अगस्त्यमा नाजिर र मलिका

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकाको लागि निर्माण टिमले यी कलाकारसँग सम्झौता गरेको हो । निर्माण युनिटले चलचित्रको पोस्टर सार्वजनिक गर्दै कलाकारमा भित्रिएको जानकारी दिएका हो ।

दुई च्याप्टरमा निर्माण हुने चलचित्रका लागि केहीअघि अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका चलचित्रमा कसको जोडी बनेर देखिने छन्, त्यो भने खुलाइएको छैन । चलचित्रमा सौगात र नाजिर एक्सन भूमिकामा देखिने जनाइएको छ । निर्देशक स्वयंको कथा रहेको यस चलचित्रको दुवै च्याप्टरको कथा तयार पारिसकेको छ ।

चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जनाइएको छ । राजेश श्रेष्ठले छायांकन गर्ने यस चलचित्रका अन्य कलाकार पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए ।

चलचित्रमा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी बैशाख अन्तिमबाट छायांकन गर्ने जनाइएको छ ।

प्रतिक्रिया