झिमरुकको सार्वजनिक सुनुवाई : पालिकाको सेवा र विकासप्रति प्रतिबद्धता

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले पालिकाको विकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । आज गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जनतालाई बढि भन्दा बढी लाभ पुग्ने गरी योजना बनाएको बताए ।

उनले जवाफदेही भएर झिमरुकको बिकास र समृद्धि अभियानमा लागेको बताए । पालिकाभित्र रहेका सम्भावनालाई समेट्ने गरी झिमरुकको बिकास र समृद्धिको लागि विज्ञसहितको कार्यशाला फागुन ८ र ९ गते तय गरेको समेत उनले जानकारी दिए ।

उनले पालिकाले ठूला योजनासहित जनताको आवश्यकताको आधारमा योजना तय गरिएको उल्लेख गरे । उनले १५ शैयाको अस्पताल, चिस्यान केन्द्र, ठूला सडक पूर्वाधारको योजना अघि बढाएको जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष प्रमोद पोखरेलले सार्वजनिक सुनुवाईले पालिकाको काम कारवाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

उनले अहिले पालिकाको योजनाको काम तीब्र रुपमा अघि बढेको जानकारी दिए । योजना समयमै सप्पन्न गर्न बिहानदेखि साँझसम्म निरन्तर खटिएको उनको भनाइ छ ।

उपाध्यक्ष पोख्रेलले जनताको आवश्यकतालाई क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका छन् । सबै पक्षलाई समेट्दै बिना आग्रह पूर्वाग्रह काम गरिएको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले यस आर्थिक वर्षको पुस मसान्तसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघर्ष मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा पालिकाले गरेका विभिन्न गतिविधिमा सवाल उठेका थिए । पत्रकार प्रज्वल पहाडीले नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमत पत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार सुजल श्रेष्ठले गरेको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि बुद्धिजीवी उपभोक्तालगायको उपस्थित रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया