‘इही’ र नेवार समुदाय

स्याङ्जा । कानुनले महिलाको उमेर २० वर्ष भएपछि मात्र बिहे गर्न छुट दिएको छ । तर, नेवार समुदायमा भने रजश्वला हुनुपूर्व कन्याको बिहे गर्ने प्रचलन छ । त्यो, बिहे कुनै पुरुषसँग नभई बेलसँग हुने गर्दछ । जसलाई ‘इही’ अर्थात बेल विवाह भन्ने गरिन्छ । यो प्रचलन परापूर्वकालदेखि चलिआएको भए पनि पछिल्लो समय युवा पुस्तामा आकर्षण घट्दो छ । स्याङ्जाको वालिङमा भने नेवार समुदायको कला संस्कृति संरक्षण गर्न बेलाबेलामा युवा पुस्तालाई प्रशिक्षण दिने र कार्यक्रममा सहभागी गराउने गरिएको छ ।

यस वर्ष पनि वालिङ–९ भुम्रेका नेवार समुदायले सामुहिक बेल विवाह गरेका छन् । देशका विभिन्न जिल्लाका ५० भन्दा बढी कन्याले बेल विवाहमा सहभागिता जनाएको बेल विवाह आयोजक समितिका संयोजक ताराप्रसाद श्रेष्ठको भनाइ छ । श्रीमानको मृत्यु भएमा श्रीमती सती जानुपर्ने प्रथा रोक्न ‘इही’ अर्थात बेल विवाह गर्ने प्रचलन परापूर्वकालदेखि चलिआएको कथन श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्, ‘जात्रा, लाखे नाच र बेल विवाह हाम्रो संस्कृति हो । यसको संरक्षण गर्न युवा पुस्तालाई पनि कार्यक्रममा सहभागी गराउने र बेलबेलामा प्रशिक्षण प्रदान गर्ने गरेका छौँ ।’

नेवारहरूको बाक्लो बस्ती रहेको वालिङ–९ भुम्रेमा प्रत्येक वर्ष लाखे नाच र जात्राहरू प्रदर्शन गरिँदै आइएको छ । नयाँ युवाहरूलाई यसमा सहभागी गराउने भुम्रे नेवा समाजको अभियान छ । प्रत्येक दुई वर्षमा भने सामुहिक बेल विवाह आयोजना गरिन्छ । यो विवाहमा रजश्वला हुनुपूर्वका सयौँ कन्याहरू सहभागी हुने गर्दछन् । बेल विवाह गर्ने बालिका दिनभरि व्रत बसेर बेललगायत कलश, बज्र, चक्र आदिको पूजाआराधना गर्दछन् । बेलको डल्लोलाई श्रीमान्को प्रतिक मानेर विधिवत् रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाकालाई बुबाले कन्यादान दिएपछि यो विवाह सम्पन्न भएको मानिन्छ । नेवार समुदायमा चारदेखि आठ वर्षको उमेरका कन्याहरू इही संस्कारमा बाँधिएका हुन्छन् । हिन्दूधर्मअनुसार बेललाई विष्णु भगवानको प्रतिक मानिन्छ । त्यसैले, नेवार महिलाको विवाह भगवान् विष्णुसँग भइसकेकोले ऊ कहिल्यै विधवा हुन्न भन्ने धारणा रहेको छ ।

यस्ता संस्कार र संस्कृतिको विधि आफूहरूले अग्रजसँग सिक्न पाएकोमा युवा पिढी पनि खुसी छन् । प्रत्येक वर्ष जात्रा, लाखे नाच र बेल विवाहको महत्व सिकाइन्छ वालिङ–९, भुम्रेकी प्रकृति श्रेष्ठले बताइन् । तर ‘हामीलाई संगीतसँग अभ्यस्त गराउन सकिएको छैन’, श्रेष्ठले गुनासो गरिन् । तर, बढ्दो सहरीकरण र गाउँगाउँमा सडक पुगेसँगै बेलको संरक्षण हुन सकेको छैन । नेवार समुदाय र हिन्दू धर्मावलम्बीको महत्व बोकेको बेललाई संरक्षण गर्नुपर्ने विषयमा कसैको आवाज पुग्न सकेको छैन । युवा पुस्तामा कला संस्कृतिको मोह घट्दै गए पनि स्याङ्जाका नेवार समुदायले यसको संरक्षण र पुस्ता हस्तान्तरणमा चासो दिएका छन् । यसलाई सकाइका रूपमा सबै समुदायले लागू गुर्नपर्ने संस्कृतिविदहरूको बुझाइ छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया