
म्याग्दी । बेनी नगरपालिकाको– ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।
बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए ।
‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ’, उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन्, हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ ।’
राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । उक्त ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ ।
उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न र कुराकानी गर्न सक्छन् ।
‘राहुल विक मेरो भैँसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो’, कुरिलाखर्कका सुरेश ढुंगानाले भने, ‘उहाँ काम गर्न सक्दिनँ, मलाई यही ठिक छ भन्नुहुन्छ ।’
ढुंगानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन् । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ ।
उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ । कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन् ।
‘ओढारमा बसेको देख्ने बित्तिकै खोजीनीति गरेको हो’, उनले भनिन्, ‘अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।’
प्रतिक्रिया