रानाथारु समुदायले मनाए ‘खखडेहरा’

धनगढी । कैलाली र कञ्चनपुरका रानाथारु समुदायले खखडेहरा पर्व मनाएका छन् । रानाथारु समुदायको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको होरी (होली) पर्वको अन्तिम दिन खखडेहरा मनाउने गर्दछन् । रानाथारु समुदायका बस्तीहरुमा मंगलबार खखडेहरा मनाइएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीमा पनि मंगलबार राना थारु समुदायले होरी (होली) को अन्तिम दिन खखडेहरा पर्व मनाएर होरी समापन गरेका छन् । सोही ठाउँका ५५ वर्षीय रामभरोशे रानाले रानाथारु समुदायले ३८ दिन मनाउने होलीको अन्तिम दिन खखडेरा मनाउने गरेको बताए ।

उनले भने, ‘फागुपूर्णीमा भन्दा एक महिना अगाडिबाट अर्थात माघको पूर्णिमाका दिन गाउँका सबै राना समुदायका मानिसहरू होरी राख्न गाउँ नजिकै बनाइएको ठाउँमा भल्मन्सासहित गएर सात रङको चीर (कपडाको टुक्रा) सात वटा काठमा बाँधेर गाड्ने, त्यसमा तोरीको डाँठ राख्ने (होली राख्ने) र त्यस दिनबाट जिउँदो होली सुरु हुन्छ, माघको पूर्णिमादेखि फागुपूर्णिमा सम्म एक महिना होरी (होली) खेल्ने प्रचन हो ।’

‘एक महिनासम्म खेलिने होरी (होली)लाई जिन्दा (जिउँदो) होरीे भन्ने गरिन्छ’, रामभरोशेले भने, ‘जुन रातमा खेलिन्छ ।’

‘जिउँदो होली सबैका घरघरमा गएर आँगनमा ढोल (ढोलक) बजाएर गीत गाउँदै खेल्ने पुरानो चलन थियो’, उनले भने, ‘अहिले त त्यसरी होली खेल्दैनन् डिस्कोबारमा जस्तै डान्स गर्छन् अहिलेको पुस्ताले ।’ हामीले त झगीया (रानाथारु पहिरन) लगाएर होली खेल्थ्यौँ अहिले त त्यो लुगा पनि कसैले लगाउँदैनन् उनले भने, ‘हामीले विवाहमा लगाएको झगीया सजाएर राख्थ्यौँ, अनि होरीमा लगाएर खेल्थ्यौँ,आजकाल पहिले जस्तो होली छैन्, अहिले चलन नै हराउन थाल्यो ।’

एक महिनाको होली खेलेपछि फागुपुर्णिमा होरीमा आगो लगाउने प्रचलन रहेको बताउँदै रामभरोशेले भने, ‘होरीमा आगो लगाएको भोलिपल्ट गाउँ भरिका मानिसले होरी जलेर भएको खरानीको टीका लगाउँछन्,त्यो दिनबाट मरेको होली ८ दिन खेल्ने गरिन्छ ।’

दिउँसो खेलिने मरेको होली गाउँमा जसले बोलायो त्यसको घरमा गएर खेल्ने गरेको रामभरोशेले बताए । होरीको अन्तिम दिन खखडेहरा मनाएर होरीको विदाइ गर्ने परम्परा रहेको उनले बताए ।

उनले भने ‘खखडेहरा होरीको अन्तिम दिन हो, त्यो दिन विहान गाउँ भरीका सबै मान्छे खखडेहरा फुटाउन जाने गर्छन ।’ खखडेहरा फुटाउन जाँदा खपटेलका टुक्रा, माटोको मट्याङग्रा, कन्डी (सुकेको गोबर) एक लोटा पानी लिएर जाने रामभरोशेले बताए ।

खखडेहरा फुटाएर घर आउने सबैले घरमा मीठो मसिनो खाने चलन रहेको बताउँदै रामभरोशेले भने, ‘त्यसपछि बेलुका तिर भल्मन्साको घरमा जाने चलन छ,भल्मन्साले सबैलाई खाना खुवाउँछन त्यसपछि खाना खाइसकेपछि एकछिन फेरी होली खेलिन्छ र होली सकिन्छ ।’

त्यस्तै सोही ठाउँका भल्मन्सा खुशिराम रानाले पुर्खा देखि चलिआएको पर्वलाई जगेर्ना गर्नमा लागिरहको बताए । उनले भने, ‘होरी हाम्रो ठूलो पर्व हो, यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हामीले यो परम्परा जोगाउनु पर्छ,यो मिलनको पर्व पनि हो ।’ खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक विदा दिएको थियो ।

प्रतिक्रिया