मतदाता विवादले ठाकुरराम क्याम्पसको चुनाव ८ चैतमा

वीरगञ्ज । विद्यार्थीहरूको संघ, संठनहरूको किचलोको कारण ठाकुरराम बहमुखी क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा परेको छ । मतदाता नामावलीका विषयमा विधार्थी संघसंगठन र क्याम्पस प्रशासनबीच पटकपटक हुँदै आएको विवादका कारण स्ववियु निर्वाचन अन्यौलमा परेको हो । विवाद बढदै गएपछि क्याम्पस निर्वाचन समितिले ५ चैतमा हुने निर्वाचन ८ चैतमा गर्ने गरी सोमबार साँझ नयाँ मतदाता नामावलीसहित संशोधित निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

तर, सोमबार साँझ सार्वजनिक मतदाता नामावलीप्रति फेरि विवाद हँुदा विधार्थी संघसंगठनहरूले मंलबार बिहान क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लेपछि अवस्था तनावपूर्ण बन्दै गएको छ ।

सोमबार साँझ निर्वाचन समितिले ९ हजार ७ सय मतदाता सहितको मतदाता नामावली प्रकाशन गरेको हो । तर फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने माग राख्दै मंगलबार बिहान अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल विधार्थी संघ, समाजवादी विधार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्ष, निर्वाचन समितिको कार्यालय, सूचना प्रविधि शाखा र विद्यार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका थिए ।

त्रिविको स्ववियु निर्वाचन निर्देशिकाअनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहँदा पनि विद्यार्थी संघसंगठनहरूले विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको निर्वाचन अधिकृत रोशन लामिछानले बताए । निर्वाचन समितिले घोषणा गरेअनुसार मंगलबार उम्मेदवार मनोनयन पत्र दर्ता गराउने समय भए पनि विद्यार्थी संगठनहरूको आन्दोलनले गर्दा अहिलेको लागि निर्वाचन स्थगित गर्नुपरेको घोषणा गरिएको लामिछानेले बताए ।

यसअघि २१ फागुनमा क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावलीप्रति पनि विरोध जनाउँदै फागुन २६ गते विद्यार्थीहरूले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी नै गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २ सय ३२ थियो । तर, विद्यार्थी संघसंगठनहरूले एक हजारभन्दा बढी फर्जी विद्यार्थीको नामसमेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरी मतदाता नामावलीबारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिलकुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७ सय मतदाता सहितको नयाँ मतदाता नामावली र ८ चैतमा निर्वाचन गर्ने गरी संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो । नयाँ निर्वाचन तालिकाअनुसार मंगलबार उम्मेद्वारको मनोनयनपत्र (समानुपातिक र प्रत्यक्ष दुवै) वितरण र बुधबार मनोनयनपत्र दाखिलाका लागि समय तोकिएको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया