सुरु भयो टेलिकमकाे ‘फाइभजी’, कहाँ कहाँ चल्छ ?

काठमाडौं । नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

‘हामीकहाँ फाइभजी चल्ने मोबाइल डिभाइसहरू त्यति धेरै रहेनछन्,’ टेलिकमका प्रवक्त्ता शोभन अधिकारीले भने, ‘सामसङलगायत मोबाइल उत्पादकहरूलाई आफ्ना फाइभजी डिभाइस ल्याएर परीक्षण गर्न हामीले अनुरोध गरिरहेका छौं । अन्य कुन-कुन सेटमा फाइभजी चल्छ, ती पहिल्याएर निर्माताहरूलाई परीक्षणका लागि अनबोर्डिङ गर्ने काम भइरहेको छ ।’

केही समयपछि पोखरा, वीरगन्जलगायत अन्य स्थानमा पनि परीक्षण गर्दै जाने कम्पनीले जानकारी दिएको छ । दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

प्रतिक्रिया