अलमलमै ढलमल कांग्रेस

ललितकुमार यादव

महाधिवेशनमा पुस्तान्तरणको अवसर गुमाएको कांग्रेसले संसदीय दलको नेताको चुनावमा समेत अवसरको सदुपयोग गर्न सकेन । संसदीय दलको नेताको चुनावमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता संस्थापन पक्षकै युवा नेताहरूको साथ पाएर पनि गगन थापाले आफ्नै संस्थापन इतर समूहको मत सुरक्षित गर्न सकेको देखिएन । यसले कांग्रेसका युवा पुस्ता पुस्तान्तरणको पक्षमा रहेको तर नेतृत्वमा बुढोपाको नेताहरूको वर्चस्व रहेकोले पुस्तान्तरण कठिन रहेको संकेत ग¥यो ।

राजनीतिक दलहरूका आफ्ना सिद्धान्त, लक्ष्य एवं नीति हुन्छन्, जुन प्रायः प्रष्ट र लिखित दस्तावेजको रूपमा हुन्छ । त्यही दस्तावेजभित्र रहेर आफ्नो कार्यसञ्चालन गर्नुपर्दछ । आफ्नो सिद्दान्त एवं नीति विपरितका कार्य गर्ने राजनीतिक दललाई सही बाटोमा हिँडेको मानिँदैन । राजनीतिक दलहरू आफ्नो सिद्धान्त एवं नीतिमा कायम रहन नसक्नुको मुख्य कारण नेतृत्वामा व्यक्तिगत स्वार्थ हाबी हुनु नै रहेको हुन्छ । सत्ता स्वार्थमा लिप्त नेतृत्वले राजनीतिलाई सही नेतृत्व, दिशा र गति दिन सक्दैन ।

जहाँ लोकतन्त्र छ, त्यहाँ राजनीतिक दलको अस्तित्व हुन्छ । राजनीतिक दल सधँै सफल नै हुन्छन् भन्ने छैन असफल पनि हुन्छन् । आन्तरिक वा बाह्य कारणबाट कुनै दल असफल हुन सक्छ, कुनै दलको अस्तित्व पनि समाप्त हुन सक्छ, तर समग्र लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलको अस्तित्व नै समाप्त हुँदैन ।

राजनीतिक दल विनाको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुँदैन । राजनीतिक दल र लोकतन्त्रबीच तालमेल मिल्न नसक्दा कुनै एक वा दुवै कमजोर हुन्छ । जसबाट समाजमा द्वन्द्व र अस्थिरता पैदा हुन्छ । त्यसैले यी दुवै अन्तरसम्बन्धित हुन्छन् र हुनुपर्दछ ।

राजनीतिक दलहरू सरकारमा गएसँगै आफ्नो सिद्धान्त एवं नीति र लोकतान्त्रिक मूल्य मान्यतासमेत बिर्सेर दलगत स्वार्थमा लाग्ने गरेको पाइन्छ । नेपालका राजनीतिक दल र तिनका नेतृत्वले विगतमा गरेका गल्तीका कारण जनताको विश्वास गुमाउँदै गएको अवस्था थियो र अहिले पनि छ । ०६२÷६३ पछि विगतका गल्ती सच्याएर संविधानका साथै विकास दिने आसमा आमजनताले राजनीतिक दल र तिनका नेतृत्वलाई समर्थन गरेका थिए, तर अहिले पनि सुध्रिएको अनुभव आमजनताले गर्न सकेका छैनन् । नेपालका राजनीतिक दलमा रूपान्तरण हुन सकेको छैन ।

राजनीतिक दलले सधँै निर्वाचनमा सहभागी हुने र शान्तिपूर्ण बाटोबाट मात्र सरकारमा स्थापित हुनुको सट्टा क्रान्ति र आन्दोलनको बाटो पनि रोज्न सक्छन् । तर सत्तामा जान जनादेशको कदर नै नगरी अंक गणित पु¥याउन विकृत खेलहरू खेल्नु हुँदैन । संसद्मा हुने सत्ताको विकृत खेलहरूले अन्ततः दल, लोकतन्त्र र व्यवस्थालाई नै कमजोर बनाउँछ ।

देशको परिस्थिति, जनचाहना र परिवर्तन अनुसार अगाडि बढ्न सक्ने राजनीतिक दलहरू मात्र सफल हुन्छन् । अन्य दलहरूले क्षणिक लाभ लिन सफल भए पनि सफल हुन सक्दैनन् । राजनीतिक दलमाथि अविश्वास रहे पनि तिनै राजनीतिक दललाई चुनावमार्फत शक्ति प्रदान गर्नुको विकल्प छैन्, आमजनतासँग । लोकतन्त्रमा अर्को कुनै विधि र विकल्प नै हुँदैन ।

बहुदलीय व्यवस्था स्थापनापछिको संसद्को दोस्रो कार्यकालमै दलहरूबीच सुरु भएको सत्ताको लुछाचुँडी र विपरीत बिचारबीचको गठबन्धनको प्रतिस्पर्धा २०७२ को संविधान जारी भएपछि झन् चर्को बनेको छ । सत्ता समीकरण निर्माणका बेला हुने गरेको त्यस्ता गठबन्धनहरू अहिले निर्वाचनमै हुन थालेको छ । त्यही संसद्को कार्यकालमा सत्ताका जे जस्ता विकृत खेलहरू भए । ती सम्झिने लायकका छैनन् । त्यसका परिणामहरू पनि कम खराब थिएनन् । तत्कालीन समयमा लाभ लिएको राप्रपाको हालत के भयो ? सबैले देखेका छन् ।

नेपाली राजनीतिमा पुस्तान्तरण र रूपान्तरणको मुद्दा लामो समयदेखि उठ्दै आएको छ । राजनीतिक बहस पनि यसमा केन्द्रित हुने गरेको छ, तर राजनीतिक दलका स्थापित नेतृत्व पुस्तान्तरण र रूपान्तरण गर्न इच्छा देखाएका छैनन् । गत मंसिर ४ मा भएको आमनिर्वाचनबाट पुराना दलहरूलाई सुध्रिन र नयाँ दललाई नयाँ ढंगले अगाडि बढन प्रष्ट सन्देश दिइसकेका छन्, आममतदाताले । यस्तो परिस्थितिमा दलहरू सुध्रिनुको विकल्प छैन, तैपनि कुनै दल त्यसतर्फ अगाडि बढन् अग्रसर भएको देखिँदैनन् ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकको अनवरत संघर्ष हो नेपाली कांग्रेस । बिपीको विचार र संस्कार, गणेशमान सिंहको त्याग र संघर्ष र कृष्णप्रसाद भट्टराईको सादगी र निष्ठाको जगमा उभिएको कांग्रेस आज आफ्नो तिनै जगमा टेकेर अगाडि बढदै छ कि छैन ? नेपाली कांग्रेसले उठाएको विचारले जित्दा पनि कांग्रेस स्वयंले चुनाव जितेर किन सत्ताको नेतृत्व लिन सकिरहेको छैन ? संविधानमा उल्लिखित मौलिक हक कार्यान्वयनको सन्दर्भमा कांग्रेसको नीतिगत स्पष्टता के हो ?

कांग्रेसले अघिल्लो संसद्मा बलियो र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । अहिले आफ्नै गल्तीले प्रतिपक्षमा पुग्दा पनि प्रतिपक्षको भूमिका स्वीकार्न आनाकानी गरेर सत्ता नै किन ताकिरहेको छ ? सांगठनिक रूपमा निरन्तर ओरालो लाग्दा पनि नेतृत्व हस्तान्तरण गर्न किन तयार छैन कांग्रेस नेतृत्व ? कांग्रेसले नीति महाधिवेशन कहिले गर्छ ? भ्रातृ संगठनको व्यवस्थापन किन गर्न सकिरहेको छैन ? कांग्रेस अब कसरी अगाडि बढ्छ ? यिनै प्रश्न वरिपरिको बहसमा आज कांग्रेस घेरिएको छ । यिनै बहसमा कांग्रेस अडकिँदा अन्योल र ढलमलको अवस्थामा पुगेको छ ।

नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो समाजवादी–लोकतान्त्रिक राजनीतिक दल हो । यो दलको स्थापना २००६ चैत २७ गते नेपाल राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट भएको थियो । नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो, जसले तीन चुनावमा बहुमत ल्याएको छ । यसैगरी तीन चुनावबाट यो पहिलो दल बन्न सफल भएको छ ।

नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलगायत पञ्चायती शासनको अन्त्यपछि चार वटा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस नयाँ संविधानअनुसार भएको आमनिर्वाचन २०७४ मा आफ्नो इतिहासमै कमजोर अवस्थामा पुगेको थियो । कांग्रेसले कमजोर हुनुको कारण आफूमा खोजेन । कमजोर हुनुको कारण वाम गठबन्धनको राप तापलाई देखाएर नेतृत्व उम्किएको थियो । अहिलेको चुनावबाट कांग्रेस पहिलो दल बन्न सफल भए पनि बहुमत प्राप्त गर्न सकेको छैन । कांग्रेसले अहिले पहिलो पार्टीको हैसियत प्राप्त गर्नुमा कम्युनिस्ट पार्टीमा दरार पैदा हुनु ठूलो सहयोगी सावित भएको छ । यसमा माओवादी र नेकपा एसको सहयोग पनि रहेको छ ।

तेह्रौँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व गर्न शेरबहादुर देउवा आइपुगेका हुन् । पदाधिकारीसमेत नियुक्त नगरी दुई वर्षसम्म पार्टी चलाएका थिए । त्यही अवधिमा नयाँ संविधानअनुसार तीन तहको पहिलो निर्वाचन भएको थियो । तीनै तहमा कांग्रेसले नराम्रो हार ब्यहोरेको थियो । पराजयलाई लिएर कांग्रेसभित्र किचलो भएको थियो, तर पराजयको नैतिक जिम्मासमेत सभापति देउवाले लिएका थिएनन् । त्यसअघि नै विभिन्न नेताले देखाइसकेको नैतिकतासमेत कांग्रेस सभापति देउवाले देखाएनन् ।

संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको कांग्रेसले त्यहाँ पनि सशक्त र रचनात्मक भूमिका निर्वाह गर्न सकेको थिएन । कांग्रेसको छाया सरकारको घोषणा छायामै परेको थियो । कांग्रेसले आफ्नो विधानअनुसार गठन गर्नुपर्ने कतिपय विभाग र केही समितिको गठनै गर्न सकेको थिएन । सभापति देउवाले पार्टीलाई नीतिगत स्पष्टतासमेत दिन सकेका थिएनन् । भ्रातृ संगठनको व्यवस्थापन, समयमा महाधिवेशन, पार्टी विस्तार र सुधार, पार्टी महासमितिको भेला लगायतका पार्टीको काम र क्रियकलापमा ध्यान दिएकै थिएनन्, सभापति देउवाले ।

गुटगत सहभागिताले प्रश्रय पाएका कारण विभाग र समितिको गठन प्रक्रिया नै अन्योलमा परेको थियो । कांग्रेसभित्र पार्टीको आन्तरिक मामिलाबारे अलमल कायम हुन पुगेको थियो । कारण थियो शीर्ष नेताको स्वार्थ । कांग्रेसका केन्द्रीय स्तरका नेताहरू नै अलमल्लमा परेका थिए र कांग्रेस कमजोर हुँदै गएको थियो । अहिले पनि शीर्ष नेताहरूकै सत्ता स्वार्थका कारण कांग्रेसका नेताहरूसँगै सिंगो कांग्रेस स्वयं अन्योलमा छ र झन् कमजोर हुने यात्रा प्रस्थान गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा पुस्तान्तरणको मुद्दा निकै चर्को स्वरमा केही नेताले उठाएका थिए । कांग्रेसको १४ महाधिवेशनमा पुस्तान्तरणको बहसले प्रमुख स्थान पाएको थियो । देउवाले विभिन्न पदको लोभमा नेताहरूलाई लोभ्याउन सफल भएका कारण सभापतिमा पुस्तान्तरण हुन सकेको थिएन् । तर महामन्त्रीमा दुई युवाले पाएको सफलता पुस्तान्तरणको संकेत दियो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित थियो र केबल नेतृत्व चयन गरेर सम्पन्न भएको थियो । समयमा महाधिवेशन सम्पन्न गर्न नसक्दा कांग्रेसको वैधानिकता माथि नै प्रश्न उठ्न लागेको थियो । वैधानिकता जोगाउन मात्र कांग्रेसले महाधिवेशन गरेको थियो, तर नीतिगत समीक्षा र भावी नीति तय गर्न नीति महाधिवेशनलाई थाती राख्यो ।

पार्टीको महाधिवेशन सम्पन्न भएको ६ महिनापछि नीति महाधिवेशन गर्ने भनेको कांग्रेसमा अहिलेसम्म यस सम्बन्धमा छलफलसमेत हुन सकेको छैन । नीति महाधिवेशन नहुँदा काँग्रेसको संसदीय बोर्डले पूर्णता पाउन सकेको छैन् । विभाग र समितिहरू गठन हुन सकेका छैनन् । भ्रातृ संगठनको विधान उल्लंघन भएर अनुशानहीनतामा चलिरहेको छ । यसले पार्टीमा अन्योलको अवस्थाको सिर्जना गरेको छ । अहिले कांग्रेस नीतिविहीनको अवस्थामा चलिरहेको छ भनेर भन्दा फरक पर्दैन ।

पार्टीले नीति नै नहेरी नेतृत्व चयन गरिसकेको छ । अब कस्तो छुट्टै नीति महाधिवेशन भन्ने हुन्छ ? नेताहरूले प्रश्न उठाउँदै महाधिवेशनबाट नीति र नेतृत्व चयनलाई छुट्टाउने निर्णय नै गलत भएको बताउन थालेका छन् । कांग्रेसले लिने नीतिबारे पर्याप्त छलफल र बहस आवश्यक छ । तर, समय घर्किसक्दा पनि परिवर्तनको संवाहकका रूपमा हेरिएका महामन्त्रीहरूले समेत यस विषयमा पर्याप्त ध्यान दिन सकेका छैनन् । कांग्रेसमा नीतिको अन्योलतासमेत कायम रहेको छ ।

वाम शक्तिहरू एक हुँदा काँग्रेसको शक्ति निकै कमजोर भएको थियो । वाम शक्तिहरू विभाजित हुँदा काग्रेसले सत्ता शक्तिमा फर्कियो । तर प्रतिपक्षको भूमिकामा फिक्का देखिएको कांग्रेस सत्ता सञ्चालनमा पनि सम्झिने लायकका केही काम गर्न सकेन । वाम शक्ति विभाजित रहेको अवस्थामा पनि एक्लै चुनावमा जान नसकेको कांग्रेसले चुनावपछि वाम–लोकतान्त्रिक गठबन्धनलाई पनि जोगाउन सकेन । सबैभन्दा बढी सत्ताको नेतृत्वको गरेको कांग्रेस आज सत्तामा जान वाम शक्तिको वैशाखी टेक्नुपर्ने अवस्थामा पुगेको छ । वाम शक्तिको सहारा बेगर नेपालको राजनीतिमा कांग्रेसले आफ्नो प्रभाव देखाउनै नसक्ने गरी निष्प्रभावी हुँदै गएको छ ।

आफ्नै गल्तीका कारण सत्ताबाट बाहिरिएको कांग्रेसपछिल्लो समयमा सत्तामा जान अनेक सम्भावनाको खोजिमा रहेको छ । कांग्रेसले प्रधानमन्त्री नदिएकै कारण पानी बाराबारको अवस्थामा रहेका ओलीसँग हात मिलाएर दाहाल प्रधानमन्त्री बनेका छन् । दाहाललाई प्रधानमन्त्री बनाउन नमान्दा हातमा आइसकेको सत्ता अभ्यासको अवसर गुमाएको कांग्रेसले संसद्मा उभिएर उनै दाहाललाई विश्वासको मत दियो तर प्रतिपक्षमै बस्ने उद्घोष गरेको छ । कांग्रेसको यस निर्णयको चौतर्फी विरोध भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई बहुमत पु¥याउनका लागि कांग्रेसको विश्वासको मत आवश्यक थिएन, तर कांग्रेसले दिएको विश्वासको मतका कारण सत्ता सहभागी अन्य दलहरूसँगको बार्गेनिङको सामना गर्न प्रचण्डलाई बल मिलेको छ । उदाहरणका लागि सांसदसमेत नरहेका र नागरिकताको मुद्दा कायमै रहेका रवी लामिछानेलाई गृह मन्त्रालयमा पुनर्वहाली गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीको अडानलाई इन्कार गर्ने ताकत प्रचण्डलाई प्राप्त भयो । संघीयताविरुद्ध बोल्ने राप्रपाका मन्त्रीहरूलाई कारबाहीको चेतावनी दिने ताकत प्रचण्डमा उत्पन्न हुनुको कारण पनि कांग्रेसले दिएको विश्वासको मत नै हो । केवल संविधान रक्षका लागि प्रचण्डको खुट्टा दरो बनाउनेबाहेक कांग्रेसलाई खासै फाइदा भएको छैन ।

महाधिवेशनमा पुस्तान्तरणको अवसर गुमाएको कांग्रेसले संसदीय दलको नेताको चुनावमा समेत अवसरको सदुपयोग गर्न सकेन । संसदीय दलको नेताको चुनावमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता संस्थापन पक्षकै युवा नेताहरूको साथ पाएर पनि गगन थापाले आफ्नै संस्थापन इतर समुहको मत सुरक्षित गर्न सकेको देखिएन । यसले कांग्रेसका युवा पुस्ता पुस्तान्तरणको पक्षमा रहेको तर नेतृत्वमा बुढोपाको नेताहरूको वर्चस्व रहेकोले पुस्तान्तरण कठिन रहेको संकेत ग¥यो । यसरी काँग्रेसको आवश्यकता पुस्तान्तरण हो कि होइन ? यसमा पनि कांग्रेसभित्र अन्योल नै रहेको देखिन्छ ।

एकल बहुमत पु¥याउने सामर्थ गुमाइसकेको कांग्रेस नेतृत्वले आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेर प्राप्त जनमत खण्डित ग¥यो, तर जनमत गुमाएको यथार्थ स्वीकार्नुको सट्टा सत्ताको लागि लोकतान्त्रिक मूल्य मान्यतालाई दाउमा राखेका छन् । अहिले विभिन्न मुखको पद लिन कांग्रेस नेतृत्व हरेक सम्भावनाको खोजीमा रहेको छ । सम्भावनाको खोजी र लोभमा कांग्रेस अलमलमा परेको छ, भने ६०–४० को भागबण्डालाई स्थापित गर्दै कांग्रेसभित्रै दुई पार्टीको अभ्यास गरेर कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया