कृषिमा आत्मनिर्भर बन्दै डुडुवा गाउँपालिका

खजुरा । बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको संख्या उलेख्य छ । यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएका छन् । पालिकाभित्र पशुपालनका साथै कृषि उत्पादन गरी जीविकोपार्जन गर्नेको संख्यामा कमी छैन । जिल्लामा सबैभन्दा बढी कृषि उत्पादन हुने पालिकाका रूपमा डुडुवा रहेको छ । भारतीय सीमासँग जोडिएको वडा–६ हिरमिनियाँ कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित छ ।

जिल्लाका आठ वटा स्थानीय तहमध्ये नदीनाला भएको पालिकाको रूपमा डुडुवालाई लिइन्छ । राप्ती नदी नेपाल र भारतमा एउटै नामले परिचित छ । बाँकेमा प्रवेश गर्दा यो नदी राप्तीसोनारी गाउँपालिका भएर डुडुवा गाउँपालिकामा प्रवेश गरेको छ । भारततिर जाँदा भारतको सीमा क्षेत्र र नेपालको बाँकेको नरैनापुर गाउँपालिका भएर बगेको छ ।

यस पालिकाले किसानका लागि अनुदान उपलब्ध गराउनाका साथै कृषि उत्पादन बढाउन कृषि प्रसार सेवा कार्यक्रमअन्तर्गत किसानको समूह बनाइ अनुदान दिने गरेको डुडुवाका किसान नेपाल धोबीले बताए । उनका अनुसार कृषि उत्पादन वृद्धिका लागि पालिकाले प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । अघिल्ला वर्ष पनि कृषिक्षेत्रलाई लक्ष्य गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले सुनाए ।

चालु आर्थिक वर्षमा कृषिप्रसार सेवा कार्यक्रमअन्तर्गत धान, मकै, गहुँ र तरकारीमा लाग्ने किटाणु नष्ट गर्न किटनाशक विषादी खरिद गरी प्रत्येक घरधुरीलाई वितरण गरिएको डुडुवा कृषि शाखा प्रमुख सुशील शर्माले बताए । उनका अनुसार कृषि साझेदारी कार्यक्रमअन्तर्गत किसान, किसानका समूह र सहकारीलाई अनुदान प्रदान गरिएको छ । ‘पाँच समूहलाई तरकारी र च्याउ उत्पादन गर्न दिइएको छ,’ प्रमुख शर्माले भने, ‘पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत किसानका पाँच समूहलाई तरकारी र च्याउ उत्पादनका लागि अनुदान प्रदान गरिएको छ ।’

व्यावसायिक नगदेबाली र बिउवीजनसम्बन्धी कार्यक्रमअन्तर्गत पाँच समूहका किसान, एउटा सहकारीलाई उन्नत जातको गहुँको बिउ अनुदानमा वितरण गरिएको र सिँचाइ समस्या समाधानका लागि पालिकाले साना किसान सिँचाइ कार्यक्रमअन्तर्गत सिँचाइ तथा निर्माण सामग्री वितरण गरिएको छ । किसान, समूह र सहकारीलाई पानी तान्ने मोटर, पाइप र पम्पसेट पनि वितरण गरिएको छ ।

पालिकाले भकारो सुधार कार्यक्रम र विदेशबाट फर्किएका युवा कार्यक्रमअन्तर्गत १ सय ६७ जनालाई तरकारी तथा बाख्रापालनका लागि अनुदान उपलब्ध गराउनाका साथै सबै वडामा २४ सहकारी समूहलाई धानको बिउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको किसान विजयकुमार यादवले बताए ।

पालिकाको कृषि शाखाका अनुसार उन्नत जातको बिउ वितरणअन्तर्गत ५० प्रतिशत अनुदानमा आठ समूह, पाँच सहकारीका ७ सय ६५ जनालाई गहुँको उन्नत बिउ वितरण गरिएको छ । सोही कार्यक्रमअन्तर्गत धानको उन्नत बिउ ५० प्रतिशत अनुदानमा आठ समूह र आठ सहकारी गरी ९ सय ५५ जनालाई वितरण गरिएको छ ।

यस्तै बाली संरक्षण सेवा विषादी वितरण कार्यक्रमअन्तर्गत ९ सय २१ किसानलाई कीटनाशक तथा ढुँसीनाषक विषादी वितरण गरिएको छ । माटोे परीक्षणका लागि मिनी माटो प्रयोगशाला स्थापना गरिए पनि सामग्री अभावका कारण सञ्चालन हुन नसकेको कृषि शाखा प्रमुख शर्माले जानकारी दिए । मागमा आधारित कृषि अनुदान कार्यक्रमअन्तर्गत तीन समूह र ६ व्यवसायिक अगुवा किसानलाई अनुदान प्रदान गरिएको छ ।

साना कृषि औँजार तथा यन्त्रउपकरण अनुदानअन्तर्गत ५० प्रतिशत अनुदानमा ४८ समूह छनोट भई १७ समूहले ०७८ माघ मसान्तसम्म भुक्तानी लिइसकेका छन् ।

यहाँ ४६ दशमलव २१ प्रतिशत खेतीयोग्य जमिन छ । क्षेत्रफलका हिसाबमा कुल ९ हजार १ सय २८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ४ हजार २ सय १८ दशमलव ९ मा मात्रै खेती हँुदै आएको कृषि शाखाले जनाएको छ । सबैभन्दा बढी वडा–२ मा १ हजार २९ हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ९२ दशमलव ५८ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । वडा–१ मा १ हजार ९ सय २० हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार २४ दशमलव १ हेक्टरमा खेती हुँदै आएको छ ।

वडा–३ मा १ हजार ४ सय ४९ हेक्टर जमिनमध्ये ७ सय ४० दशलमव ६७ हेक्टरमा, वडा–४ मा सबैभन्दा कम ७ सय ८ हेक्टर क्षेत्रफल जमिनमध्ये ३ सय ५१ दशमलव ३१ हेक्टरमा, वडा–५ मा १ हजार ९ सय ६८ हेक्टर जमिनमध्ये ४ सय ३१ दशमलव ३५ हेक्टरमा र वडा–६ मा १ हजार ५४ हेक्टर क्षेत्रफल जमिनमध्ये ५ सय ७८ दशलमव १८ हेक्टरमा खेती हुँदै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख शर्माले जानकारी दिए ।

प्रतिक्रिया