इलाम । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा तय भएकव निर्वाचनअन्तर्गत बिहान ८ देखि सुरु भएको हो ।
निर्वाचनमा अपराह्न ४ बजेसम्म मतदान हुनेछ । विद्यार्थीको निर्वाचनमा विद्यार्थी संगठनहरुले दलगत गरेर प्रतिस्पर्धा गर्दै छन् । यसैबीच इलाममा भने महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम र मंगलबारे बहुमुखी क्याम्पस देउमाईमा स्ववियुको निर्वाचन हुँदैछ ।
चार क्याम्पसमध्ये एकतप्पा बहुमुखी क्याम्पस र गरुवा बहुमुखी क्याम्पसमा सर्वसम्मत चयन भएपछि निर्वाचन नहुने भएको छ । दुवै क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा सहमति भएको हो । दुईवटा क्याम्पसमा भने विद्यार्थीहरूको निर्वाचनमा पनि दलगत जस्तै संयुक्त गठबन्धन गरेर विद्यार्थीहरु प्रतिस्पर्धा गर्दैछन् । तर, केन्द्रीय सत्ता समिकरणभन्दा भिन्न गठबन्धन बनेको छ ।
महेन्द्ररत्न बहुमुखी क्याम्पस र मंगलबारे बहुमुखी क्याम्पसमा दुई प्रमुख विद्यार्थी संगठन नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा हुने देखिन्छ । दुवै क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।
महेन्द्ररत्न बहुमुखी क्याम्पस एकातिर एमाले निकट अनेरास्ववियुको नेतृत्वमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्ति गठबन्धन छ भने अर्कोतिर कांग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा एकीकृत समाजवादी निकट अनेरास्ववियु र जनता समाजवादी पार्टी समाजवादी विद्यार्थी युनियनको संयुक्त गठबन्धनको प्यानल प्रतिस्पर्धामा छन् ।
नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) विप्लव एकल प्रतिस्पर्धामा छन् । मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त गठबन्धनसँग नेपाल विद्यार्थी संघ एकल प्रतिस्पर्धामा छ ।
महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र राप्रवि संगठनको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा अनेरास्ववियुका दर्शन राई उम्मेदवार छन् भने सचिवमा क्रान्तिकारीका राजेन्द्र लोहार (विक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्की उम्मेदवार बनेका छन् ।
अध्यक्ष उम्मेदवार राईले विद्यार्थीको हकहितका लागि क्रियाशील विद्यार्थी संगठनहरुको संयुक्त प्यानल भएकाले जित निश्चितजस्तै भएको बताए । सो प्यानलबाट सदस्यहरुमा अनेरास्ववियु गोपीराज लिम्बू र बबिता खनाल, अखिल (क्रान्तिकारी) का मनिसा दुलाल, ज्ञानेन्द्र चापागाई, सम्भु राई र पुष्कार बोहोरा एवं राप्रवि संगठनका उज्वल पौडेल उम्मेदवार बनेका छन् ।
नेपाल विद्यार्थी संघको नेतृत्वमा अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको संयुक्त प्यानलको तर्फबाट अध्यक्षमा नेविसंघका याकु राई उम्मेदवार छन् । सो प्यानलबाट सचिवमा अनेरास्वियुका किरण गौतम र कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी निवाता राई उम्मेदवार छन् । संयुक्त गठबन्धन भएकाले यो गठबन्धले पनि जित्ने दाबी गर्दै आएका छन् ।
सदस्यहरुमा नेविसंघका तर्फबाट कृष्ण चापागाईं, रेखा बेघा, रामकुमार विक र अनिता राई, अनेरास्ववियुका तर्फबाट मनोज पोखरेल, समाजवादी विद्यार्थी युनियनका तर्फबाट मनिसा लिम्बू र कमला लिम्बू उम्मेदवार छन् । उता एकल उम्मेदवारी दिएको अनेरास्ववियु (क्रान्तिकारी) विप्लवका तर्फबाट अध्यक्षमा मात्र विनोदकुमार मगर उम्मेदवार छन् ।
समानुपातिकर्फ भने आ–आफ्नो संगठनका तर्फबाट उम्मेदवार छन् । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा एक हजार ९ सय ४२ जना विद्यार्थीले मतदान गर्नेछन् ।
उता मंगलबारे बहुमुखी क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र राप्रवि संगठनको संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा अनेरास्ववियुका फुर्वा तामाङ, सचिवमा रुद्रप्रसाद पौडेल र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी) का विशाल तामाङ उम्मेदवार बनेका छन् ।
सदस्यहरुमा अनेरास्ववियुका बन्दना अधिकारी, मौसम तामाङ र केशव निरौला, अखिल (क्रान्तिकारी) का मनिषा तामाङ र राप्रवि संगठनका नेत्रकुमार कार्की उम्मेदवार छन् ।
नेविसंघबाट अध्यक्षमा कुशल रेग्मी, सचिवमा भूमिका मगर र कोषाध्यक्षमा अनिता घिमिरे उम्मेदवार बनेका छन् । सदस्यहरुमा सलिना श्रेष्ठ, सुमना राई, प्रकाश चम्लागाई, प्रविन बास्तोला र लोचन बराल उम्मेदवार बनेका छन् । समानुपातिकर्फ भने आ–आफ्नो संगठनका तर्फबाट उम्मेदवार छन् । मंगलबारे बहुमुखी क्याम्पसमा दुई सय सात जना विद्यार्थीले मतदान गर्नेछन् ।
इलाम
प्रतिक्रिया