ओस्टियोपोरोसिस (हड्डी मक्किने रोग) बाट कसरी जोगिने ?

उप– प्रा.डा. केशवराज सिग्देल


ओस्टियोपोरोसिस भनेको हड्डी खोक्रो, कमजोर तथा पातलो हुनु हो । हड्डी शरीरमा हुने एउटा जीवित तन्तु हो, जसले मानव शरीरको अस्थिपञ्जर, ढाँचा, बनावट, गति र चाल एवं भित्री अंगहरुको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

शरीरमा हड्डीका तन्तुहरु निरन्तर नयाँ बन्ने र नष्ट हुने प्रक्रिया चलिरहेको हुन्छ । नयाँ हड्डी बन्ने प्रकृया भन्दा खिइने (गुमाउने) प्रक्रिया बढी भएमा ओस्टियोपोरोसिसको विकास हुन्छ । अर्थात मानव शरीरमा निरन्तर रुपमा नयाँ हड्डी बन्ने र पुरानो हड्डी नास हुदै जाने प्रक्रियाको सन्तुलन नभएमा ओस्टियोपोरोसिस हुन्छ ।

जसले गर्दा हड्डी कमजोर हुन गई सामान्य चोटपटक लाग्दा पनि हड्डी बाङ्गो हुने र भाँचिने समस्या हुन सक्छ । जसमा मुख्यतस् काछ, मेरुदण्ड र नाडीको हड्डी पर्दछन् । हाडको खोक्रोपन कुन अवस्थामा छ भनेर सुक्ष्मदर्शक यन्त्रको सहयोगले पनि जाँच गर्न सकिन्छ ।

तन्दुरुस्त हड्डी माहुरीको चाकाजस्तो खँदिलो हुन्छ भने मक्किएको हड्डीका तन्तुहरु त्यति खँदिलो नभएर खाल्डो अथवा खोक्रोपन बढी भएको अवस्थामा रहेको हुन्छ । यो रोग ४० प्रतिशत जति महिला र १३ प्रतिशत जति पुरुषहरुमा ५० बर्षको उमेर नाघेपछि देखा परेको विभिन्न अध्ययनहरुमा पाइन्छ ।

विशेषगरि छिट्टै रजस्वला चक्र रोकिएका महिलाहरु उच्चतम जोखिममा पर्दछन् । तर नेपालमा कति प्रतिशत मानिसमा ओस्टियोपोरोसिस छ भनेर अनुमान लगाउनु बाहेक यकिन तथ्यांक उपलब्ध छैन ।

ओस्टियोपोरोसिस कसरी पत्ता लगाउने ?

मानव शरीरको हड्डीमा रहेको खनिज पदार्थको घनत्व (Bone Mineral Density-BMD) को जाँचबाट हड्डीको कमजोरपन अथवा मक्किएको कति छ भन्ने कुरा पत्ता लगाई समयमै उपचार सुरु गरेमा हड्डी मक्किने र भाँचिने प्रक्रियालाई रोकथाम गर्न सकिन्छ ।

DEXA स्क्यानको मद्दतले BMD पत्ता लगाउन सकिन्छ । यद्यपि, नेपालमा यस्तोखाले जाँच अझै पनि सर्बत्र सजिलै उपलब्ध हुन सकेको छैन र यो रोगलाई सरकारी तबरबाट खासै महत्व नदिएको अवस्था छ ।

ओस्टियोपोरोसिसका लक्षणहरु के के हुन् ?

सामान्यतया प्रारम्भिक चरणमा हड्डी कमजोर भए तापनि लक्षणहरु नदेखिन सक्छ । ओस्टियोपोरोसिस बढ्दै गएर जब अझ बढी हड्डी कमजोर भइसकेको हुन्छ, तब मात्र यसका लक्षणहरु देखा पर्दछन् ।

सिधा बस्न तथा हिडडुल गर्न कठिनाई हुने, ढाड दुख्ने, विभिन्न जोर्नीहरु दुख्ने, अररो हुने, सानो चोटपटकले पनि अनपेक्षित रुपमा हड्डी भाँचिने लगायत मेरुदण्डका हड्डीहरु खुम्चिएर एक अर्कामा लिप्त हुँदा शरीरको उचाई घट्ने र कुप्रो पर्ने यसका लक्षणहरु हुन् । प्रायजसो अवस्थामा हाड भाँचिई सकेपछि मात्रै ओस्टियोपोरोसिस निदान भएको हुन्छ ।

ओस्टियोपोरोसिस हुने जोखिम कसलाई बढी हुन्छ ?

उमेर जति बढ्दै जान्छ, हड्डी खिइने तथा हड्डी कमजोर हुने सम्भावना उति नै धेरै हुन्छ, त्यसैले ओस्टियोपोरोसिस हुनुको प्रमुख कारण बढ्दो उमेर नै हो । अझ क्याल्सियम र क्याल्सियमयुक्त खानाको सेवन कम गर्ने मानिसमा यसको समस्या अझै धेरै हुने सम्भावना हुन्छ ।

त्यसैगरी, ५० वर्षभन्दा माथिको उमेर, कम तौल, टेस्टोस्टेरोन र एस्ट्रोजेन नामक हर्मोनको कमी, प्रोस्टेट ग्रन्थीसम्बन्धी समस्या भएका व्यक्तिहरु, स्तन क्यान्सरको बिरामी, धूमपान, सूर्तिजन्य पदार्थ सेवन, अधिक मदिरापान, पोषणरहित आहार लगायत कोर्टिकोस्टेराईड तथा हाइपरथाइराइडिज्मको समस्या भएका व्यक्तिले सेवन गर्ने औषधिको प्रतिअसरको परिणामस्वरूप पनि ओस्टियोपोरोसिसको समस्या हुने गर्दछ ।

विशेषगरी एसियन मुलका महिलाहरु, छिटो रजस्वला सुकेका महिलाहरु, हाडजोर्नी सम्बन्धी अन्य रोग लागेका व्यक्तिहरु, मृगौलाको समस्या, आमाशय तथा आन्द्रासम्बन्धी रोगहरु, बाथरोग तथा बाथजन्य रोगहरुको उपस्थिति, शारीरिक रुपले निष्क्रिय जीवनशैली भएका व्यक्तिहरु पनि ओस्टियोपोरोसिस हुन सक्ने उच्च जोखिम वर्गमा पर्दछन ।

ओस्टियोपोरोसिसको उपचार तथा रोकथाम के छ त ?

विभिन्न अवस्थामा ओस्टियोपोरोसिसको कारण र सिकिस्तपनलाई अध्ययन गरी उपचार पद्धति सुरु गरिन्छ । हड्डीमा खनिज पदार्थको अवस्थिति (BMD) जाँचको सहयोगले अबको १०बर्षमा हड्डी भाँचिने कत्तिको सम्भावना छ भन्ने कुरा अनुमान गरी उपचार सुरु गर्न सकिन्छ ।

औषधि सेवन लगायत जीवनशैली पद्धतिमा परिवर्तन गरी जोखिमका कारणहरुलाई हटाई रोकथाम गर्न सकिन्छ । क्याल्सियम र भिटामिन डी सेवन गर्नुको साथसाथै विशेषज्ञ चिकित्सकको परामर्श र निकट निगरानीमा विशेष किसिमका खाने औषधिहरु साथै बर्षमा एक पटक जोलेड्रोनिक एसिड सुई दिएर समयमै रोकथाम गर्न सकिन्छ ।

सन्तुलित भोजन (क्याल्सियम बढी पाइने खानाहरु जस्तैः ताजा फलफूल, बदाम, सागपात, माछा, माछाको तेल, दुध र दुग्ध पदार्थ इत्यादी) सेवन गर्ने, दिनहुँ केही समय घाममा बस्ने (जाडो मौसममा कम्तिमा १५ मिनेट र गर्मी महिनामा १०मिनेट)।

जसको मद्दतले शरीरमा प्रशस्त मात्रामा भिटामिन डी प्राप्त भई हाडलाई मजबुत हुन् मद्दत पुग्छ । हरेक हप्तामा ५ दिन दिनहुँ ३०मिनेट जति शारीरिक व्यायाम गर्दा पनि हड्डी बलियो हुन मद्दत पुग्दछ र ओस्टियोपोरोसिसको समस्याबाट केही हदसम्म टाढा रहन सकिन्छ ।

सामान्यतया दिनहुँजसो खेल्ने, उफ्रने, नाच्ने, व्यायाम गर्ने र शारीरिक रुपमा बढी सक्रिय रहने व्यक्तिहरुमा ओस्टियोपोरोसिस कम देखिन्छ । यस्तो समस्यावाट विशेषतः ज्येष्ठ नागरिकहरू पिडीत हुने भएकोले उमेर ढल्कँदै जाँदा ढाड दुख्ने समस्या देखिएमा ओस्टियोपोरोसिसको बारेमा पनि हेक्का राख्नु अत्यन्त आवश्यक हुन्छ ।

बेलैमा समस्याको निदान नभएको खण्डमा दुखाइको मात्र समस्या नभई स(सानो चोटले पनि हड्डी भाँचिने सम्भावना अत्यधिक रहने हुनाले उनीहरुको उमेर अनुसारको गुणस्तरीय जीवनका लागि प्राथमिकताका साथ समस्याको समयमै निदान एवं उपचार हुनु अत्यन्त आवश्यक छ । साथै ओस्टियोपोरोसिसको लागि सम्भाव्य जोखिम वर्गमा पर्ने व्यक्तिहरुले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै यसप्रति थप चनाखो हुन जरुरी छ ।

(डा. सिग्देल पाटन अस्पताल र आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्रमा कार्यरत वरिष्ठ वाथरोग विशेषज्ञ हुन् ।)

प्रतिक्रिया