इलाम । प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले आइतबार प्रदेश राजधानी विराटनगरमा वृहत् प्रदर्शन गर्दैछ ।
संयुक्त संघर्ष समितिद्वारा ‘कोशी’ प्रदेश खारेज गरी पहिचानसहितको नामाकरण गरिनुपर्ने माग राखेर विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्ने तयारी छ । पुनःनामाङकनको आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघसहित त्यसमा आबद्ध आदिवासी जनजाति संगठन, संघ र संस्थाहरू एवं पहिचान पक्षधर राजनीतिक दलहरूका आदिवासी मोर्चाहरू सहभागी छन् ।
ती संगठन, संस्थाहरूका जिल्ला संगठनहरू अहिले गाउँगाउँबाट प्रदर्शनमा सहभागिताका लागि विराटनगर लागेका छन् । दिउँसो १ बजे हुने प्रदर्शनलाई अस्तित्वको सवालसँग गाँसेर सशक्त बनाउने तयारीमा पहिचानवादी शक्तिहरु लागेका छन् । प्रदर्शनका लागि प्रदेशका १४ वटै जिल्लाबाट प्रदर्शनकारीहरु विराटनगरतर्फ लागेका छन् ।
‘प्रदेशको नाम ‘कोशी’ खारेज गर’ उल्लेख गरिएको ब्यानरसहित प्रदर्शनकारीहरु विभिन्न सवारी साधनमार्फत विराटनगर हिँडेका हुन् । प्रदर्शन शान्तिपूर्ण हुने संयुक्त संघर्ष समितले जनाएको छ ।
संयुक्त संघर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने, ‘हाम्रो संघर्ष शान्तिपूर्ण हुन्छ, राज्यले हाम्रो मागलाई सम्बोधन गर्छ कि दमन गर्न खोज्छ, मैदानमा देखिने छ ।’
येक्तेनले प्रदर्शन आदिवासी पहिचानको अस्तित्वसँग गाँसिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा समेत भनेका छन्, ‘सबै आन्दोलनमा सहभागी भएर अस्तित्व र पहिचानको लागि ऐतिहासिक लडाइँको अंग बनिदिनुहुन प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति पुनः हार्दिक आह्वान गर्दछ ।’ प्रदेशको पुनः नामाकरण पहिचानसहितको नराखे देशभर आन्दोलन चर्काउने चेतावनी आन्दोलनकारीहरुले दिएका छन् ।
गएको १७ फागुनमा प्रदेशसभाबाट बहुमतले प्रदेशको नामाकरण ‘कोशी’ प्रदेश घोषणा भएपछि पहिचानवादी संघसंस्थाहरू लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचान र सभ्यताका आधारमा ‘लिम्बुवान किरात’ नामाकरण राख्न माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमको पुत्ला दहन गरेर सुरु गरेको आन्दोनल पछिल्लो समय स्थानीय तहमा केन्द्रित गर्दै आएको छ । सो क्रममा आन्दोलनकारीहरुले विभिन्न पालिका र वडा कार्यालयमा तालाबन्दी गर्दै आएको छ ।
प्रदर्शन रोक्न विराटनगरमा निषेधित क्षेत्र घोषणा
यसैबीच ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध आइतबार हुने प्रदर्शन रोक्न विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नामाकरणको विरोधमा पहिचान पक्षधरको आन्दोलनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको राजधानी विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय प्रशासनले शनिबार एक सूचना जारी गर्दै विराटनगरको अस्पताल चोक क्षेत्रमा रहेको प्रदेशसभा, पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पताल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोक र मुख्यमन्त्री निवास वरिपरि तिन सय मिटरसम्म प्रदर्शन गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकलाई पनि प्रशासनले निषेधित क्षेत्र तोकेको छ । आइतबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
‘कोशी’ प्रदेश नामांकन खारेज गरी पहिचानसहितको नामाकरणको मागसहित १ प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले प्रदर्शन गर्ने जानकारी पाएपछि स्थानीय प्रशासनले शुक्रबार नै निषेधित क्षेत्र घोषणा गरेको हो । ‘अर्को आदेश नभए सम्म’ भन्दै प्रशासनले गरेको निषेधित क्षेत्र घोषणा यो दोस्रो पटक हो ।
यसअघि प्रदेशसभामा फागुन १७ गते प्रदेशको नामांकनसम्बन्धी संसदीय प्रक्रियाको कार्यक्रमअघि पनि प्रशासनले अर्को आदेश नभएसम्म भन्दै निषेधित क्षेत्रको घोषणा गरेको थियो ।
इलाम
प्रतिक्रिया