ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान करिब ८ बजेर ४० मिनेटमा गुराँस गाउँपालिका–४ तालपोखरीमा सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

उक्त ट्रकमा सवार चार जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । ट्रक सडकदेखि अन्दाजी १५० मिटर तल अर्को सडकमा खसेको उनले बताए । उनका अनुसार ट्रकमा चार जना सवार थिए ।

सडकमा ‘साइड’ लगाएर ओट लगाउने क्रममा ट्रक पल्टिएको उनको भनाइ छ । दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु भएको र सहचालक सकुशल रहेको उनले जानकारी दिए ।

घटनामा मृत्यु हुनेमा ट्रक चालक बाँकेका ३० वर्षीय कृष्ण चौधरी, कामदारहरू लक्ष्यीराम चौधरी र विष्णु चौधरीको मृत्यु भएको खुलेको छ । उनीहरूको ठेगाना खुल्न बाँकी छ । डीएसपी लम्सालका अनुसार ट्रकमा खाना पकाउने ग्यास भरिएका सिलिन्डर थिए ।

प्रतिक्रिया