आवधिक योजना निर्माणमा जुटे रुकुमका स्थानीय तह

रुकुम पश्चिम । विकासको पाँच वर्षे खाका कोर्ने उद्देश्यले रुकुम पश्चिमका स्थानीय तहहरू आवधिक विकास योजनासम्बन्धी अन्तरक्रियामा जुटेका छन । जिल्लाका ६ वटै पालिकाको आयोजनामा सम्बन्धित पालिकाको केन्द्रमा अन्तरक्रिया सुरु भएको हो । आवधिक योजना निर्माण जिल्लाको त्रिवेणी गाउँपालिकाबाट ५ माघदेखि सुरु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा योजना निर्माणका लागि सुझाव संकलन र प्रत्येक वडा अध्यक्षहरू र विषयगत शाखाका कर्मचारीहरूले प्रगतिविवरण प्रस्तुत गर्दै आएको जनाइएको छ । अन्तरक्रिया उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सांसद महेन्द्र केसीले आवधिक योजना निर्माणले विकासको खाका कोर्न सहज हुने मत राखे । केसीले विकासमा हातेमालो गर्दै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

विकासका लागि सबैको सक्रिय सहभागिता आवश्यकता रहेको र पालिकाको आर्थिक, सामाजिक, भौतिक लगायतका क्षेत्रको समग्र विकासलाई पाँच वर्षसम्म मार्गनिर्देश गर्नका लागि आवधिक योजना बनाउन लागिएको बताइएको छ । कार्यक्रममा वडा अध्यक्ष, विषयगत शाखाका कर्मचारीले रिपोर्टिङ राखेका थिए ।

स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै स्थानीय तहले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेका हुन् । रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन् । तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको जिल्लामा आवधिक योजना निर्माणका लागि ६ वटै पालिकामा सुझाव संकलन भइरहेको छ ।

पालिकाको समग्र वस्तुस्थिति, सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि पाँच वर्षे आवधिक विकास योजना निर्माणको काम थालिएको हो । निश्चित समय अवधिभित्र विभिन्न क्षेत्रको विकासमा लक्षित उपलब्धि हासिल गर्नका लागि आवधिक योजनाको काम थालिएको हो ।

आवधिक योजना निर्माणका लागि आवधिक योजना तर्जुमा अन्तरक्रिया गोष्ठी गर्दै आएका पालिकाले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विकासका सबै पक्षलाई प्राथमिकीकरण गरेर योजनाबद्ध विकासको खाका कोर्ने तयारी गरेका छन् ।

उक्त अन्तरक्रिया गोष्ठीमार्फत आवधिक योजनामा प्राथमिकताका साथ समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, तथा वातावरण, पर्यटन लगायतका विषयका बारेमा पालिकावासीबाट सुझाव लिइएको बताइएको छ । पूर्वाधार विकास, सामाजिक विकास, कृषि विकास लगायतका योजनासम्बन्धी छलफल एवं सल्लाह, सुझावका आधारमा अल्पकालीन र दीर्घकालीन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई अन्तिम टुंगो लगाइने जनाइएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया