दैलेखमा मानवअधिकार रक्षक सम्मेलन

दैलेख । मानवअधिकारको रक्षा र मानवअधिकार रक्षकहरूको सुरक्षा र पहिचानको विषय सरोकारवालाको ध्यानाकर्षण गराउन इन्सेकले आयोजना गरेको जिल्लास्तरीय मानवअधिकार रक्षकहरूको दुई दिने मानवअधिकार रक्षक सम्मेलन फागुन १४ मा दैलेखमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको सम्मेलनमा जिल्लाका चार वटै नगरपालिकाहरू दुल्लू, आठबीस, नारायण र चामुण्डाबिन्द्रासैनीका ४० बढी मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो । सम्मेलनले नौ बँुदे घोषणापत्र जारी गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

सम्मेलनले जिल्लाको मानव अधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन तथा मानवअधिकार रक्षकको सुरक्षा नीति निर्माणमा जोड दिई मानवअधिकार संरक्षणप्रति स्थानीय तह, सरकारका निकाय र सम्बन्धित सरोकारवाला निकायहरूलाई संवेदनशील हुन आग्रह गरेको छ ।

धार्मिक, सांस्कृतिक र लैंगिक विभेद तथा असमानता अन्त्य गर्न र उपेक्षित तथा उत्पीडित नागरिकहरूलाई मानवअधिकारको प्रत्याभूत गराउन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू विशेषगरी युवा र बालबालिकालाई विभेदरहित सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न सुझाव दिइएको छ ।
‘न्यायिक पहुँचमा ल्याउन, मानवअधिकारको प्रत्याभूति दिलाउन सरकारी प्रयासहरूको प्रशंसा गर्दै मानवअधिकार रक्षकको पहिचान र सुरक्षासम्बन्धी आदेश २०७७ को प्रभावकारी कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारको ध्यानाकर्षण गराउँछौँ’ घोषणापत्रमा भनिएको छ ।

मानवअधिकार घटनाका पीडित र साक्षीहरूको सुरक्षा, पीडितलाई होस्टाइल हुनबाट जोगाउनेपर्ने, मानवअधिकार रक्षकहरू सुरक्षा र संरक्षणको निम्ति अनुकूलको वातावरण बनाउन सुरक्षा निकाय, स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

मानवअधिकार सवालमा सामाजिक परम्परा, कुरीति र मानवअधिकार सवाल, जघन्य मानवअधिकार उल्लंघन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ र मानवअधिकार उल्लंघन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषय र मानव अधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिका समेत चार वटा विषयमा छुट्टाछुट्टै प्यानल छलफल गरिएको थियो ।

परम्परा, कुरीति र मानवअधिकार सवालमा कर्णाली प्रदेशसभाका सदस्य गमता विक, नारायण नगरपालिका उपमेयर तप्ताकुमारी थापा, इन्सेकका कर्णाली प्रदेश संयोजकलाई म्यानल अतिथिमा राखी सहभागी मानवअधिकार रक्षकहरूले समुदायका सवालहरू उठाएका थिए ।

जघन्य मानवअधिकार उल्लंघन घटना र न्याय प्राप्तिको अभियान सन्दर्भ नेपाल बार एसोसियसनका जिल्ला अध्यक्ष ललितबहादुर थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनार र सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम)का जेसी अफिसर लिला खत्रीले सहजीकरण गरेका थिए ।

न्याय प्राप्तिको अभियान सन्दर्भ र मानवअधिकार उल्लंघन घटनामा अनुसन्धान र पीडितको न्यायमा पहुँच विषयमा राष्ट्रिय मानवअधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बाँस्तोला, जिल्ला सरकारी वकिल कार्यालय दैलेखका जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महत र जिल्ला प्रहरी कार्यालय दैलेख इञ्चार्ज डिएसपी किशोर लम्साललाई प्यानल अतिथि बनाइएको थियो ।

त्यसैगरी मानवअधिकार सवालमा स्थानीय तह र सरोकारवालाको भूमिकामा नारायण नगरपालिका मेयर लोमन शर्मा, महिला सशक्तीकरण मञ्चका संस्थापक अध्यक्ष डिलकुमारी चन्द र नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष तीर्थ भण्डारीले सो विषयमा आआफ्नो धारणा राखेका थिए ।

प्यानल छलफलहरूमा सेसनहरू मानवअधिकार सम्वद्र्धनका लागि गरिएका प्रयास, कानुनको पालना, पीडितले न्याय पाउने प्रक्रिया, प्रक्रियागत जटिलता र समस्याहरूको समाधानको सवाल विषयमा सहभागीहरूले प्रश्न गरे ।
राज्यका सरकारी निकायका अधिकारीहरूले भइरहेका प्रयासहरू बारे जानकारी गर्दै मानवअधिकार संरक्षण तथा प्रवद्र्धन काममा आपसी सहकार्य सवालमा खुला अन्तरक्रिया भएको थियो ।

त्यस अवसरमा राष्ट्रिय मानवअधिकार आयोगको कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख लोकनाथ बास्तोताले बदलिँदो परिवेशमा मानवअधिकार रक्षकका काम, कर्तव्य, अधिकार र स्थानीय सरकारसँगको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकारकर्मीहरूको क्षमता अभिवृद्धि र सुरक्षा सवाल सार्वजनिक सरोकारको विषय बनेको बताए ।

नेपाल पत्रकार पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले सञ्चारकर्मीहरू मानवअधिकार रक्षक भएकोले भौतिक आक्रमणको जोखिम, विभिन्न किसिमका आरोप र असहयोग भोगिरहेर पनि सुशासन र मानवअधिकार प्रवद्र्धनमा जुटिरहेको व्याख्या गरे ।

कर्णाली प्रदेशसभाका सदस्य गमता विकले सामाजिक कुरीति हटाउन समाजका अगुवाहरू आत्मविश्वासका साथ अघि बढे कुरीति र कुसंस्कार हटेर जाने बताइन् । अधिकार प्राप्तिका लागि कर्तव्य पालना चेतना पनि जरुरी रहेको उनले औँल्याइन् ।

उद्घाटन कार्यक्रममा जिसस प्रमुख नमराज शाहीले मानवअधिकार रक्षकहरूले कसैको पक्ष नलिएर निःस्वार्थ, पवित्र मनले काम गर्नुपर्ने सुझाव दिए । उनले घरेलु हिंसा प्रमुख समस्या रहेको औँल्याउँदै रोकथाममा जुट्न आग्रह गरे ।
जिल्लास्तरीय मानवअधिकार रक्षक सम्मेलनका प्यानल छलफललगायत अभिमुखीकरण सेसनहरूमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका टेकनाथ आचार्य, ‘मानवअधिकार–२’ परियोजनाका कार्यक्रम संयोजक किरण पौडेल, कार्यक्रम अधिकृत परिस्कृत पौडेलले प्राविधिक व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया