कारागारभित्र मदिरा सेवन र जुवातास प्रकरण : छानबिन सुरु

मंगलबारे । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरु गरेको छ ।

समिति नै गठन गरेर छानबिन सुरु गरिएको हो । सञ्चारमाध्यममा कैदीहरुले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडियो सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो ।

सो समितिले काम थालिसकेको संयोजक थापाले बताए । भिडियो कहिलेको हो र को–को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुनुका साथै आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ ।

कानूनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडियो बाहिरिएको हो ।

इलाम कारागारमा भने कानूनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ ।

जेलर सुमित मगरले उक्त भिडियो कारागारभित्रकै रहेको स्वीकार गरेका छन् । उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यहीँ रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताए । कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० रहेका छन् ।

प्रतिक्रिया