देउवा विरुद्दको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुने माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सुनुवाइ सकिएपछि सर्वोच्चकी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई झिकाउने पनि निर्णय गरेको छ ।

पार्टीलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा दिन नहुने माग गर्दै अधिवक्ता विमल पोखरेलले रिट हालेका थिए । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न मंगलबार आदेश दिएकी थिइन् । त्यही आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको थियो । यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले यो रिट निवेदन दरपीठ गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ गते विश्वासको मत दिएको नेपाली कांग्रेसलाई संसद सचिवालयले माघ ४ गते प्रमुख विपक्षी दलको मान्यता दिएको थियो । प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै कांग्रेसले गत पुस २९ गते निवेदन दिएको थियो । तर कांग्रेसलाई माघ ४ गतेको मितिमा संघीय संसद सचिवालयले उक्त मान्यता दिएको थियो । प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधा माग्दै कांग्रेसले पुस २९ मा सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको थियो ।

प्रतिक्रिया