आर्थिक अस्थिरता झेलिरेहका छिमेकीप्रति भारतीय चिन्ता

लोकनारायण सुबेदी

विश्वको आजको बद्लिँदो भू–राजनीतिक समीकरण र चीनको बढ्दो प्रभावका कारणले भारत आफ्ना वरिपरिका छिमेकीहरूसँगको सम्बन्ध अझ खस्किने स्थितिबाट निकै चिन्तित बनेर गुज्रिरहेको छ । जुन कुरा भारतको छिमिेकीप्रतिको विश्लेषणबाट प्रष्ट हुन्छ । त्यसैले भारतीयपक्षले भन्ने गरेको छ कि भारतका वरिपरिका देशहरूमा उदाउँदो भू–राजनीतिक तथा आर्थिक अनिश्चितताको स्थिति आज निकै ठूलो चुनौती र चिन्ताको विषय बनेको छ ।

भारतले आफ्ना वरिपरिका छिमेकी देशहरूको अस्थिर आर्थिक स्थितिको कस्तो अर्थ लगाउँदै छ ? केको चिन्ता गर्दै छ ? त्यसबाट छिमेकी देशहरूले सिक्नुपर्ने आवश्यकता छ । चर्को ब्याजको चिनियाँ ऋणका कारण आर्थिक अस्थिरताको भुमरीमा परेको श्रीलंकालाई आफूले उद्धार गरेको र डुब्न लागेको स्थितिबाट बाहिर निकालेको दाबी भारतले गर्दैैैछ । भन्दैछ कि श्रीलंकाले आफ्नो सशस्त्रबललाई घटाउँदै लगेर सानो आकार बनाउनु एउटा राम्रो काम हो । यसले श्रीलंकाको आर्थिक भारलाई केही हल्का बनाउँछ र राज्यकोष माथिको दबाब घट्छ । भारतले श्रीलंकाले ठूलो सैनिक बल राख्नु उचित र आवश्यक पनि छैन भन्ने उपदेश समेत दिँदै छ ।

उता विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता आर्थिक संस्थाहरूले भारतीय अर्थ ब्यवस्थाका बारेमा केही आशा दिलाउन खोजिरहेका छन् । खाश गरेर जिडिपी अभिवृद्धि हुने अनुमान तिनले गरेका छन् । तर, भारत वरिपरिका छिमेकी देशहरूमा उदाउँदो भू–राजनीतिक स्थिति भारतका लागि चिन्ताको एउटा प्रमुख स्रोत रहेको देखिन्छ । अनि यो उपमहाद्वीपमा लडखडाउँदो अर्थ व्यवस्थाको स्थितिलाई त्यसले अझ खराब तुल्याउने देखिँदैछ । भारत यतिबेला विश्वको गिर्दो र मन्दीआक्रान्त अर्थ व्यवस्थाका बीच आफूलाई तुलनात्मक रूपमा सुरक्षित स्थानमा हुन सक्छ तर छिमेकी देश श्रीलंका, पाकिस्तान, नेपाल, म्यानमार आदि देशहरूलाई भारतले टाट पल्टिने अवस्थामा पुग्न थालेको र ठूलो ऋण–जालको दिशामा बढिरहेको औँल्याउन थालेको छ । श्रीलंका र पाकिस्तानजस्तो नेपाल चिनियाँ ऋणमा नडुबेको यथार्थतालाई भारतले नजरअन्दाज गरिरहेको छ । भारतले बंगलादेश र माल्दिभ्सको आर्थिक स्थितिलाई पनि त्यति सहज नभएको र गम्भीर नकारात्मक जोखिमको चुनौती झेलिरहेकै मान्दछ ।

यसका अतिरिक्त चीनको केही मन्दकिसिमले चलिरहेको अर्थव्यवस्था र निकै अनियन्त्रित बन्न खोजेको कोभिड–१९ को नयाँ भेरिएन्ट बिए–७ को स्थितिलाई समेत ध्यानमा राखेर भारतले रणनीति बुनिरहेको छ । चीनसँगको सीमा विवाद र बेलाबेलामा हुने गरेका सैनिक झडप समेतबाट उत्पन्न हुने गरेको भू–राजनीतिक स्थिति जस्ता मुद्दाहरूलाई पनि उठाउने चेष्टा गर्दै आएको छ । ताइवानसँग अमेरिकी सम्बन्धले चीन र अमेरिकाकाबीच बढ्दो गतिरोधले पनि स्थितिलाई अझ खराब तुल्याइरहेको समेत भारतको आँकलन छ । चीनमा कोभिड नियन्त्रण गर्न गरिँदै आएको निकै कडा लकडाउन र त्यसले उत्पन्न गर्ने स्थिति, चीनलाई कथित लोकतान्त्रिक तुल्याइन पर्ने आवश्यकता र चिनियाँ अधिकारीहरूको कथित मनोमानीले समेत भू–राजनीतिक स्थितिलाई धेरै कठिन तुल्याइदिएको आँकलन भारतले गरिरहेको छ । भारत र चीनबीच शीत युद्ध जस्तो स्थिति रहिरहनुले केवल बिकासको मूल्यमा रक्षा खर्च बढाउने कारण बन्न जाने कुरा पनि भारतले उल्लेख गर्ने गरेको छ ।

पाकिस्तानमा बढ्दै गएको खराब स्थितिका सन्दर्भमा भारतले सबैभन्दा चिन्ताजनक मान्दै आएको छ । राजनीतिक अस्थिरता, विदेशीमुद्रा भण्डार घटेर ४ दशमलव ५ अर्ब डलरमा पुग्नु र केवल १० दिनको आयात धान्ने मात्र स्थितिबाट गुज्रिनु पकिस्तानका लागि खतराको संकेत हो । अनि त्यो भन्दा पनि अझ खतरा एफएटिए, किबर पख्तुख्वा र बलुचिस्तानमा गृहयुद्ध जस्तो आभासी स्थिति रहेको समेत भारतले औँल्याउने गर्दछ । यद्यपि पाकिस्तानको आन्तरिक कलह भारतका लागि एक किसिमले ऊर्जा हो । यस स्थितिले पाकिस्तान आन्तरिकरूपमा नै फसिरहन्छ र भारत बिरुद्धको सीमा दुस्साहसबाट बच्दछ भन्ने पनि उसको निष्कर्ष छ । कश्मिरलाई लिएर पाकिस्तानमा भारतको विरोध वर्षांैदेखि चलेर आएको छ । यसले गर्दा भारतको सुरक्षालाई सबल राख्ने र जोखिम बढ्न नदिने कुरा गर्दै भारतले रक्षा बजेट पनि बढाउनु पर्ने आधार औँल्याउन छोड्दैन ।

म्यानमारको आर्थिक स्थिति पनि सन्तोष जनक नरहेको र त्यहाँको सैनिक शासन सत्ताले आर्थिक स्थितिमा ध्यान दिन पनि नसकेको भारतले औँल्याउँदछ । अनि त्यस्तो स्थितिमा केवल सत्तामा कायम रहिरहन प्रायः सैनिक राजनीति लाद्ने गर्दै आएको जुण्टाले काम गरिरहेको आँकलन भारतको छ ।

नेपालका बारेमा पनि भारतले संकीर्ण स्वार्थको दृष्टिकोण बढाइरहेको छ । नेपाल चीनतिर ढल्केको कथित हौवा पिटाएर आफ्नो चौतर्फी प्रभाव क्षेत्रबाट नेपाल कतै उम्किन त लागेको छैन भन्ने कुरामा सबैभन्दा बढी चिन्तित रहेको देखिँदै छ । नेपालभित्र आफ्नो पकड जमाउन हरकिसिमले अझ अग्रसर हुँदै गरेको देखिँदै आएको छ । सांस्कृतिक रूपले समेत नेपाल भारतको धेरै नजिक छ भन्ने एक पक्षीय धारणा अघि सार्दै आएको छ । भारतमा गोर्खा सेना रहेको पनि उल्लेख गर्दै आएको छ । तर लामो खुला सीमा रहेको र यसबाट आतंकवादी घुसपेठ, अवैध व्यापार, अवैध लागू पदार्थको ओसारपसार, मुद्राको अपचलन र तस्करी हुने गरेको पनि औँल्याउँदै आएको छ । यसमा नेपाल मात्र दोषीजस्तो देखाउने पनि गर्दै आएको छ । भारतले नेपाली सीमा मिचेको छ । नेपालको अर्थतन्त्रमा पकड जमाएको छ । आफ्नो पकडबाट नेपाल बाहिर निस्कन नसकोस् भन्ने भारतले चाहेको प्रष्टै देखिन्छ ।

अनि बंगलादेशमा पनि ‘चीनको बढ्दो उपस्थितिले’ भारत चिन्तित देखिन्छ । अन्य कुरा त्यत्ति महत्वका नरहेको भए पनि बंगालादेशलाई पनि भारत आफ्नो छायामा राख्न चाहन्छ । कोभिड महामारी पछि अर्थतन्त्र मन्दगतिमा चलेको भन्ने औँल्याउँदै बंगलादेशमा पनि आफ्नो पकड जमाइराख्न भारत उद्धत छ । सत्ता उल्टाउने र राजनीतिक अस्थिरता खडा गर्ने गरेको कथा पनि भारतले बुन्ने गर्दै आएको छ । माल्दिभ्सलाई त्यति उल्लेखनीय रूपमा भारतले लिएको देखिँदैन । तर त्यहाँ पनि चीनको बढ्दो प्रभावकै आधारमा भारतले मूल्यांकनको मुख्य मुद्दा बनाउने गर्दै आएको देख्न सकिन्छ ।


समग्रमा विश्वको आजको बद्लिदो भू–राजनीतिक समीकरण र चीनको बढ्दो प्रभावका कारणले भारत आफ्ना वरिपरिका छिमेकीहरूसँगको सम्बन्ध अझ खस्किने स्थितिबाट निकै चिन्तित बनेर गुज्रिरहेको छ । जुनकुरा भारतको छिमिेकी प्रतिको विश्लेषण्बाट प्रष्ट हुन्छ । त्यसैले भारतीयपक्षले भन्ने गरेको छ कि भारतका वरिपरीका देशहरूमा उदाउँदो भू–राजनीतिक तथा आर्थिक अनिश्चितताको स्थिति आज निकै ठूलो चुनौती र चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया