शिक्षामा सुधारमार्फत समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो। यो विद्यालय निर्माणका निम्ति मेरो पनि केही न केही भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ । भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु ।’

सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको भन्दै दुःख र सुखमा आफू साथसाथै रहेको प्रचण्डले बताए । उनले भने, ‘जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनाशलगायतका सबै पीडामा म तपाईंहरूसँगसँगै छु । तपाईंहरूसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ । आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईंहरूकै साथमा हुनेछु ।’

नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए । उनले भने, ‘निजीक्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ ।’ कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया