कृषकको शक्ति बढाउन लागौंँ : मुख्यमन्त्री गिरी

प्युठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलकको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको विकास गरि कृषकको शक्ति बढाउनुपर्ने बताएका छन् ।

उनले मुलुकको अहिलेको अर्थतन्त्र परनिर्भर भएकोले कृषि क्षेत्रको विकास गरेर किसानको उत्पादनलाई बजारीकरण गर्नुपर्नेमा जोड दिएका हुन् । ‘कृषि उपजले बजार पाएका छैनन्’, उनले भने, ‘किसानले दुःख पाएका छन् ।’

त्यसका लागि प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने उनको धारणा छ । प्रदेश सरकारले किसानको उत्पादनलाई प्रोत्साहन गर्ने गरि नीति बनाउन लागेको जानकारी गराउँदै उनले त्यसमा आवश्यक सहयोग गर्नसमेत आग्रह गरे ।

मुख्यमन्त्री गिरीले देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिनाभित्र समाधान हुने दाबी गरे । संघीय सरकारले त्यसको लागि नीति बनाउन काम गरिरहेको भन्दै आगामी तीन महिनामा समाधान हुने भन्दै ढुक्क हुन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा स्वर्गद्वारी प्युठान पाचौँ महोत्सव २०७९ को उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशकै प्रमुख गौरवको आयोजनाको रुपमा रहेको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले लामो सयमदेखि अलपत्र रहेको बाग्दुला–भिमगिठे सडकको निर्माण प्रक्रिया अगाडी बढाउन समेत पहल थाल्ने प्रतिवद्धता जनाए । महोत्सव मुल आयोजक समितिलाई जिल्लाको विकाससँग जोडिएका विभिन्न विकास योजनाहरुको काम अघि बढाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले प्रमुख अतिथि गिरीलाई सात सुत्रीए माग पेश गरेका छन् । नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना, बाग्दुला भिमगिठे सडकलगायतका विकासका योजना अघि बढाउन माग गरिएको छ ।

लुम्बिनी प्रदेश स्तरीय महोत्सवमा करिब आठ करोड रुपैयाँको कारोबार हुने मुल आयोजक समितिका सदस्य तथा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताए ।

यस महोत्सवबाट संकलन हुने रकमबाट वाणिज्य सभाहल र प्रदर्शनी स्थल निर्माण गरिने लक्ष्य राखिएको अध्यक्ष नकर्मीले बताए ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया