कोरोनाविरुद्ध दोस्रो बुस्टर डोज लगाइँदै

इलाम । सरकारले इलामसहित देशभर कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा आउँदो ३ देखि ७ चैतसम्म सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत कोभिड विरुद्धको दोस्रो बुस्टर डोज लगाउन लागेको हो ।
नियमित खोप लगाएकाहरूका लागि यो चौथो डोज हो । स्वास्थ्य कार्यालय इलामले दोस्रो बुस्टर डोज खोप लगाउने तयारी तीव्र पारिएको बुधबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा जनाएको छ । यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए ।

पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका ५५ वर्ष माथिका सबै नागरिक, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार ४ सय ९२ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

त्यस्तै कोभिड–१९ विरुद्धको पहिलो शृंखलाको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएको १२ वर्ष माथिका ६३ हजार ४ सय ९३ जना नागरिकलाई पहिलो बुस्टर डोज लगाइने लक्ष्य लिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत गंगाधर पण्डितले जानकारी दिए ।

दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर बायोएनटेक खोप दिइने खोप अधिकृत पण्डितले जानकारी दिए ।

इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी २ सय २५ स्थानबाट खोप दिइने व्यवस्था मिलाइएको खोप अधिकृत पण्डितले बताए । त्यसका लागि पालिक र वडा स्तरमा समेत खोपसम्बन्धी अभिमुखीकरण भइरहेको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका प्रमुख शाक्यले कोरोना विरुद्धको खोप निर्धक्क भएर लगाउन सबैलाई आव्हान गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन आह्वानसमेत गरे ।

‘पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम घट्दो छ । धेरैले कोभिडलाई सामान्य रूपमा लिन थालेको पाइएको छ’, शाक्यले भने, ‘तर कोभिडलाई सामान्य रूपमा लिन हुँदैन । धेरैको ज्यान लिइसकेको छ । यसपटकको खोप पछिल्लो समय देखिएको ओमिक्रोन र डेल्टालाई समेत प्रतिरोध गर्ने भएकाले सबैले लगाऔँ ।’

कोभिड–१९ विरुद्धको विभिन्न मात्राको खोप लगाउनुपर्ने लक्षित संख्या इलाममा २ लाख १७ हजार ४ सय ७३ रहेकोमा पहिलो मात्राको खोप लगाउने संख्या १ लाख ९९ हजार ३ सय ८८ र दोस्रो मात्राको खोप लगाउनेको संख्या १ लाख ८४ हजार ८ सय १४ जना छन् ।

त्यस्तै पहिलो बुस्टर डोज लगाउने संख्या १ लाख २१ हजार ३ सय २१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस नियन्त्रण हुँदै गएको र नागरिकहरूमा समेत चासो घट्दै गएकाले खोप लगाउनेको संख्या घट्दो रहेको कार्यालयको बुझाइ रहेको छ ।

प्रतिक्रिया