निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

दैलेख । जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शनिबार हिमालय माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन गरिएको एक दिवसीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र महाबु गाउँपालिकाका २ सय ९० महिला र २ सय १० पुरुष गरी जम्मा पाँच सय जना बिरामीले सेवा लिएका छन् ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले भैरवीका नागरिकहरूको स्वास्थ्य अवस्थालाई लिएर शिविर गरिदिएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखलाई धन्यवाद दिइन् उनले यस्ता कार्यक्रममा सबैको सहकार्य हुनुपर्ने बताउँदै गाउँपालिकाले पनि यस्ता कार्यक्रलाई प्राथमिकता दिएको बताइन् । नागरिकको स्वास्थ्यभन्दा ठुलो कुरा अरू केही नभएकोले सबै नागरिकले आआफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोधसमेत गरिन् ।
आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क एकदिने आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । घरआँगनमै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिँदा आफूहरूले गाउँघरमै स्वास्थ्य सेवा पाएको भैरवी गाउँपालिका–३ कि पवित्रा आचार्य बताइन् । उनले भनिन्, ‘यस्ता शिविरले निरन्तरता पाइराखुन् ।’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रामप्रसाद महत्तोले आयुर्वेद स्वास्थ्य संस्थाको पहुँच नभएका ठाउँमा आयुर्वेद स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्दै आएको बताउँदै उनले जनतालाई सेवा दिने उद्देश्य भए पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग बजेट अभाव भएका कारण स्थानीय सरकारले सहयोगको भावना विकास गरे आयुर्वेद स्वास्थ्य सेवाले निरन्तरता पाउने बताए ।

शिविरमा विभिन्न किसिमका नसर्ने रोगका बिरामी जस्तै बाथ अम्लपित्त, श्वासप्रश्वास, मुटुसम्बन्धी समस्या, माइग्रेन, पिसाबसम्बन्धी समस्या तथा महिलासम्बन्धी रोग, सेतोपानी बग्ने, महिनावारी हुने बेला पेट दुख्ने समस्या भएका बिरामीलाई डा.प्रज्ञा उपाध्यायले चेकजाँच गरेकी थिइन् । शिविरमा ३३ किसिमको औषधि वितरण गरिएको थियो ।

प्रतिक्रिया