स्ववियु निर्वाचन : इलाममा ६२ प्रतिशत मत खस्यो

इलाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार इलामका दुईवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस र देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको हो ।
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा ६२ प्रतिशत मत खसेको भने सदरमुकामबाहिर मंबगलबारे बहुमुखी क्याम्पसमा भने ८७ प्रतिशत मत खसेको छ । एक हजार नौ सय ४२ विद्यार्थी रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा एक हजार दुई सय आठ जना विद्यार्थीले मतदान गरेका छन् । त्यस्तै दुई सय सात विद्यार्थी रहेको मंबगलबारे बहुमुखी क्याम्पसमा एक सय ७९ जना विद्यार्थीले मतदान गरेका छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतगणना केही समयपछि सुरु हुनेछ भने मंबगलबारे बहुमुखी क्याम्पसको मतगणना सुरु भएको छ । चार क्याम्पस रहेको इलाममा एकतप्पा बहुमुखी क्याम्पस र गरुवा बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भएकाले निर्वाचन गर्नुपरेन । दुवै क्याम्पसमा उमाले निकट अनेरास्ववियुको नेतृत्वमा सहमति भएको हो ।

इलाम झण्डै १७ वर्षपछि भएको स्ववियु नर्वाचनमा विद्यार्थी संगठनहरुले दलगत रुपमा प्रतिस्पर्धा गरेका छन् । तर, केन्द्रीय सत्ता समिकरणभन्दा भिन्न गठबन्धन गरेर विद्यार्थीहरु चुनावी प्रतिस्पर्धा उत्रिएका छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस र मंगलबारे बहुमुखी क्याम्पसमा दुई प्रमुख विद्यार्थी संगठन एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र कांग्रेस निकट नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस एकातिर एमाले निकट अनेरास्ववियुको नेतृत्वमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्ति गठबन्धन छ भने अर्कोतिर कांग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा एकीकृत समाजवादी निकट अनेरास्ववियु र जनता समाजवादी पार्टी समाजवादी विद्यार्थी युनियनको संयुक्त गठबन्धनको प्यानल प्रतिस्पर्धामा छन् ।

नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) विप्लव एकल प्रतिस्पर्धामा छन् । मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त गठबन्धनसँग नेपाल विद्यार्थी संघ एकल प्रतिस्पर्धामा छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र राप्रवि संगठनको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा अनेरास्ववियुका दर्शन राई उम्मेदवार छन् भने सचिवमा क्रान्तिकारीका राजेन्द्र लोहार (विक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्की उम्मेदवार बनेका छन् ।


सो प्यानलबाट सदस्यहरुमा अनेरास्ववियु गोपीराज लिम्बू र बबिता खनाल, अखिल (क्रान्तिकारी) का मनिसा दुलाल, ज्ञानेन्द्र चापागाई, सम्भु राई र पुष्कार बोहोरा एवं राप्रवि संगठनका उज्वल पौडेल उम्मेदवार बनेका छन् ।

नेपाल विद्यार्थी संघको नेतृत्वमा अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको संयुक्त प्यानलको तर्फबाट अध्यक्षमा नेविसंघका याकु राई उम्मेदवार छन् । सो प्यानलबाट सचिवमा अनेरास्वियुका किरण गौतम र कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी निवाता राई उम्मेदवार छन् ।

सदस्यहरुमा नेविसंघका तर्फबाट कृष्ण चापागाईं, रेखा बेघा, रामकुमार विक र अनिता राई, अनेरास्ववियुका तर्फबाट मनोज पोखरेल, समाजवादी विद्यार्थी युनियनका तर्फबाट मनिसा लिम्बू र कमला लिम्बू उम्मेदवार छन् । उता एकल उम्मेदवारी दिएको अनेरास्ववियु (क्रान्तिकारी) विप्लवका तर्फबाट अध्यक्षमा मात्र विनोदकुमार मगर उम्मेदवार छन् ।

समानुपातिकर्फ भने आआफ्नो संगठनका तर्फबाट उम्मेदवार छन् ।
उता मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र राप्रवि संगठनको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा अनेरास्ववियुका फुर्वा तामाङ, सचिवमा रुद्रप्रसाद पौडेल र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का विशाल तामाङ उम्मेदवार बनेका छन् ।

सदस्यहरुमा अनेरास्ववियुका बन्दना अधिकारी, मौसम तामाङ र केशव निरौला, अखिल (क्रान्तिकारी) का मनिषा तामाङ र राप्रवि संगठनका नेत्रकुमार कार्की उम्मेदवार छन् ।

नेविसंघबाट अध्यक्षमा कुशल रेग्मी, सचिवमा भूमिका मगर र कोषाध्यक्षमा अनिता घिमिरे उम्मेदवार बनेका छन् । सदस्यहरुमा सलिना श्रेष्ठ, सुमना राई, प्रकाश चम्लागाई, प्रविन बास्तोला र लोचन बराल उम्मेदवार बनेका छन् । समानुपातिकर्फ भने आआफ्नो संगठनका तर्फबाट उम्मेदवार छन् ।

प्रतिक्रिया