वित्तीय संस्था आफैँ घरजग्गा दलाल

अनुषा थापा

पछिल्लो समय वित्तीय संस्थामा पैसा निकाल्न जानेको भिड अत्यन्तै छ । बैंकलाई एक लाख रुपैयाँ फिर्ता गर्न गाह्रो परिरहेको छ । सहकारीको त कुरै नगरे पनि हुन्छ । अधिकांश कुलेलम ठोकिसकेका छन् । नभाग्ने सहकारीहरूले समेत ६ महिनादेखि बचतकर्तालाई साँवा र ब्याज दिएको छैन । आफ्नो पैसा सुरक्षित हुन्छ भनेर बचतकर्ताले वित्तीय संस्थामा लगेर आफ्नो जिन्दगीभरको मिहिनेत राखेका थिए । तर, अहिले त्यही वित्तीय संस्था सबैभन्दा बढी असुरक्षित सावित भएको छ ।

बैंक तथा वित्तीय संस्था पछिल्लो समय आफैँ घरजग्गा दलाल बनेका छन् । ऋणीले ऋण तिर्न नसकेपछि वित्तीय संस्था आफैँले घरजग्गा बेच्ने कार्यालय खोलेका छन् । वित्तीय संस्थाको यो उद्देश्य पनि फेल खाएको छ । घरजग्गा बेच्न कार्यालय त खोलेका छन् तर ग्राहक नआउँदा वित्तीय संस्था तनावमा परेका छन् । धितो बिक्री नहुँदा कतिपय बैंकहरू डुब्ने अवस्थामा पुगिसकेका छन् । हिजो दलालहरूले सर्वसाधारणलाई उच्चतम मूल्यमा जग्गा बिक्री गरेका थिए ।

दलालहरूले महँगोमा सर्वसाधारणलाई जग्गा भिडाए । बैंकले पनि घरजग्गा भन्नेबित्तिकै आँखा चिम्लेर कर्जा दियो । यता, कतिपय बैंक आफैँले जग्गा खण्डीकरण गरेर पनि बेचेका छन् । कर्जा लिएकाहरू ऋण तिर्न सुकुम्बासी बनेका छन् । उता, बैंकलाई पनि धितो लिलाम गर्न ठूलै सास्ती भएको देखिन्छ । एकातिर घरजग्गाको मूल्य छैन । बजारमा मन्दी ह्वात्तै बढेको छ । जनतासँग पैसा छैन । दुई वर्षअगाडि ४० लाखमा किनेको जग्गा २० लाखमा बेच्छु भन्दा पनि खरिदकर्ता भेटिँदैनन् ।

९५ प्रतिशतले बैंक र सहकारीबाट कर्जा लिएर घरजग्गा किनेका छन् । अधिकांशको घरजग्गा वित्तीय संस्थाको नाममा छ । केही वर्षयता उच्च मूल्यमा पुगेको घरजग्गामा यसरी मन्दी आउनेबित्तिकै सर्वसाधारण चर्लम्चुर्लुम्म डुबेका छन् । वित्तीय संस्था पनि टाट पल्टेका छन् । यता, बचतकर्तासमेत आफ्नो बचत जोगाउन दौडधुप गरिरहेका छन् । वित्तीय संस्थाको कर्जा लगानी नै जोखिममा परेपछि बचतकर्ताहरू आफ्नो पैसा निकाल्न हरसम्भव गरिरहेका छन् ।

पछिल्लो समय वित्तीय संस्थामा पैसा निकाल्न जानेको भिड अत्यन्तै छ । बैंकलाई एक लाख रुपैयाँ फिर्ता गर्न गाह्रो परिरहेको छ । सहकारीको त कुरै नगरे पनि हुन्छ । अधिकांश कुलेलम ठोकिसकेका छन् । नभाग्ने सहकारीहरूले समेत ६ महिनादेखि बचतकर्तालाई साँवा र ब्याज दिएको छैन् । आफ्नो पैसा सुरक्षित हुन्छ भनेर बचतकर्ताले वित्तीय संस्थामा लगेर आफ्नो जिन्दगीभरको मिहिनेत राखेका थिए । तर, अहिले त्यही वित्तीय संस्था सबैभन्दा बढी असुरक्षित सावित भएको छ ।

आफ्नो घरजग्गामा गरेको लगानी नउठेको र उठ्नेबित्तिकै फिर्ता गर्ने भन्दै वित्तीय संस्थाले सर्वसाधारणलाई दुःख दिने काम गरिरहेको छ । दुई करोड रुपैयाँ पर्ने घरजग्गा राखेर सर्वसाधारणले एक करोड रुपैयाँ लिए । त्योपनि घुस, सेवाशुल्क र महँगो ब्याज गरेर । अहिले वित्तीय संस्थाको कर्जा तिर्न नसक्दा सो छोड्नुपर्ने बाध्यता जाइलागेको छ । एकातिर घरजग्गाको मूल्य घटेको छ अर्कोतिर वित्तीय संस्थाले निरन्तर ब्याज बढाइरहेको छ । मालपोत कार्यालयहरूमा घरजग्गा नामसारी छैन ।

मालपोत कार्यालयहरू सामसुम छन् । अहिले बजारमा घरजग्गा बेच्ने यत्तिकै छन् । तर, खरिदकर्ता कोही भेटिदैनन् । अधिकांशलाई एउटै पिर छ ः मेरो घरजग्गा बैंकले लिलाम गर्ने भयो । कतिले त ऋण तिर्न नसकेर हात उठाइसकेका छन् । घर धितो राखेर दिएको कर्जा उठाउन बैंकलाई नै सास्ती भएको छ । बैंकले लिलाम सूचना निकालेपछि कतिपय आफैँले सामान निकालेका छन् । कतिपयको वडाध्यक्ष र प्रहरी प्रशासन राखेर भटाभट सामान निकाल्ने काम बैंकले गरिरहेको छ ।

दुई वर्षअघि दुई करोड मूल्याकंन भएको घरहरू ८० लाखमा बेच्छु भन्दा पनि कसैले किन्नलाई चासो देखाउँदैनन् । पैसा भए त किन्ने हुन् । पहिले सर्वसाधारणहरूले त्यही जग्गा धितो राखेर वित्तीय संस्थाबाट कर्जा लिँदै घर बनाए । कतिपयले घरको तलो थपे । अहिले ऋण तिर्न नसकेपछि आफ्नो लगानी डुब्यो । बैंकले जसरी भए पनि आफ्नो लगानी उठाइहाल्छ । बैंकहरूले पैसा नभएर घरजग्गामा कर्जा लगानी गर्न छोडेको छ । नयाँ लगानी गर्नलाई बैंक आफैँ पनि रित्तो छ ।

पछिल्लो समय धमाधम पुराना कर्जा असुल्ने कार्य भइरहेको छ । हिजो दलालहरूले बैंकबाटै कर्जा लिएर जग्गा प्लाटिङ गरे । दुई लाख आनामा पनि बिक्री नहुने जग्गा खण्डीकरण गरेर आनाकै ४० लाखमा बेचे । बैंकको पैसाबाट जग्गा दलालहरूले पनि कमाए । तर, जग्गाको मूल्यमा स्वाठ्ठै ओरालो लागेपछि दलालहरूमा भागदौड मच्चिएको छ । बैंकको ऋण तिर्न नसकेर उनीहरू पनि भागिसकेका छन् । जग्गा दलाल, बैंकका सञ्चालकको मिलोमतोमा धेरै ठगिएका छन् ।

सुरुमा जग्गा धनीसँग दुई लाख आनामा जग्गा किने । त्यसलाई खण्डीकरण गरेर टुक्राटुक्रा पारेर आनाकै ४० लाखमा बेचे । जग्गाको मूल्य आकासिँदा त दलाली र बैंकले पनि कमाए । २० लाख हुनेलाई ऋण दिएर बैंकले उक्त जग्गा बेच्यो । अहिले उसले ऋण तिर्न नसकेर बेहाल छ । बैंकले सो जग्गा लिलाम गर्न खोजेपछि उनीहरू त सडकछाप भए । यता, सुरुमा जग्गा बेच्ने पनि डुबे, उता प्लानिङ गरेको जग्गामा लगानी गर्ने पनि डुबे । वित्तीय संस्थाका सञ्चालकले जनताको पैसा सोच्दै नसोची घरजग्गामा लगानी गरे ।

जग्गाको मूल्यमा कहिल्यै गिरावट आउँदैन झनझन् बढ्दै जान्छ भनेर उनीहरूले सोचे । तर, अहिले त कायापलट भइसकेको छ । घरजग्गा खरिदबिक्रीमा ठूलो गिरावट आएको छ । अब घरजग्गाको मूल्य बढ्ने अवस्था देखिँदैन । यो तत्काल सम्भव छैन । बैंक र सहकारीमा पैसा छैन । कसले लगानी गर्ने ? मुलुकको अर्थतन्त्र टाँट पल्टिसकेको छ । सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगिसकेको छ । विदेशीसँग हात थापेर सरकारी कर्मचारीलाई तलब दिनुपर्ने बाध्यता छ ।

सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न पनि महाभारत छ । अनि घरजग्गा कसले किन्ने ? भएको पैसा पनि सबै लुकाइसकेका छन् । सरकारले घरजग्गामा कर्जा दिन अंकुशे लगाएन । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागले पहिल्यै कडाइ गरेको भए यस्तो अवस्था आँउदैनथ्यो । सरकारले नियमन नगर्दा वित्तीय संस्थाले आँखा चिम्लेर लगानी ग¥यो । बैंक र सहकारीको उद्देश्य नाफा मात्र कमाउनु हो । छिटो नाफा कमाउने देखेपछि यतै लगानी गर्ने काम भयो ।

शेरबहादुर देउवाको सरकार हटेर पुष्पकमल दाहाल प्रचण्ड आउने बित्तिकै सर्वसाधारणमा अलिकति भए पनि आशा जागेको थियो । घरजग्गाको मूल्य बढ्छ भनेर धेरैले सोचेका थिए । सेयर र निजी गाडीको मूल्य बढ्छ भनेर अपेक्षा गरेका थिए । जुन कल्पनामै सीमित भयो । प्रचण्डको सरकार बनेपछि केही दिन सेयरको मूल्य बढ्यो । तर, अहिले फेरि तल झरेको छ । बैंक–फाइनान्सबाट सेयर, गाडी र घरजग्गा धितो राखेर कर्जा लिएकाको न किस्ता तिर्ने समयावधि बढ्यो । न पूरानो ऋणलाई नयाँ नवीकरण गरिदिए न ब्याज घट्यो ।

अहिले बैंकहरूले भटाभटी घरजग्गा लिलाम गरिरहेका छन् । गाडी भकाभक तान्ने काम भइरहेको छ । सेयर पनि धमाधम लिलाम गरिँदैछ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले दुई दिने नौटंकी देखाए । न बैंकले धितो लिलाम गर्न छोड्यो न ब्याजदर घटायो । कर्जा नवीकरण गर्ने काम पनि बैंकद्धारा भएन् । उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छा नेकपा एमालेका कार्यकर्ता हुन् ।

अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि एमालेकै । त्यसैले शेखर गोल्छा व्यवसायीको पक्षमा नबोलेको स्पष्ट हुन्छ । उद्योग व्यवसायीहरू बैंकको ऋण तिर्न नसकेर धमाधम आत्महत्या गरिरहेका छन् । बैंकफाइनेन्सले बनाएका पीडितको पक्षमा गोल्छा नउभिनुको कारण पनि यही नै हो । नेपालको अर्थतन्त्र श्रीलंकाकै बाटोमा हिँडिसकेको छ । सरकारले अहिलेसम्म जसोतसो ढाकछोप गरिरहेको छ । विदेशीसँग लिएको ऋणको किस्ता तिर्न सरकार असमर्थ छ ।

ऋण नतिर्नेबित्तिकै नेपाल कालोसूचीमा पर्छ । भारत सरकारले नेपाललाई दिँदै आएको अनुदान कम गर्दै लगेको छ । अन्य मुलुकले पनि नेपाललाई ऋण दिन छोडेको छ । अनुदानमा पनि कटौती गर्दै आएको छ । बैंकहरूले १६ प्रतिशत ब्याज दिन्छुभन्दा पनि सर्वसाधारणले बैंकमा पैसा राख्दैनन् ।
सहकारीले ३६ प्रतिशत ब्याज दिन्छु भने पनि सर्वसाधारणलाई केही फरक परेको छैन । बरु भकाभक पैसा निकाल्ने काम भइरहेको छ । सहकारीहरू भागेका समाचार प्रत्येक दिन आइरहेका छन् । जनताको पैसा डुबिरहेको छ । वित्तीय संस्थालाई सर्वसाधारणले विश्वास गर्दैनन् ।

प्रतिक्रिया