अविरल कलायात्रामा मोक्तान

उनका कला आलङ्कारिक, रूपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक ढङ्गले विकास भएको पाइन्छ । मौलिकता भर्ने क्रममा उनले आलङ्कारिक पक्षलाई सरल र सहज ढङ्गले क्यानभासमा प्रस्तुत गरेको पाइन्छ

विषय प्रवेश

मानवीय सीप र सिर्जनाको उच्च रूप कला हो । कलामार्फत मानिसले आफ्नो संवेगलाई चित्रण वा मूर्तनद्वारा आकृतिमा ढाल्छ । समाजमा कला राज्यद्वारा प्रवद्र्धित राजकीय र लोक वा जनताद्वारा संरक्षित लोककला गरी दुई परम्परामा आधारित रहेर बनाइएको हुन्छ । राज्यद्वारा संरक्षण प्राप्त कलाले राजकीय मान्यता पाएको हुन्छ । जसमा राजा महाराजा, भाइभारदार, धर्म तथा तिनका विषयमा आधारित हुन्छन् । जनताले आफ्नो संस्कार, संस्कृति, समाज, प्रकृति, प्राणी तथा यस चराचर जगतका विषयलाई रङ, रेखा तथा आकृतिद्वारा अभिव्यक्त गर्ने कलालाई लोककलाका रूपमा चिनिन्छ । समाजमा विकास भएको धर्म र विश्वासमा आधारित रहेर बनाइने कलालाई लोक÷परम्परागत कलाको रूपमा लिइने गरिन्छ । नेपालमा पनि लोक÷परम्परागत कलाको विकास हजारौं वर्षअघिदेखि भएको पाइन्छ । विशेषगरी, बौद्ध तथा हिन्दु धर्ममा केन्द्रित रहेर शास्त्रीय (प्रतिमालक्षण) रूपमा बनाइने कलालाई नेपालमा थाङ्का तथा पौभाका नामबाट चिनिन्छ । काठमाडौं उपत्यका, हिमाली भेग तथा बौद्ध धर्म मान्ने पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले थाङ्का बनाउने गर्दछन् । त्यस्तै, पौभा काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले हिन्दु तथा बौद्ध धर्ममा आधारित रहेर बनाउने गर्दछन् । यी दुवै परम्पराको विकास नेपालमा लिच्छविकालदेखि नै भएको मानिन्छ । नेपालको हिमाली, उच्च पहाडी तथा पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायले बनाउने थाङ्का कला आफ्नै मौलिकताले भरिएको छ । यसको परम्परामा कलाकारको वाङछु मोक्तान लामा अर्थात् आरके मोक्तान लामा विगत चार दशकदेखि सक्रिय रूपमा क्रियाशील छन् । उनका कलामा बौद्ध धर्म र दर्शनका विविध आयाम र तिनको भावधारा प्रकट भएको पाइन्छ ।

समाजमा कला राज्यद्वारा प्रवद्र्धित राजकीय र लोक वा जनताद्वारा संरक्षित लोककला गरी दुई परम्परामा आधारित रहेर बनाइएको हुन्छ । राज्यद्वारा संरक्षण प्राप्त कलाले राजकीय मान्यता पाएको हुन्छ । जसमा राजा महाराजा, भाइभारदार, धर्म तथा तिनका विषयमा आधारित हुन्छन् । जनताले आफ्नो संस्कार, संस्कृति, समाज, प्रकृति, प्राणी तथा यस चराचर जगतका विषयलाई रङ, रेखा तथा आकृतिद्वारा अभिव्यक्त गर्ने कलालाई लोककलाका रूपमा चिनिन्छ

तामाङ शैलीबाट बढी प्रभावित उनका कलामा प्रतीकात्मक रूपमा जीवन र जगतका विभिन्न पाटालाई केलाएको देखिन्छ । बौद्ध धर्म र दर्शनमा व्याख्या भएका धार्मिक तथा सांस्कृतिक मान्यतालाई कलात्मक रूपमा उद्बोधन गरिएको हुन्छ । नेपाली कलाको ऐतिहासिक विरासत र गौरवलाई कलाकार आरकेले आफ्नो क्यानभासमा उतार्दैै आएका छन् ।

परिचय

वाङछु मोक्तान लामा अर्थात् आरके मोक्तान लामा नेपाली परम्परागत थाङ्का कला जगतमा परिचित नाम हो । उनका बुबाको नाम नोर्बु घ्याम्छो लामा र आमाको नाम नोर्गिन डोल्मो हो । सिन्धुपाञ्लचोकको साविकको अत्तरपुर–१ अर्थात् लिसङ्खुपाखर–४ मा विसं. २०१५ साल माघ १५ गते जन्मिएका उनी हाल काठमाडौंको बौद्धस्थित तिनचुलीमा रहेर कलाकर्ममा सक्रिय छन् ।
सानैदेखि थाङ्का कलामा लागेका मोक्तानले विद्यालय शिक्षा पूरा गर्न पाएनन् । उनी सानैदेखि कलामार्फत नै आफ्नो जीवनलाई सार्थक बनाउने काममा अग्रसर भइरहे । जन्म गाउँ तथा राजधानीको ओहोरदोहोरले उनको कलायात्रालाई अगाडि बढाउन निकै मद्दत पुग्यो । थाङ्का बनाउनु र त्यसको व्यापार विनिमय गर्नु एक कलाकारका लागि निकै चुनौतीपूर्ण काम हो । सीप र दक्षताले गर्दा उनको पहिचान थाङ्का कलामा बेग्लै तरिकाले रहन गयो । कलाक्रेता र पारखीले उनका कलालाई रुचाउन थालेपछि व्यापारी पनि मोक्तानका कला किन्न अग्रसर हुन्थे ।

कलायात्रा

आरकेको बाल्यकालमा गाउँघरमा खेतीकिसानी तथा अन्य घरायसी कामकाज गरेरै समय बितेको थियो । सानैमा कलाप्रतिको रुचिले उनलाई यस क्षेत्रमा अग्रसर हुन घरपरिवार तथा आफन्तले सहयोग गरे । गाउँमा धार्मिक, सांस्कृतिक, सामाजिक तथा संस्कारकर्ममा प्रायः थाङ्का चित्रको महत्व रहेकाले सानैदेखि उनमा त्यसको प्रभाव पर्न गयो । थाङ्का चित्र र चित्र बनाउने कलाकार÷व्यक्तित्वलाई सामाजिक रूपमा मिल्ने सम्मान र महत्वले उनको बालमस्तिष्कमा गहिरो छाप प¥यो र यस कलाप्रति मोह बढ्दै गयो ।

उनले १३ वर्षको उमेरमा पहिलो पटक २०२८ सालमा थाङ्का बनाउन सुरु गरेको सुनाए । उनले पहिलो पटक मैत्रेय बुद्धको चित्र बनाएका थिए । थाङ्का चित्र बनाउनु निकै कठिन काम हो । गाउँमा कपडा र रङ सहजै नपाइने भएकाले स्कुल तथा घरका भित्तामा उनले अँगार, खरीढुंगा तथा चकले चित्र कोरेको सुनाए । कापीमा किताबमा बनाइएका दृष्टान्तचित्रको नक्कल गर्ने, गुम्बामा रहेका थाङ्का चित्र हेर्ने, तिनको आकार र रूपलाई नजिकबाट नियाल्ने तथा थाङ्का बनाउने कलाकारकहाँ पुगेर चित्र बनाएको हेर्ने गर्दागर्दै उनमा कलाकारी व्यक्तित्वको निर्माण नजानिँदो तवरले विकास भयो ।

कलाकार आरकेका अनुसार एकदिन एकजना गाउँलेले बुबालाई तेरो छोराले ‘थाङ्कु’ लेख्न जान्दछ भनिदिएछन् । त्यसपछि त बुबाले आफ्ना लागि रङ किनेर ल्याइदिएको उनी सम्झिन्छन् । उनले बनाउने चित्र चाहिँ एकजना मामा पर्ने बुद्ध लामा कहाँबाट मैत्रेय बुद्धको ल्याइदिएछन् । यसरी उनको थाङ्का बनाउने यात्रा प्रारम्भ हुन्छ । त्यसपछि बुबाले आरकेलाई चित्र बनाउन अभिप्रेरित गरिरहे । यो २०२८ सालतिरको कुरा हो । उनले बुबाले ल्याइदिएको रङ र मैत्रेय बुद्धको चित्र ११ दिन लगाएर सकाएको सम्झिए ।

गाउँमा उनका ठूलो बुबाले थाङ्का बनाउँथे । आरके आठ वर्ष हुँदादेखि नै ठूलो बुबाले बनाएका थाङ्का हेर्ने र बेलाबेलामा चित्र कोर्ने गर्दागर्दै उनलाई सिक्न सजिलो भयो । ठूलो बुबासँग चित्र सिक्ने क्रममा हजुरआमा र आमाले खाजा बनाएर दिन्थे । कैले मकै, आलु बोकेर ठूलो बुबाकहाँ कला सिक्न जाने गरेको सम्झँदै त्यसले आफूलाई कलामा लाग्न अभिप्रेरित गरेको उनले बताए । ठूलो बुबाको घर चाहिँ एक घर तल थियो ।

मोक्तानका ठूलो बुबाले थाङ्का मात्रै नबनाएर टुङ्ना पनि राम्रो बजाउँथे । कलात्मक माहोलमा मोक्तानले कला सिक्ने अवसर पाएका थिए । ठूलो बुबाले बजाएको टुङ्नाको धुन सुन्दै उनले चित्र बनाएको कुरा सुनाए । कहिलेकाही धुनमा भुल्न थाले काम गर्न अह्राइहाल्थे । ठूलो बुबाले बनाएका चित्रमा रङ भर्न भने उनी शौचालय गएको मौका कुरेर बसेको सम्झिँदै उनी भन्छन्, ‘शौचालय घरबाट अलि पर थियो । उहाँ जब शौचालय जानुहुन्थ्यो, उहाँले बनाइराखेको चित्रमा रङ भरिदिन्थँे । केटाकेटी स्वभाव भएर होला उहाँ हिँडेर आएको टकटक सुन्नेबित्तिकै भागिहाल्थेँ । उहाँको नजिकै पर्दैैनथैं । पछि फेरि बोलाउनुहुन्थ्यो । म फेरि उहाँसँग सिक्न जान्थें ।’

यसरी बारम्बार यसरी ठूलो बुबाले बनाएको चित्रमा रङ भर्न थालेपछि उनमा थाङ्का कलाप्रतिको आत्मविश्वास झनै बढेर गयो । उनको कलाप्रतिको लगावमा हजुरआमा, बुबा, आमा, ठूलो बुबाले पनि सहयोग गर्दै गए र निरन्तर साधनामा अगाडि बढ्ने उत्प्रेरणा भरिदिन्थे । परिवारको साथ र सहयोगले उनको कलायात्राले मूर्तरूप लिँदै राजधानी काठमाडौंसम्म ल्याइपु¥यायो । उनी काठमाडौं आएपछि थाङ्का बनाउने कामलाई तीब्रता दिए । त्यस्तै, देश विदेशका विभिन्न गुम्बामा समेत उनले थाङ्का बनाउने अवसर पाउँदै गए । यो क्रम अहिलेसम्म जारी नै छ ।

कला प्रदर्शनी कलाकारका लागि जरुरी र महत्वपूर्ण हुन्छ । देश विदेशमा कला प्रदर्शनी गर्दा कला र कलाकारको महत्व उजागर भइ पहिचानसमेत स्थापित हुन सक्छ । आरकेले पनि देशविदेशमा आफ्ना कलाकृतिको प्रदर्शन गरेर प्रशस्त ऊर्जा प्राप्त गरेका छन् ।

शैलीगत प्रवृत्ति

कलाकार आरकेको कलायात्राको प्रारम्भमा बनाएका थाङ्काहरू सिकारू चरणमा बनाएका हुन् । यस्ता चित्रहरूमा रेखा र रङमा परिपक्वता देखिन बाँकी नै छ । गुरुका रूपमा उनले ठूलो बुबाबाट धेरै कुरा सिके । जब उनले आफ्नो कलायात्राको क्रममा गुरुबाट छुट्टिएर एकल रूपमा काम गर्न थाले तब गुरु र आफ्नोपन जोड्ने क्रममा उनले बनाएका थाङ्कालाई दोस्रो धारको विकासको चरणका रूपमा बुझ्नुपर्ने हुन्छ । यसलाई उनको संक्रमणकालीन धारका रूपमा पनि बुझ्न सकिन्छ । तेस्रो धारको विकास भने उनको आफ्नोपन विकास भएको चरणका रूपमा बुझ्नुपर्ने हुन्छ । जुन धार अहिलेसम्म जारी छ । यस खालका चित्रहरूमा उनले परम्परागत कलाको शास्त्रीय मान्यता र विधि विधानलाई नभत्काइकन् त्यसमा आलङ्कारिक विषयमा मौलिकता थप्ने काम गरे । हुन त उनका कला आलङ्कारिक, रूपभेदिक, वर्णनात्मक तथा प्रतीकात्मक ढङ्गले विकास भएको पाइन्छ । मौलिकता भर्ने क्रममा उनले आलङ्कारिक पक्षलाई सरल र सहज ढङ्गले क्यानभासमा प्रस्तुत गरेको पाइन्छ ।

उनले वनस्पति, प्रकृति, नदीनाला, ताल, झर्ना, रुख, पात, लहरा, फूल (विशेषगरी कमल), विभिन्न फल, विभिन्न पशुपंक्षी, बादल, आकाश, हिमाल, पहाड, चौर, ढुंगा आदिलाई आलङ्कारिक ढङ्गले बनाएका छन् । यी चीजलाई उनले सजाउने र तिनलाई आकर्षक बनाउने ध्येयका साथ प्रस्तुत गरेको पाइन्छ । त्यस्तै, रूपभेदिक चित्रमा भने उनले बुद्ध, बोधिसत्त्व, रिन्पोछे, लोकेश्वर तथा बौद्ध धर्मका विभिन्न देवीदेवतालाई मुख्य विषयका रूपमा प्रस्तुत गरेको देखिन्छ । चित्रमा बौद्ध धर्मका मुख्य देवदेवीलाई केन्द्रित गरी बनाइएका चित्रले मोक्तानको शैली र पन निर्माणमा सहयोग पुगेको छ ।

परिपक्व रङको प्रयोग सरल र सटिक रूपमा उनले क्यानभासमा गरेको पाइन्छ । उनका चित्रमा रङको निखारपनले भावक तथा दर्शकको ध्यान समज ढङ्गले तान्न सक्छ । रेखा, रङ, आकार, स्पर्शभाव, मूल्य, स्वरूप, स्थान, बुट्टाको संयोजनले रूपभेदिक चित्रलाई सुन्दर बनाउँदै त्यसमा आवेग, संवेग, करुणा, दया, स्नेह, माया, उत्साह, उद्वेग, हाँसो, रोदन तथा स्वाभिमानलाई अङ्कित गरेको पाइन्छ ।

आरकेले बुद्ध जीवनका महत्त्वपूर्ण परिघटना, जातक कथा तथा अन्य बौद्ध धर्मका कथालाई चित्रात्मक रूपमा उतारेका छन् । यस्ता कलालाई वर्णनात्मक कलाको श्रेणीमा राख्दै तिनको चर्चा गर्नुपर्ने हुन्छ । कलाकार मोक्तानले बनाएका वर्णनात्मक कलामा रङको प्रयोग शालीन ढङ्गले भएको पाइन्छ । वर्णनात्मक कलामा कम अलङ्करणको प्रयोग उनका कलाको प्रमुख विशेषता हुन् । कथामा आधारित रहेर बनाइने यस्ता थाङ्काले बौद्ध धर्म र त्यसको आदर्शलाई आममानिससम्म सम्प्रेषण गर्न निकै मद्दत गर्ने भएकाले यिनको महत्त्व अधिक रहेको हो ।

यस्तै, उनले बनाएका प्रतीकात्मक चित्रमा पनि बौद्ध धर्म र आदर्शकै विषयको प्रधानता रहेको पाइन्छ । साङ्केतिक तथा बिम्बात्मक कलामा विशेषतः मण्डला, ब्रह्माण्डका विविध पक्ष झल्कने चित्र आदि रहेका छन् ।

आरकेका कलामा विशेष गरी हिमाली, तामाङ, तिब्बती, नेवार तथा जापानी शैलीको प्रभाव परेको देखिन्छ । कतिपय चित्रमा उनले विविध शैलीको मिश्रण गरेको पनि पाइन्छ । शैलीगत रूपमा उनी तामाङ शैलीबाट बढी प्रभावित भएको कुरालाई स्विकार्छन् । यस्ता कलामा भूगोल, प्रकृति, वातावरण, सांस्कृतिक तथा सामाजिक परिवेशको प्रभाव अधिक परेको पाइन्छ ।

कलाप्रतिको धारणा

मोक्तानले तामाङ समुदायमा धार्मिक, सांस्कृतिक, सामाजिक तथा संस्कारजन्य कार्यमा थाङ्का कला प्रचलनमा रहेको कुरा बताउँछन् । जन्मदेखि मृत्युसम्मका विविध संस्कारजन्य कार्यमा थाङ्का कलाको उपयोग भएको पाइन्छ । उनका अनुसार थाङ्का कलाले धर्म र संस्कृतिका विषयलाई प्रधानताका साथ उठाउने भएकाले यसको महत्व नेपाली समाजमा निकै अघिदेखि प्रचलित थियो ।
मानिसको जीवनलाई सार्थक र चलायमान बनाउने अभिप्रायका साथ कला बनाउने प्रचलन समाजमा आएको बताउँदै मोक्तानले भन्छन्, ‘थाङ्का कलाले मानिसलाई हृद्यी, गम्भीर, मानवतावादी बनाउन अभिप्रेरित गर्दछ ।’ समाज र मानव जातिको कल्याणका निम्ति तथागत भगवान् बुद्धका सन्देश र सार विषयलाई दृश्यभाषाका रूपमा थाङ्का कलाले सम्प्रेषणीय काम गरिरहेको हुन्छ । यो शक्तिशाली दृश्यभाषा हो । यसमा बौद्ध आदर्श र त्यसको मर्मलाई आत्मसात् गर्दै मानव कल्याणको विषयलाई सशक्त रूपमा चित्रण गरिएको हुन्छ ।

परम्परागत कला संरक्षण गर्ने नीति ल्याउनुपर्नेमा जोड दिँदै मोक्तानले राज्यको प्राथमिकतामा नेपालमा प्रचलित परम्परागत तथा लोककलालाई राख्नुपर्ने धारणा व्यक्त गरे । प्राथमिक, माध्यमिक तथा विश्वविद्यालयका विभिन्न विषयका पाठ्यपुस्तकमा कलाका बारेमा अध्ययन गराइनुपर्ने विचार व्यक्त गर्दै उनले परम्परागत कलाले नेपालको सांस्कृतिक वैभवतालाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको बताए ।

उचित प्रकारको ग्यालरी, सङ्ग्रहालय, खोज अनुसन्धान तथा सामाजिकीकरणमा ध्यान दिनुपर्ने तर्क राख्दै उनले कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने जिकिर गर्छन् । उनले कला र संस्कृतिको विकासविना राज्य कसरी गतिशील र समृद्ध बन्छ भन्ने जिज्ञासा राखे । उनले नेपालमा प्रचलित विभिन्न कला परम्परा र स्कुलको गहन खोज अनुसन्धान गर्दै मूलधारमा ल्याउनुपर्ने विचार व्यक्त गरे । आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा सम्पन्न भए पनि राज्यको नजरमा नपर्दा थाङ्का कलाले व्यापारिक रूपमा जति सफलता हासिल गर्नुपर्ने हो त्यति प्राप्त गर्न नसकेको मोक्तानको तर्क रहेको छ ।

निचोड

नेपाली कला परम्परामा थाङ्का कलाको विशिष्ट महत्त्व रहिआएको छ । हजारौं वर्षको विरासत ओगटेको थाङ्का कला क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि साधनारत् आरकेका कलामा बौद्ध आदर्श र परम्परालाई बडो सुन्दर ढङ्गले चित्रण गरिएको पाइन्छ । उनका कलाले सम्प्रेषण गर्ने सन्देश र विचारले बौद्ध धर्मको प्रचार प्रसारमा समेत टेवा पुगेको छ ।

शिल्पकारिताका दृष्टिले समेत उनका कलामा परिपक्वपन र बोधगम्यता भेटिन्छ । खासमा भन्ने हो भने थाङ्का कलामा शैली निर्माण गर्नु निकै कठिन र चुनौतीपूर्ण काम हो । विषय, विधिविधान र प्रस्तुति एकैप्रकारको देखिने भएकाले यस कलामा शैली निर्माण गर्नु एक किसिमले जोखिम नै मोल्नु जस्तै हो तर मोक्तानले भने यस कार्यमा आफूलाई अब्बल सावित गरेका छन् ।

प्रतिक्रिया