदेशी सिकारीले अनुमति पाइसकेका छन् । विदेशी सिकारीलाई बेमौसमी हिमपातले त्यहाँ पुग्न र सिकारमा रमाउन समस्या बनाएको छ ।

हेलिकप्टरमार्फत सिकार ब्लक क्षेत्रमा पुग्ने विदेशी सिकारीलाई बेमौसमी हिमपातका कारण समस्या भएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ । दोस्रो सिकार याम सुरु भइसके पनि अहिलेसम्म नाउर र झारलको सिकारका लागि हिमपातले सिकार व्यवस्थापनमा आरक्षलाई कठिनाइ भइरहेको आरक्षका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।

‘विदेशी सिकारीको निश्चित समय विभागबाटै दिइएको हुन्छ, उक्त समय सीमाभित्रै सिकार गरेर फर्किसक्नुपर्ने हुन्छ, सुनदह ब्लक र बार्से ब्लकमा तोकिएको सिकार बेमौसमी हिमपातका कारण एक हप्ता प्रभावित बनिसकेको छ, अहिले दुवै ब्लकमा सिकारी ढिलोगरी पुग्नुभएको हो,’ सूचना अधिकारी थापाले भने, ‘चैत ३ गते दुई सिकारी कम्पनीले हेलिकप्टरमार्फत सिकारी ल्याउने कार्यतालिका थियो, तर हिमपात र मौसम खराबीका कारण बार्से ब्लकका सिकारी मंगलबार र सुनदह ब्लकका सिकारी बुधबार मात्रै आएका छन् ।’

थापाका अनुसार यसपटक ढोरपाटन क्षेत्रमा ढिलोगरी हिमपात हुँदा समस्या भएको हो । आरक्षले तोकिएको स्थानमा दुवै हेलिकप्टर पुग्न नसक्दा केही तलबाट सिकारी पैदल मार्गमार्फत सिकार खेल्न ब्लकतर्फ लागेकोे जनाएको छ । मौसममा सुधार भए सबै नाउर र झारलको सिकार गर्न सम्भव भने रहेको आरक्षले जनाएको छ । आरक्षका अनुसार अधिकांश विदेशी सिकारीले भने चैतको दोस्रो सातापछि मात्रै सिकार अनुमति लिएका कारण समस्या हुने छैन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ढोरपाटन सिकार आरक्ष केन्द्रमा दोस्रो यामको सिकार पर्यटकका लागि बाह्र नाउर र आठ झारलको सिकार अनुमति दिएको थियो । आरक्षका अनुसार सिकार खेल्न विदेशी सिकारी बन्दोबस्तीका सामग्रीसहित हेलिकप्टरमार्फत ढोरपाटन आउने गरेका छन् भने आरक्षका कर्मचारी सिकारीभन्दा अगाडि नै सिकार खेल्ने स्थानमा आवश्यक सामग्रीसहित पुग्ने गरेका छन् ।

सुनदह ब्लकमा ओपन नेपाल वाइल्ड लाइफ सफारीले चैत ३ देखि १६ गतेभित्रमा नाउर सिकारका लागि अनुमति प्राप्त गरे पनि बेमौसमी हिमपातका कारण बुधबार मात्रै सिकार गर्ने टोली ब्लकतर्फ लागेको छ । यस्तै बार्से ब्लकमा हिमालय वाइल्ड लाइफ सफारीलेसमेत चैत ३ देखि १७ गतेसम्म सिकार खेल्ने अनुमति पाएकामा हिमपातका कारण हेलिकप्टर आउन नसक्दा मंगलबार मात्रै आरक्षको केही तल्लो भागमा हेलिकप्टर अवतरण गरी पैदल मार्गमार्फत सिकार ब्लकमा सिकारी पुर्याइएको छ ।

आरक्षलाई विभाजन गरिएको सात ब्लकमा फरकफरक समयमा सिकार अनुमति दिइने गरिएको छ । विभागले पछिल्लो समय नाउर र झारलसँगै बँदेलका लागिसमेत सिकार आह्वान गर्दै आएको छ । विभागका अनुसार आरक्षमा तोकिएको ब्लक र निर्धारण गरिएको कोटाका आधारमा प्रतिस्पर्धाबाट नाउर र झारलकोे सिकार गरिनेछ ।

यस मौसममा नेपाली नागरिकका लागि सात बँदेल र विदेशी नागरिकका लागि चार बँदेल गरी जम्मा ११ बँदेल सिकार कोटा तोकिएको छ । नाउर र झारल भने विदेशी सिकारीले मात्रै सिकार गर्ने गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो । यहाँ कात्तिक–मसिंर र फागुन–वैशाख गरी दुई मौसममा सिकार खेलिन्छ । आरक्षले सिकारको अनुमति दिएको संख्या, पर्यटक र उनीहरूको गतिविधिलाई नियमनको काम गर्छ ।
ब्लकअनुसार मूल्य फरकफरक पर्छ । पर्यटकले सिकार गरेको जनावरको सिङ, छाला, खप्परजस्ता महत्वपूर्ण अंग भने आफ्नै देश लैजान पाउने छन् ।
विभागले यस वर्षको पहिलो सिकार यामका लागि आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको थियो । तीमध्ये पाँच नाउर र चार झारलको मात्रै सिकार भएको थियो । अघिल्लो याममा सिकार नभएका नाउर र झारलसमेतलाई थप गरेर वर्षको दोस्रो याममा १२ नाउर र आठ झारलको सिकार अनुमति दिएको हो । नाउर र झारलको अनुमति लिएका विदेशीले निःशुल्क बँदेलको सिकार गर्न पाउनेछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था छ ।

बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पक्षीको सूचीमा परेका डाँफे र मुनाललगायत एक सय ६४ प्रजातिका चरा पाइन्छन् । विदेशी सिकारीले प्रतिस्पर्धाका आधारमा एउटै नाउर तथा झार सिकार गर्न लाखाँै रकम सरकारलाई राजस्व बुझाउँदै आएका छन् ।

प्रतिक्रिया