तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार उपराष्ट्रपति पदका लागि भएको निर्वाचनमा उनी ३० हजार ३ सय २८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले संघीय संसद्का १ सय ८४ जना सांसदले दिएको मतको मतभार १४ हजार ५ सय ३६ र प्रदेशसभाका ३ सय २९ जना सदस्यले दिएको मतको १५ हजार ७ सय ९२ मतभार पाएका हुन् । बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव जसपाका संसदीय दलका नेता हुन् ।

यादवका प्रतिस्पर्धी एमालेकी उम्मेद्वार अष्टलक्ष्मी शाक्यको पक्षमा संघीय संसद्का १ सय ४ र प्रदेशसभाका १ सय ६९ जना सदस्यले मत दिएका थिए । यसैगरी, जसपाकै प्रमिलाकुमारी यादवलाई संघीय संसद्का एक जनाले मत नदिँदा प्रदेशसभाबाट शून्य मत परेको थियो । उनले रामसहायलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेद्वारी निष्क्रिय पारेकी थिइन् ।

साथै जनमत पार्टीकी ममता झाले संघीय संसद्का २३ जना सदस्य र प्रदेशसभाका १५ जना सदस्यबाट मत पाएकी हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने घोषणा गरेको थियो ।

नेपालको पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दकिशोर पुन निर्वाचित भएका थिए । रामसहाय यादव, मधेस राजनीतिमा आक्कलझुक्कलबाहेक त्यतिविधि चर्चामा आएको नाम होइन । तर, यो नाम गुमनाम पनि कहिल्यै भएन ।

विशेषगरी मधेसलाई मूलधारमा ल्याउन भएको ०६४ को मधेस आन्दोलनको पृष्ठभूमिमा रामसहाय एउटा त्यस्तो ‘पिल्लर’ भए, जो जहिल्यै केन्द्रीय भूमिकामा रहे । तर अपवादबाहेक चर्चामा रहेनन् । गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीबाट राजनीतिक जीवन सुरू गर्दा उनी शिक्षण पेसामा थिए । सद्भावनाको स्थानीय कार्यकर्ता भएर राजनीति सुरू गरेका उनले सोही पार्टीमा हुँदै मधेसी जनअधिकार फोरमको भूमिगत राजनीति सम्हाले । ०६२/६३ को दोस्रो जनआन्दोलन र ०६४ सालको मधेस आन्दोलनपछि फोरमका संस्थापक उपेन्द्र यादवलाई नेतृत्व तहमै रहेर अनवरत साथ दिँदै आए ।

रामसहाय अहिले सोही पार्टीबाट मुलुकको उपराष्ट्रपति पदमा सत्तारूढ गठबन्धनको दलको तर्फबाट उपराष्ट्रपति भएका छन् । मधेसको सापेक्षतामा रामसहाय कथित उपल्लो जात यादव समुदायका हुन् । तर, नेपालको समग्र अर्थ–सामाजिक–राजनीतिको दृष्टिबाट हेर्दा उनी त्यही सीमान्त मधेसी समुदायको प्रतिनिधित्व गर्ने नेता हुन् ।

त्यसैले पनि उनी मधेसको बलियो शक्तिका रूपमा परिचित तत्कालीन, मधेसी जअनधिकार फोरम, जुन संघीय समाजवादी फोरम हुँदै अहिले बनेको जनता समाजवादी पार्टीको महासचिवजस्तो महत्वपूर्ण पदमा ०६५ सालदेखि निरन्तर रहँदै आए । पहिलो संविधानसभामा समानुपातिकबाट सांसद बनेका उनी ०७४ साल र ०७९ सालमा सम्पन्न प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनावमा पराजय भोगेपछि वरिष्ठ नेता अशोक राईलाई रोकेर सर्वसम्मत संसदीय दलको नेता बने । त्यतिबेलादेखि नै रामसहायलाई अर्को पदमा पठाएर उपेन्द्र पुनः चुनाव लड्ने र सत्तामा जाने आशंका व्याप्त थियो । त्यसलाई बल पुग्ने गरी उपेन्द्रले सत्ता गठबन्धनका प्रमुख चार दलको सहमतिमा रामसहायलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाएका हुन् ।

१९ जेठ ०४८ सालमा शिक्षण सेवामा आबद्ध रामसहायले ९ असारमा अस्थायी नियुक्ति पाएका थिए । त्यसपछि उनले निरन्तर १६ वर्ष ९ महिनासम्म अध्यापन गरे । बेलाबेलामा खुल्ने स्थायी सेवाका लागि पनि परीक्षामा सामेल भइरहन्थे । लिखित परीक्षामा दुईपटक पास भए पनि मौखिक परीक्षामा असफल भएका उनी ०५२ सालमा दिएको शिक्षक सेवा आयोगको परीक्षामा भने सफल भए । तर परीक्षाको नतिजा आयो ०६० सालमा, जतिबेला उनी सक्रिय राजनीतिमा लागिसकेका थिए ।

१६ फागुन ०६४ मा निम्न माध्यामिक तहको स्थायी शिक्षकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिए । रामसहाय शिक्षक पेसामा लाग्नु अगावै ०४७ सालदेखि सद्भावना पार्टीको राजनीतिमा जोडिइसकेका थिए । गजेन्द्रनारायण सिंहको नेतृत्वमा भएको ‘मधेस एकता रथ यात्रा’मा पहिलोपटक सहभागी भएदेखि उनले आफूलाई कहिल्यै राजनीतिबाट अलग गरेनन् । गजेन्द्रनारायणले आयोजना गरेका विभिन्न आन्दोलनमा उनको सहभागिता जहिल्यै रह्यो ।


०५८ सालमा गजेन्द्रनारायणको मृत्युपछि बद्रीप्रसाद मण्डल कार्यवाहक अध्यक्ष थिए । तत्कालीन सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका मण्डलले सद्भावना पार्टी कब्जा गर्ने योजना बनाएको भन्दै विवाद भएपछि पार्टी विभाजन हुने अवस्था आयो ।

पार्टी विभाजन रोक्न रामसहायले एक्लै राजविराजको सप्तरी सेवा आश्रममा आमरण अनशन सुरु गरे । ०५९ सालमा सप्तरीको राजविराजस्थित रंगशालामा पाँचौँ महाधिवेशन भइरहेको थियो, गजेन्द्रनारायणले नै स्थापना गरेको सेवा आश्रममा रामसहाय एक्लै अनसनमा थिए ।

गजेन्द्रनारायण सिंहकी श्रीमती तथा पार्टीकी प्रभावशाली नेतृ आनन्दीदेवी सिंहको नेतृत्वमा सद्भावना एकतासहित अघि बढ्ने भएपछि उनले अनशन तोडे । आनन्दीदेवीले नेतृत्व गर्ने भएपछि पार्टीको नाम पनि ‘सद्भावना पार्टी आनन्दीदेवी’ हुन गयो ।’

अनशन अन्त्य भयो, आरडी आजाद पुनः भेट्न गए । आजादले रामसहायलाई एउटा भवनमा लिएर गए । जहाँ विद्यार्थी पढाउने खालका बेञ्च र डेस्क राखिएका थिए । सुनसान घरभित्र उपेन्द्र यादव उनको प्रतीक्षामा बसिरहेका थिए ।

त्यही भेट उपेन्द्र र रामसहायबीच भएको पहिलो भेट थियो र परिचय पनि पहिलोपटक भएको थियो । भेटका क्रममा उपेन्द्रले आफू नेतृत्वको मधेसी जनअधिकार फोरमका विषयमा चर्चा गरे ।

उपेन्द्रले फोरमको दोस्रो महाविधेशनमा जनकपुरमा हुन लागेको भन्दै रामसहायलाई मौखिक निम्तो दिए । जवाफमा रामसहायले भने, ‘तपाईंले मलाई खबर गर्नुहोला या चिठी पठाउनुहोला ।’

‘हुन्छ, तपाईंले १० जना युवा ल्याएर आउनुपर्छ’, उपेन्द्रले भने । उनले पनि ‘हुन्छ’ भने । तर महाधिवेशनको समयमा पत्र प्राप्त भएन, सूचना पनि आएन । भूमिगत रूपमा काम गरिरहेका उपेन्द्रले निमन्त्रणा गर्न बिर्सिएको भन्दै रामसहायलाई रक्सौल आउन आग्रह गरे । रामसहाय उपेन्द्रलाई भेट्न रक्सौल पुगे ।

उपेन्द्रका सहयोगीले एकपछि अर्को घर गर्दै तेस्रो घरमा पु¥याएपछि मात्रै भेटाए, जहाँ संगठनको काम र सदस्यतालगायत विषयमा छलफल भयो । एउटा कार्यक्रमको समेत योजना बन्यो । तर नेपाल आउन उपेन्द्रका लागि सहज नभएपछि सीमाना नजिकैको बस्तीमा कार्यक्रम गर्ने योजना बन्यो । रामसहायले त्यसको राम्रो तयारी गरे पनि प्रहरीले जानकारी पाएपछि स्थगित गर्नुपर्यो ।
उपेन्द्रलाई भेटेर नेपाल फर्किएका रामसहायले सद्भावनाको पार्टी कमिटीमा रहेकै बेला ७ फागुन ०६० सालमा प्रजातन्त्र दिवसको दिन पारेर मधेसी जनअधिकार फोरमको जिल्ला समिति गठन गरे । रामसहायकै संयोजकत्वमा ९ सदस्यीय समिति गठन भयो ।

प्रतिक्रिया