देवी घर्तीको आवाजमा मन छुने गीत ‘उडेको चरी’ सार्वजनिक

काठमाडौं । लोक गायिका देवी घर्तीमगरको आवाजमा मन छुने गीत ‘उडेको चरी’ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो विमोचन गरी गीतकार, निर्देशक डिआर सुजनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत विमोचन समारोहमा टेलिश्रृङ्खला ‘सेतो घर’को पनि ट्रेलर सार्वजनिक गरिएको थियो । कार्यक्रममा डिआर सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनविद् डा. लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार विद्या कार्की, लक्ष्मण बिक्रम बस्नेत, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, कलाकार नन्दराम बादी, कलाकार पार्वती बादी, गायिका देवी घर्ती, नायिका सविना कार्की, नायिका रोशनी कार्की, अधिवक्ता भीमप्रसाद पौडेल, प्रिया पोखरेल, सूर्य ओलीलगायत अन्य कलाकारको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा राजकुमार रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ‘सेतो घर’ की नायिका प्रिया पोखरेलले स्वागत मन्तब्य राखेकी थिइन् ।

‘उडेको चरी’ नामक गीतमा गायिका देवी घर्तीलाई आवाजमा गीतकारडिआर सुजनले साथ दिएका छन् भने डिआरकै शब्द र संगीत रहेको छ । त्यस्तै गीतको भिडियोमा डिआर सुजनकै निर्देशन रहेको छ । भने रेशम दर्लामीको छायांकन रहेको भिडियो मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

भिडियोमा डिआर सुजन, रोशनी कार्की, सूर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादीलगायतको अभिनय छ । सुदुरपश्चिममा रहेका बादी समुदायका घटना र पीडाहरुलाई भिडियोमा चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन रहेको गीतकार सुजनको भनाइ छ ।

अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ । प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले डिआर सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए ।

गीतकार सुजनले आफ्नो उक्त गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताए । गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनले प्रष्ट पारे । सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ ।

प्रतिक्रिया