नेपाल गोल्ड लुव्रिकेन्ट र ग्रिज बजारमा आउदै

काठमाडौ । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ । नयाँ वर्ष २०८० पश्चात बैशाख महिना देखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रका अनुसार सबै संरचना निर्माणको कार्य पुरा भइसकेकोले बैशाख देखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ ।

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन । २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ । दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ । त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ । अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ । लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुने पनि जनाइएको छ ।

उक्त उद्योग स्थापनाका लागि करिव ५० करोड रुपैयाँ लागत लाग्ने छ । एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफका अनुसार हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न समेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानीयोग्य रकमको खोजी भैरहेको उनको भनाई छ ।

प्रतिक्रिया