चुलाचुली गाउँपालिकामा आफ्नै अस्पतालबाट स्वास्थ बिमा कार्यक्रम

इलाम । जिल्लाको चुलाचुली गाउँपालिकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहज गराउन सञ्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिका परिसरमै सञ्चालन भइरहेको चुलाचुली अस्पतालको नाममा बुधबारदेखि स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुआत गरेको हो । चुलाचुली गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै अस्पतालबाट स्वास्थ बिमा कार्यक्रम सुरुआत गरेको हो ।

अस्पतालमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्वास्थ्य बिमा कार्यक्रमको औपचारिक सुरुआत भएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष केरुङले गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भए त्यो सुविधा समेत उपलब्ध गराउने गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको बताए ।
‘चुलाचुलीवासीहरूले सामान्य बिमारी हुँदासमेत रेफर लिनका लागि झापाको दमकको अस्पतालसम्म धाउनुपर्ने र दमक अस्पतालको भिडले समेत हैरान बेहोर्नु परिरहेको थियो’ केरुङले भने, ‘चुलाचुलीवासी नागरिकको सहजताका लागि गाउँमै सुविधा दिन पालिकाकै अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत गरेको हो ।’

चुलाचुलीवासी नागरिकहरूलाई आफ्नै अस्पतालबाट स्वास्थ्य बिमाको सेवा दिन थालेपछि झापाको विभिन्न अस्पतालसम्म जानुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले गाउँपालिकामा रहेको अस्पताललाई रेफर सेन्टर मात्रै नबनाएर जटिल प्रकारका रोगको उपचारसमेत गर्न सक्ने बनाउन आग्रह गरे । कार्यक्रममा चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम सुवेदी, ५ नम्बर वडा अध्यक्ष बबिन राई, निवर्तमान वडा अध्यक्ष कालिदास भट्टराई, राजनीतिक व्यक्तित्वहरू कान्छा लावती, धर्म ढुंगानालगायतले पालिकामा स्थापना भएको अस्पतालबाट सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

चुलाचुली गाउँपालिका कार्यालय रहेको भवनबाटै पाँच बेडको चुलाचुली अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालमा अहिले दैनिक ५० बढी सेवाग्राहीहरूले सेवा लिँदै आएको अस्पतालका मेडिकल अधिकृत डाक्टर अर्पण कटुवालले जानकारी दिए ।

गाउँपालिकाले आफ्नै निजी स्रोतमा जनशक्ति नियुक्त गरी अस्पताल व्यवस्थापन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत कर्मचारीसँगै एकजना मेडिकल अधिकृत र एकजना ल्याब असिस्टेन्ड नियुक्त गरी अस्पताल व्यवस्थापन गरिएको सुवेदीले बताए ।
चुलाचुली गाउँपालिकामा हाल १५ बेडको अस्पताल निर्माणाधीन छ । वडा–२ मा निर्माणाधीन अस्पताल सम्पन्न भएपछि स्वास्थ्य बिमा कार्यक्रमसमेत सोही अस्पतालमा स्थानान्तरण गरिने सुवेदीले जानकारी दिए ।
चुलाचुलीमा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि गएको १८ फागुनमा चुलाचुली अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया