नारायणका १ सय ५ आमा प्रोत्साहित

दैलेख । नारायणका १ सय ५ आमाहरू प्रोत्साहित भएका छन् । नारायण नगरपालिले कुपोषणको अवस्था शून्यमा ल्याउन असल आमालाई प्रोत्साहन गरेको हो । असल आमा प्रोत्साहनमा तोकेको मापदण्ड पूरा गरेका १ सय ५ जना असल आमालाई प्रोत्साहन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

असल आमा हुन २० वर्ष उमेर पुगी विवाह गरेको हुनुपर्ने, चारपटक गर्भ जाँच गरेको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनुपर्ने, बच्चालाई पूर्ण खोप लगाएको हुनुपर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने मापदण्ड तय गरिएको नारायणका स्वास्थ्य शाखाप्रमुख नगेन्द्र हमालले बताए । उनले नगरपालिकाका ११ वटा वडा मध्ये नौ वडाका ८४ जनालाई शुक्रबार सम्मान गरिएको बताए । वडा–१० र ११ का २१ असल आमाहरूलाई वडामै पुगेर प्रोत्साहन गरिने उनको भनाइ छ ।

नगरप्रमुख लोमन शर्माले नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, बच्चालाई पोषणयुक्त खाद्य बस्तु खुवाउने, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, महिला र बालबालिका मैत्री सेवा विस्तार गरी नागरिकलाई निरोगी र स्वावलम्बी बनाउन असल आमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको बताए । उनले आगामी आर्थिक वर्षमा समेत जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम निरन्तर गरिराख्ने प्रतिबद्धता व्यक्त गरे ।

नारायण नगरपालिकाका–६ का वडाध्यक्ष एवं प्रवक्ता जनकप्रसाद न्यौपानेले समृद्ध नगर निर्माण गर्न असल आमा प्रोत्साहन, गर्भवती महिलासँग उपमेयर, ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरणजस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीको सिफारिसमा मापदण्ड पुगेका १ सय ५ जना असल आमाहरूलाई प्रोत्साहन बापत दुई हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको बताए ।

उनले भने, ‘बाल विवाहलाई शून्यमा झार्न, नगरमा जन्मने हरेक बच्चा स्वस्थ हुन् भनेर पूर्व प्रसूतिदेखि १५ महिनासम्म स्वास्थ्यका प्रोटोकल पूरा गरेका आमाहरूलाई पे्रत्साहन गरेका छौँ । यस्ता अभियानले बालविवाह न्यूनीकरण, पाठेघर खस्ने समस्यामा समेत कमी, स्वास्थ्यका मापदण्ड पूरा गरे सम्मानित भइँदो रहेछ भन्ने कुराको सन्देशका साथै अब जन्मने बच्चाहरू स्वस्थ हुनेछन् भन्ने अपेक्षा गरिएको छ ।’

प्रतिक्रिया