क्यानविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । क्रिकेट समर्थकहरुले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध क्रिकेट समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेको हो ।

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ गरेको भन्दै क्रिकेट समर्थकहरुले क्यानविरुद्ध प्रदर्शन गरेको हो । सन्दीपको बलात्कार मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा सामेल गरेको हो ।

सन्दीप शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भईसकेका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अनुमति दिएपछि सन्दीपलाई टिममा सामेल गरिएको क्यानले भनाई छ । क्यानको निर्णयविरुद्ध समर्थकले सामाजिक सञ्जालमा ‘बाइकट क्यान’ अभियान समेत चलाएको छ । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

क्यानले निर्णय फिर्ता लिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ क्यानले गलत गरेको बताएका छन् ।

हतारोमा गलत निर्णय भएको भन्दै उनले तत्काल फिर्ता लिन माग गरेका हुन् । अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्, ‘मेरो धारणा प्रष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।’

एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको उनले बताएका छन् । कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’

प्रतिक्रिया