निफमा खड्का र मास्के उत्कृष्ट

काठमाडौं । नेपाली तर्फको उत्कृष्ट चलचित्र ‘ऐना झ्यालको पुतली’ घोषित भएको छ । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली चलचित्रतर्फ यो चलचित्रलाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । यस्तै, नेपाली चलचित्रतर्फ ‘प्रकाश’ बाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।

महोत्सवको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्रको महत्वमाथि प्रकाश पार्दै संस्कृतिको सही ढंगले जर्गेना गर्न चलचित्रको भूमिका विशिष्ट रहने धारणा व्यक्त गरे । उनले भने, ‘सिनेमाले डिप्लोम्यासी रोल गर्छ ।’ उनले निफलाई सक्दो सहयोग गर्ने वचनसमेत दिए । कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मी प्रकाश सायमी, प्रदीप कार्की लगायतका चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।
निफका अध्यक्ष केपी पाठकले महोत्सव सफल भएको सुनाउँदै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन यस्ता कार्यक्रम गरिनुपर्नेमा जोड दिए । उनले आगामी निफ अझ सशक्त र प्रभावकारी रुपमा गरिने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पाठकका अनुसार यस महोत्सवमा ३५ देशका ९५ चलचित्र प्रतियोगितामा छानिएका थिए । महोत्सवमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । पाँच दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लाससमेत भएको पाठकले जानकारी दिए । प्रा.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चीन) ले मास्टर्स क्लास सञ्चालन गरेका थिए । यस्तै, समापनको दिन भएको बहसको पहिलो सत्रमा ‘हास्यव्यङ्यले हौसिएको नेपाली सिनेमा’ माथि परिचर्चा गरिएको थियो । भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा भएको बहसमा प्रमुख वक्तामा सिस्नुपानीका नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, हास्यव्यङ्ग्यकार मनोज गजुरेल, समालोचक डा. विन्दु शर्मा र निर्देशक प्रदीप भट्टराई रहेका थिए । बहसको सहजीकरण स्रष्टा धीरेन्द्र प्रेमर्षिले गरेका थिए ।

हास्यव्यङ्ग्यकार गजुरेलले हास्यव्यङ्ग्य हिसावको सुत्र नभएको बताए । उनले हास्यव्यङ्ग्यमा विभिन्न उपविधा हुने जनाउँदै यी अधिकांशले बाहिरी हाँसो गराउने विचार व्यक्त गरे । उनले भने, ‘पत्रकारिता चौथो अंग हो भने हास्यव्यङ्ग्य सर्वअंग हो ।’ उनले नायक नायिकाको अगाडि हास्यव्यङ्य कलाकारलाई कमेडियन भनेर सम्बोधन गर्दा आफूलाई बेठिक नलाग्ने बताए । उनले भने, ‘नायक नायिकाको फोटो पत्रिकामा छापिन्छ, अनलाइनमा अपलोड हुन्छ । तर तिनीहरु निश्चित समयपछि कि च्यातिन्छन्, कि डिलेट हुन्छन् । तर व्यङ्ग्यकारको विचार मान्छेको मनमस्तिस्कमा नमेटिने छाप भएर बस्दछ ।’
सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागेले संसारमा दुःखका कुरा धेरै भएको सुनाउँदै रुने कुरा पनि धेरै भएको बताए । उनले तर हास्ने कुरा कम भएकाले यो अप्ठ्यारो विधा भएको जिकिर गरे । उनले भने, ‘हाम्रा नेताहरुले जतिधेरै खराब कुरा गर्छन्, त्यति नै हास्यव्यङ्ग्यको खुराक बन्छन् । कसैलाई पिरमर्कामा नपारी हास्यव्यङ्ग्य गर्न सजिलो छैन । तर, मेरो त मनमा नै त्यही भएकाले व्यक्तिगतरुपमा मलाई असजिलो छैन ।’

चलचित्र निर्देशक भट्टराईले अहिले हास्यव्यङ्ग्यको माग भएको बताउँदै यस विधामा बनेका चलचित्र निकै चलेको सुनाए । उनले समाजमा विकृति विसंगति धेरै भएकाले पनि हास्यविधा चलेको जिकिर गरे । उनले भने, ‘पहिला पहिला चलचित्रमा हास्यव्यङ्ग्य भनेको क्वाटिमा मासदाल र मस्याङ् मिसाएजस्तो हुन्थ्यो । अहिले हास्यव्यङ्ग्य नै क्वाटिजस्तो भएको छ ।’ उनले अहिले हास्यव्यङ्ग्य चलचित्र बक्सअफिसमा माथि रहेको जिकिर गरे । उनले थपे, ‘चलचित्र उठे तर फिल्मको धरातल उठ्यो कि उठेन भन्ने चाहिँ मुल प्रश्न हो ।’

सो कार्यक्रममा समालोचक डा. शर्माले हास्यव्यङ्य विषयलाई अत्यन्तै हलुका विषय बनाएर प्रस्तुत गरिने जिकिर गरिन् । उनले महिलाले निर्देशन गरे पनि महिलाको आत्मसम्मान बढाउने काम हुन नसकेको बताइन् । उनले भनिन्, ‘महिलाले पनि पुरुषसत्ता र पितृसत्ताको मानसिकता त्याग्न सकेको देखिँदैन, चलचित्रमा ।’

यसैगरी, निफको चौथो दिन आइतबार ‘चलचित्र नीतिः नीति मात्र कि व्यवहार ?’ विषयमा बहस गरियो । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा भएको बहसमा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महत, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल र पत्रकार बविता बस्नेत वक्ता रहेका थिए । डा.सचिन घिमिरेले सहजीकरण गरेको बहसमा पत्रकार बस्नेतले चलचित्र नीति राम्रो भएको बताइन् । उनले भनिन्, ‘यसमा उल्लेखित विषयमा धेरै समस्या छैन, कतिपय छुटेका पनि होलान् । तर, यसको कार्यान्वयन पक्ष भने फितलो देखिन्छ ।’

बस्नेतले चलचित्र क्षेत्रको चर्चा हुनुपर्ने ठाउँमा नभएको बताउँदै यसलाई त्यति महत्व नदिएको जिकिर गरिन् । उनले भनिन्, ‘चलचित्रलाई पाठ्यक्रममा नराखिएकाले यसका बारेमा विद्यार्थी अनविज्ञ छन् । जस्तो बच्चादेखि नै हामी धेरै साहित्यकारलाई चिन्थ्यौं र चिन्छौं । यसको कारण पाठ्यक्रममा राखिएर पनि हो ।’ उनले फिचर चलचित्रको सेन्सर हुने तर, सिरियल र युट्युबको भने नहुने भन्दै त्यसको सेन्सर हुन जरुरी भएको बताइन् ।

सो कार्यक्रममा नेपाल टेलिभिजन महाप्रबन्धक बलले नेपाली चलचित्र क्षेत्रको सत्तापक्ष को हो ? र प्रतिपक्ष को हो ? भन्ने नछुट्टिएको बताए । उनले अहिले पनि नीतिगत ‘ल्याकिङ’ भएको जनाउँदै जहिल्यै पनि नीति राम्रो बन्छ तर कार्यान्वयन नहुने समस्या रहेको धारणा व्यक्त गरे । उनले भने, ‘चलचित्र निर्माण सुरु भएको ५० वर्षपछि आएको नीति पनि त्यसै थन्किएको छ । हामी २०२६ सालमा बनेको चलचित्र ऐनलाई आधार मानेर काम गरिरहेका छौं । अर्थात् हामी पञ्चायतकालीन नीतिमा चलचित्र क्षेत्र चलाइरहेका छौं ।’ बलले नेपाली चलचित्र नीतिमाथि ऐन नै बन्न नसकेको बताउँदै उनले चलचित्रलाई सफ्ट पावरको रुपमा भन्दा पनि हिरो, हिरोइन नाच्ने, हँसाउने र मनोरञ्जन गर्ने गराउनेमा सीमित बनाएको जिकिर गरे ।

यस्तै, चलचित्र विकास बोर्डका सदस्य सचिव टंकबहादुर महतले चलचित्र नीति कसरी कार्यान्वयन भएको छ भन्ने कुरामा धेरै प्रश्न आएको बताए । उनले ऐन बन्न नसकेकाले पुरानै ऐन (२०२६ सालको) मा काम गरिरहेको गुनासो गरे । उनले भने, ‘नयाँ ऐन आएपछि मात्रै हामीले सोचेजस्तो काम हुन्छ । पुरानै ऐनका आधारमा कार्यविधि बनेर काम गरिरहेको भए पनि हामीले चौतर्फीरुपमा सक्रियता जनाएका छौं । खासगरी मौलिक चलचित्र निर्माण, कलाकारको विकास आदिमा हामी केन्द्रित छौं ।’

प्रतिक्रिया