क्रिकेटको मुख्य प्रशिक्षकमा मोन्टी देसाई 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार भारतका मोन्टी देसाईलाई औपचारिक रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देसाई लाई सोमबार सार्वजनिक गरेको हो । आधिकारिक रुपमा प्रशिक्षक नियुक्तिको घोषणा हुनुअघि नै देसाई ले माघ १५ गतेबाट नेपाली टोलीको प्रशिक्षण सम्हाली सकेका थिए । देसाई नियुक्तिको खबर बाहिरिएपछि क्यानले विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएको थियो । 

नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । जसमध्ये क्यानले पहिलो चरणमा पाँचजनासित अन्तर्वार्ता लिएको थियो । क्यानले नेपाली टिमको प्रशिक्षकका लागि देसाईसँगै, अस्ट्रेलियाका डेभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादसँग अन्तर्वार्ता लिएको थियो । त्यसबाट क्यानले मेन्टी देसाईलाई नियुक्त गरेको हो । 

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहिन थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता सकिनु अघि नै प्रभाकरले पद छाडेका हुन् ।

नेपाली टोली आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–दुई अन्तर्गत घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा छ । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित शृंखला आउँदो फागुन २ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन २ र ६ मा नामिबिया तथा फागुन ५ र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन ३ र ८ मा प्रतिस्पर्धा गर्नेछन् । लिगमा २४ खेल खेलेको नेपालले ८ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेलबिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमानले (४४), अमेरीका (३५), यूएई (२७) र पपुवान्युगिनी (पाँच)  अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन् । 

प्रतिक्रिया