माङसेबुङको एउटै वडामा सवा दुई करोडको सिँचाइ कुलो निर्माण हुँदै

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकामा २ करोड १४ लाख रुपैयाँको लागतमा चार वटा सिँचाइ कुलो निर्माण सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का विभिन्न चार वटा टोलमा छुट्टाछुट्टै सिँचाइ कूलो निर्माण सुरु भएको छ । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ क्षेत्रमा सिँचाइ कुलो निर्माण सुरु भएको हो ।
स्थानीय लम्फेवा खोलाबाट तीन वटा सिँचाइ कुलो र फेवाखोलाबाट एउटा सिँचाइ कुलो निर्माण भएको हो । पाटीगाउँमा ४८ लाख रुपैयाँको लागतमा कृषि सिँचाइ कुलो निर्माण सुरु भएको छ । लम्फेवा खोलाबाट पानी ल्याउने गरी २ हजार २ सय मिटर लम्बाइको कुलो निर्माण हुनेछ । जसमध्ये ९ सय ९२ मिटर पक्की ढलानको काम हुने वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए । सो सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि पाटीगाउँ र आसपासका ४० घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

लम्फेवा खोलाबाटै पानी ल्याउने गरी गजुरमुखी धाम आसपासका लागि ४५ लाख रुपैयाँको लागतमा अमले सिँचाइ कुलो निर्माण सुरु भएको छ । त्यहाँ दुई हजार मिटर लम्बाइको कुलो निर्माण हुनेछ । जसमध्ये ८ सय ५० मिटर पक्की ढलानको काम हुनेछ । सो सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि गजुरमुखी धाम र आसपासका ३४ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै लम्फेवा खोलाबाटै पानी ल्याउने गरी दोभान क्षेत्रमा ५३ लाख रुपैयाँको लागतमा सातविसे सिँचाइ कुलो निर्माण सुरु भएको छ । सो कुलो एक हजार मिटर लम्बाइको निर्माण हुनेछ । जसमध्ये १ हजार १ सय २० मिटर पक्की ढलानको काम हुनेछ । सो सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि दोभान र आसपासका ३२ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसैगरी वडा–१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट पानी ल्याउने गरी तोभाङमा ६८ लाख रुपैयाँको लागतमा चउरीबोटे सिँचाइ कुलो निर्माण सुरु भएको छ । त्यहाँ तीन हजार मिटर लम्बाइको कुलो निर्माण हुनेछ । जसमध्ये १ हजार २ सय ७५ मिटर पक्की ढलानको काम हुनेछ । सो सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि तोभाङ र आसपासका ३१ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कुलो निर्माणका लागि स्विस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०÷२० प्रतिशत र स्थानीय उपभोक्ताहरूको १० प्रतिशत लागत साझेदारी रहेको छ । चार वटै कुलो चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको वडा अध्यक्ष योङहाङले बताए ।

‘माङसेबुङ गाउँपालिकाको मुख्य मेरुदण्डको रूपमा रहेको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सुरु भएको सिँचाइ कुलो निर्माणको कार्यलाई तीव्र बनाइएको छ’, वडा अध्यक्ष योङहाङले भने, ‘चार वटै कुलो चालु आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गर्ने गरी अगाडि बढाएका छौँ ।’ सो कुलो निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रका १ सय ३७ घरधुरी किसानहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।

युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायीकरणबाट आय आर्जन बढाउने उद्देश्यले स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया