तुच्छ व्यवहार, ङिच्च दाँत

यतिबेला सामाजिक सञ्जालमा सभामुख देवराज घिमिरे सर्वाधिक चर्चामा छन् । रवि लामिछानेको चर्चा सेलाएको छ । राजनीतिकर्मीहरूलाई सबैभन्दा ठूलो लोभ आफ्नो चर्चाकै हुन्छ । आफू चर्चामा आउनका लागि राजनीतिकर्मीहरूले कहिलेकाहीँ विवादास्पद कुरासमेत बोल्नुपर्ने राजनीतिकशास्त्रका विद्वानहरूले लेखेकै छन् । हाम्रो देशका राजनीतिकर्मीहरू विगतमा राजालाई गाली गरेर चर्चामा आउँथे, तर राजाको जत्तिको पनि काम गर्न नसकेपछि प्रतिगामी शक्ति भनेर गाली गर्नुको तुक रहेन । काला व्यापारी तथा अपराधीहरूलाई गाली गरेर चर्चामा आउँथे तर कतिपय नेताहरू नै काला व्यापारीको संरक्षक बनेको थाहा पाएपछि जनताले पत्याउन छाडे ।

घुस्याहा कर्मचारीलाई गाली गरेर, पिटेर चर्चाका आउने बाटो पनि कुनै बेला हाम्रो देशका राजनीतिकर्मीहरूले रोजे, तर आफैँ घुस्याहा कर्मचारीभन्दा बढी भएपछि यो च्याप्टर पनि बन्द भयो । हत्यारा तथा बलत्कारीलाई गाली गर्ने बाटो पनि कतिपय नेताको चरित्रका कारण बन्द भयो । अब बाँकी थिए पत्रकार । तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा सुरु भएको पत्रकारलाई गाली गर्ने क्रम उनका उपप्रधानमन्त्री रवि लामिछानेले पदमुक्त हुनासाथ चरमोत्कर्षका पुर्याए ।

यतिबेला सभामुख घिमिरे थपिएका छन् । राजनीतिमा योगदान भए पनि लामोसमयसम्म गुमनाम पात्र हुन्, सभामुख घिमिरे । आफू गुमनाम हुनु परेकोमा पत्रकार जगतप्रति उनको यसै पनि सकारात्मक धारणा नहुँदो हो, त्यसमा पनि सभामुख निर्वाचित हुनासाथ केही मिडियाहरूले महाकाली सन्धी प्रकरणसँग उनको नाम जोडेर समाचार बनाए । करिब २५ वर्ष अघिको त्यो घटनामा आफ्नो नाम जोडेर समाचार आएपछि उनी पत्रकार जगतसँग मुरमुरिएर बस्नु स्वभाविक थियो । यही बेलामा पत्रकार महासंघको टोलीको भेटघाट शिवजीका सामु कामदेव देखापरेजस्तो भयो ।

यो प्रकरणमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरू के कति पानीमाथि ओभानो छन् ? भन्ने प्रश्न पनि कम पेचिलो छैन । महासंघको टोली सभामुखले बोलाएरै गएको हो वा आफैँ निवेदन हालेर भेट्न गएको हो ? भन्ने कुरा सतहमा प्रकट भइसकेको छैन । यदि सभामुख घिमिरेले महासंघको टोलीलाई बोलाएरै पत्रकारिता क्षेत्रको हुर्मत लिएका हुन् भने उनी सभामुख पदका लागि अयोग्य रहेछन् भन्ने बुझ्नुपर्छ । आँफैले बोलाएका पाहुनाको त्यसरी हुर्मत लिन सभामुखको पदीय गरिमाले दिँदैन । यदि पत्रकार महासंघको टोली लिखित वा मौखिक निवेदन दिएर सभामुख कहाँ पुगेको हो भने नेपाली पत्रकारहरू योग्य नेतृत्व चयन गर्न चुकेका रहेछन् भनेर बुझ्नुपर्ने हुन्छ ।

ठूलो ओहोदामा रहेको व्यक्तिलाई विनाप्रयोजन भेट्न जानु पत्रकारको धर्म होइन, आचार संहिताभित्र पनि पर्दैन । महासंघ भनेको पत्रकारहरूको संस्था हो । नवनिर्वाचित भएका कारण बधाई ज्ञापन गर्न पो पत्रकार महासंघ पुगेको हो कि ? भन्ने हो भने झन गम्भीर गल्ती हो । के का लागि बधाई दिनुप¥यो । पदमा पुगेर राम्रो काम गरेको समाचार प्रवाह गर्नु भनेकै पत्रकारहरूले नेतालाई प्रदान गर्ने बधाई हो ।

पछिल्लो समय नेपाल पत्रकार महासंघ आफ्नो मूल जिम्मेवारीबाट विचलित भएको आशंका गरिएको छ । पत्रकारको आवरणमा कतिपय व्यक्तिहरूका आपराधिक क्रियाकलापका कारण पत्रकारिता क्षेत्र बद्नाम भएको छ । यस्तो अवस्थामा पत्रकारिता क्षेत्रको गरिमा बचाउने मुख्य दायित्व पत्रकार महासंघको हो । पत्रकार महासंघको क्रियाकलाप हेरेर समाजले पत्रकारिता जगतको मूल्यांकन गरिरहेको हुन्छ । धेरै वर्ष बितेको छैन, हिजोका दिनमा सर्वदलीय ठूला सभाहरूका मूलप्रवाहका राजनीतिकदलका शीर्ष नेताहरूसरह पत्रकार महासंघको अध्यक्षको पनि आसन ग्रहण हुने गथ्र्यो ।

राजकीय समारोहमा पत्रकार महासंघका प्रतिनिधिलाई पनि आमन्त्रण गरिन्थ्यो । किनकी जनताले त्यो गरिमामय समारोहमा पत्रकार महासंघका प्रतिनिधिको उपस्थिति शोभनीय ठान्थे । तर, आज पत्रकार महासंघ चुनाव जित्नेको घरदैलोमा जान थालेको समाचार मात्रै आएको छैन, घर मालिकले तुच्छ व्यवहार गरेपछि दाँत ङिच्च गर्दै फर्केको समाचारसमेत आएको छ ।

प्रतिक्रिया